Monday, July 25, 2011

मार्ग पोखरी तेह्रथुम...


-खजुम प्रेम
तेह्रथुम जिल्ला आङदीम-६ डङडङ्गे डाँडामा रहेको मार्ग पोखरी प्राकृतिक अनि धार्मिक दृष्टीकोणले निकै प्रसिद्ध स्थल मानिन्छ । तेह्रथुम र धनकुटा जिल्लाको सिमानामा रहेको यो क्षेत्र २४५० मिटरको उचाइमा अवस्थित छ । यहाँको विभिन्न प्रमुख विशेषताहरुमा सुन्दर सानो ताल र ताल नजिकै रहेको भगवतीको सानो मुर्ति हो । साथै ताल नजिकैको मनोरम दृश्यले मानिस निकै लोभिन्ने गरिन्छ । यो तालको उत्पतीका बारेमा विभिन्न धार्मिक किम्बदन्तीहरु पाइन्छ । तसर्थ भदौ महिनाको जनैपुर्णिमाका दिन यहाँ ठुलो मेला लाग्ने गर्दछ । उक्त समय मेला भर्न र झाक्रीहरु मन्त्र पुरा गर्न टाढा-टाढाबाट मानिसहरु आउने र रातभर जाग्रम बस्ने परम्परा छ । यहाँ रहेको पोखरीको बारेमा एउटा रोचक जनविश्वास रहेको छ । पोखरी सफा छ र पोखरी वरिपरि साना-ठुला वोट विरुवा र रुखहरु छन् । तर पोखरी माथि कुनै पात कसिङगर भेटिन्दैन् । जनविश्वास अनुसार पोखरीमा कुनै पात खसेमा चराले टिपेर फयाकिन्छ रे । सो कुरालाई प्रमाणित गर्न मार्ग पोखरी प्रचार समिति स्थानिय छथरे समाज र धरान भु।पु गोर्खा संघ भु।पु महिला कमितिद्धारा आयोजित एउटा कार्यक्रम बनाएर सो क्षेत्रको भ्रमण गरि प्रचार-प्रसार गरिएको थियो । सो भ्रमण लगतै हाल यो क्षेत्रको अवलोकन गर्न मानिसहरु क्रमिक रुपमा बढेको छ । यहाँबाट सुर्योदय सुर्यास्त लगाएत कन्चनजंगा मकालु कुमकर्न हिमालको लस्कर बिछटै देखिन्छ । साथै सफा मौसममा तराई भु-भागको राजविराजका केहि भाग र कोशी ब्यारेज पनि हेर्न सकिन्छ । एकान्त प्रेमि होस वा प्रकृति प्रेमि सबैका लागि यो क्षेत्र लोकपि्रय हुने यहाँको प्रकृतिले प्रस्ट देखाउन्छ । यहाँबाट देखिने अनुपम दृश्यले मानिस तृप्त हुन्छ । सायद यो डाँडाको मोहनी नै होला । अझ मोटरबाटोबाट डाँडामा हिड्ने क्रममा मार्गपोखरी डाँडालाई आकाशले छोएको झै देख्दा जोकोही पनि फोटो खिच्न हतारीएकै हुन्छ । पुर्वअाचलको भ्रमणमा यो मार्गपोखरीको अवलोकनले तपाईको भ्रमणलाई अझ सार्थक बनाई अविस्मरणिय यात्रा बनाउने सामर्थ यो डाँडामा रहेको छ । धरान भानुचोकबाट भेडेटार मुलघाट गुठीटार हुदै धनकुटासम्म ५२ किलोमिटर धनकुटाबाट १३ किलोमिटरमा हिले र हिलेबाट १३ किलोमिटरमा सिँधुवासम्म कालो पत्रे मोटरबाटो र सिधुवाबाट ३ किलोमिटर ग्राभेलको बाटो हुदै आङदीमसम्म र आङदीमबाट आधा घन्टाको उकालो यात्रा पछि मार्ग पोखरी पुगिन्छ । खान बस्नका लागि हिलेमा सुविधायुक्त लजहरु पाइन्छ । फोहर गर्न सख्त्त मनाही गरिएको यो डाँडामा तपाईले स्वर्गको अनुभव पाउने छ ।