अब निर्णायक लडाइँ लड्छौं
गेसो निर्णायक लडाइँको तयारीमा छ भन्नुहुन्छ, यो कस्तो लडाइँ हुनेछ ?
गेसोको आन्दोलन समान पेन्सन र आवासीय भिसाका लागि मात्र नभएर मानवअधिकार प्राप्तिका लागि पनि हो । उनीहरूको सेनामा भर्ती हुँदा नेपाललाई भएको आर्थिक, सामाजिक, भौतिक तथा मनोवै ज्ञानिक क्षतिको समेत हरहिसाब दिनुपर्छ भन्ने हाम्रो माग छ । नेपाल गरिब मुलुक भएकाले बेलायतले हामीलाई सहयोग गरेको भन्ने कदापि होइन, त्यो उसको आवश्यकता थियो । त्यसो नभए त्यतिबेला हजारौं गोर्खाली सैनिक भर्ती गर्ने बेलायतले अहिले किन केही सय मात्र भर्ती गर्छ । बेलायत सरकारले गोर्खालीहरूलाई रोजगारी दिने नाउँमा २ सय वर्षसम्म बन्दी बनाएको छ । विगतका लडाइँमा कुन ठाउँमा कति गोर्खा मरे ? बाबुबाजे लडेर सहिद भएबापत तिनका सन्तानले के पाए ? यावत् कुरालाई समेत अघि सारेर हामी निर्णायक लडाइँको तयारीमा छौँ ।
वर्ष दिनअघि आन्दोलन सकिएको घोषणा भएको थियो । अहिले एकाएक कसरी यस्तो निर्णय गरियो ?
बेलायत सरकारले गोर्खाहरूलाई कमनवेल्थ मुलुकका नागरिकसरहको सुविधा दिने नीति ल्याएको एक वर्ष बितिसक्दासमेत कार्यान्वयनमा आउन सकेको छैन । यो नीतिपछि गोर्खाली सैनिकले पनि बे लायतीसरह पेन्सन पाउँछन् भन्ने हाम्रो बुझाइ थियो । आन्दोलनमा माग गरिएका बुँदाहरूमध्ये सबै पूरा हुने भएपछि गेसोको आन्दोलन सकियो भनियो, तर बेलायत सरकारले आफैंले गरेको घोषणा कार्यान्वयन नगरेपछि हामी निर्णायक लडाइँको तयारीमा जुटेका हौँ ।
कस्तो तयारीमा हुनुहुन्छ ?
आन्दोलनको वास्तविक उद्देश्य प्रस्ट्याउनुका साथै विविध मागसहित गत साउन २१ गते गेसोले २८ बुँदे श्वेतपत्र जारी गरेको छ । आन्दोलनलाई विश्वव्यापी बनाउन गेसोका पाँच प्रतिनिधि 'युवा तथा विद्यार्थीहरूको १७ औँ विश्व सम्मेलन' मा सहभागी हुँदैछन् । करिब १ सय ५५ मुलुकको सहभागिता रहने उक्त सम्मेलनमा बेलायत सरकारले गोर्खालीहरूलाई रोजगारी दिने नाउँमा २ सय वर्षसम्म बन्दी बनाएको कुरा उठाउनेछौं । यो गोर्खाहरूमाथि बेलायत सरकारको अन्याय, अत्याचार र थिचोमिचो विश्वसामु प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर हुनेछ । जोहानेसवर्ग सम्मेलन गेसोको निर्णायक लडाइँको पहिलो उद्घोष हो ।
बेलायत सरकारले पेन्सनमा भेदभाव गर्नुको कारण के हो ?
गोर्खा सैनिकको सेवालाई मान्यता नदिइएका कारण यसो भएको हो । त्यसकारण हामीले गोर्खा सैनिकको सेवालाई बेलायतीसरह मान्यता दिलाउनु आवश्यक छ । हामी विश्व सैनिक कानुन र मानवअधिकार विज्ञहरू सम्मिलित एउटा समिति बनाउने तयारीमा छौँ । उक्त समितिको निर्णयकै आधारमा हामी काम गर्नेछौं । कि बेलायतले विश्वसामु गोर्खा सिपाहीहरूका लागि मानवअधिकारको व्याख्या फरक छ भन्न सक्नुपर्छ । होइन भने समान व्यवहार गर्नैपर्छ ।
पछिल्लो समय गेसोमा भ्रष्टाचारको विषयले निकै चर्चा पायो नि ?
ती सबै आधारहीन कुरा हुन्, जसका पछाडि नेपाल र बेलायत सरकारसमेत लाग्यो । आन्दोलनको २० वर्षको अवधिमा जम्माजम्मी १७ करोड उठेको छ । महाधिवेशनमार्फत विभिन्न जिल्लाका प्रतिनिधिहरूको रोहबरमा वासलात देखाइसकिएको छ । त्यसमाथि ५३ करोड भ्रष्टाचार गर्यो भन्नु तुक नभएको कुरा हो । मैले भ्रष्टाचार गरेको भए पक्राउ गरेर किन कारबाही गर्दैनन् त ? काठमाडौं जिल्ला प्रशासनले जासुस पठाएर गेसोका सदस्यहरूको घरमा गोप्य छानबिन गर्यो, तर केही भेटेन । सरकारले गर्नुपर्ने काममा हामी अघि सरेका छौँ तर आर्थिक सहयोगका लागि हात फैलाएका छैनौं । हामीमाथि नै छानबिन हुनु लज्जास्पद कुरा हो । भ्रष्टाचारसम्बन्धी आरोपको कुरा बेलायती संसद्मा पनि उठेको हो, तर छानबिनपश्चात् प्रधानमन्त्री गोर्डन ब्राउन स्वयंले संसद्मा गल्ती स्वीकार गरे । नेपालका सिडियोले समेत 'सरी' भनिसकेका छन् ।
हावै नचली पात हल्लेछ त ?
गोर्खाविरोधी तत्वहरूले गेसोलाई समाप्त पार्न विभिन्न लाञ्छना लगाउने काम छाडेका छैनन् । यो सबै हामीलाई कमजोर पार्न गरिएको दुष्प्रचार हो । १० वर्षअगाडि समेत मलाई ४५ करोड उठाएर खाएको आरोप लगाइएको थियो, जुन बेला कोषमा २ लाख पनि थिएन । पैसा उठाएर माओवादीमा लगानी गर्यो, आतंककारीसँग मिलोमतो छ पनि भने, तर पुष्टि भएन । अधिकांश रकम कानुनी परार्मशदाता गोपाल शिवाकोटी 'चिन्तन' तथा वकिल फिल साइमरको पारिश्रमिकबापत खर्च भएको छ । बेलायत सरकारबाट कानुनी सहायता प्राप्त भएपछि पनि हामीसँग रकम लिइएको छ । यो कुरासमेत छानबिन हुनुपर्ने माग श्वेतपत्रमा उठाएका छौँ, तर यिनैले हामीलाई अन्धकारमा राखेर पेन्सनसम्बन्धी मुद्दा दायर नगर्ने भन्ने कुरा सम्बन्धित निकायमा पुर्याएका रहेछन् । त्यसमा हाम्रो सहमति छैन । अन्तर्राष्ट्रिय रूपमा हाम्रो से वालाई मान्यता दिलाई गोर्खालीहरूलाई पनि समान पेन्सन दिन बेलायत सरकारलाई बाध्य पार्नेछौ ।
गेसोको अहिलेसम्मका उपलब्धि के-के हुन् ?
गेसो आन्दोलनकै सफलताका कारण १ हजार ७ सय रुपैयाँ पेन्सन बुझ्ने सिपाहीले २३ हजार रुपैयाँ पाएका छन् । हजारौंलाई आवासीय भिसा सुविधा मिलेको छ । अर्बौं रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको छ । लाहुरेहरू आफ्नो अधिकारप्रति सचेत भएका छन्, यो सानो उपलब्धि होइन ।
No comments:
Post a Comment