Wednesday, January 5, 2011

अपमानित वृद्धवृद्धा

- दिपा ओली
मा.निसको जीवनचक्र बाल, वयस्क तथा वृद्ध गरी तीन अवस्थाबाट गुज्रन्छ। यो सृष्टिको नियम हो। भनिन्छ, बाल्यकाल वात्सल्य प्रेमले भरिपूर्ण हुन्छ, किशोर एवं यौवनावस्था जोस-जाँगरले परिपूर्ण हुन्छ भने वृद्धावस्था जीवनको सही अर्थ बुझेको तीतामीठा अतीतको फ्ल्यास ब्याक हो। यही उमेरमा ज्येष्ठ नागरिकहरू अपमानित हुने गरेका छन्। यो विश्वव्यापी समस्या भएको छ। सरकारले यसरी अपमानित भएर दुःख पाएका वृद्धवृद्धाहरूका लागि वृद्धाश्रम बनाएको छ तर त्यति गर्दैमा समस्या समाधान भने हुँदैन।

मानिसमा स्वार्थी प्रवृत्ति बढ्दै जाँदा हिजोआज वृद्ध तथा बिरामी आमाबुवालाई वृद्धाश्रममा राख्ने परिपाटी बढ्दो छ। छोराछोरीलाई वृद्धाश्रममा राखिएका आमाबुवाको स्थिति कस्तो छ बुभmनेसम्म पनि चासो छैन। उनीहरूले वृद्धाश्रममा बस्दा पनि आफन्त आएर आफूलाई पुनः घर लाने आशा त्यागेका छैनन्। आफन्तको बाटो कुरिरहेका ती आँखाबाट आँसु झरेर सकिए पनि मन रुन छोडेको छैन। यति हुँदाहँुदै पनि उनीहरूले आफ्ना भनिनेहरूका शिरमा आशीर्वादका हात दिन भने छाडेका छैनन्।

वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी 'आमाको घर' मा १० महिनादेखि आश्रय लिएकी ६९ वषर्ीया चन्द्रमाया एउटा उदाहरण हुन्। उनलाई आफूले जन्म दिएको छोरो भेट्ने मन छ। उसले बनाएको घरमा बस्ने इच्छा छ। त्यसो त उनले आफ्नो गर्भबाट २ छोरी तथा १ छोरालाई जन्म दिएकी थिइन् भने उनकी सौताका पनि १ छोरा छन्, तर आज तिनै सन्तानबाट अलग भएर उनी वृद्धाश्रममा बसेकी छिन्। उनले छोरी नभेटेको ९ वर्ष र छोरा नभेटेको २ वर्ष भयो। उनका छोरा ज्यामी काम गर्छन्। उनले आफूलाई सौतेनी बुहारीले सीतापाइलाको घरबाट 'आमाको घर' मा छोडेर गएको बताइन्। उनका श्रीमान् भने घरमै छन्। चन्द्रमायालाई बुहारीले आफ्ना श्रीमान्लाई खान दिन्छे कि दिन्न भन्ने कुरामा चिन्ता लाग्छ। उनी सीतापाइलास्थित घर जान चाहन्छिन्। छोराछोरीको सम्झना कत्तिको आउँछ भन्ने प्रश्नमा चन्द्रमाया भन्छिन्-'आफूलाई माया नगर्नेको सम्झना गरेर के गर्नु ? तर एकपटक आफूले जन्म दिएको छोरालाई भने भेट्ने मन छ।' उनका अनुसार सानोमा आफूले दुःख गरेर खाइनखाई हुर्काएका छोराछोरीलाई हेर्ने चाहना हुनु स्वाभाविक हो। आफ्नो दुःख भरिएको स्वरलाई कडा पार्दै उनले भनिन्-'सानी छोरीसँग बोल्ाचाल छैन। ऊ चाहन्छे कि यो उमेरमा म काम गरेर उसलाई पालूँ। अब म काम गर्न सक्दिन, त्यसमाथि थाकेको यो बूढो शरीरलाई कसले काम दिने ?' चन्द्रमायाका अनुसार दुःखी मानिसको जीवन दुःखैदुःखमा बितेको हुन्छ। उनलाई माया नगर्ने छोराछोरीको माया नलागे पनि नाति-नातिनाको भने साह्रै सम्झना आउँछ।
चन्द्रमाया भन्छिन्-'हिजोआजका मानिस हरेक कुरामा फाइदा खोज्न थालेका छन्।' यो कुरामा सहमति जनाउँदै आफ्नो दुःख पोख्छिन्-धुम्बाराहीकी ६० वषर्ीया मिश्री डंगोल। १ छोरा तथा १ छोरीकी आमा मिश्रीका श्रीमान्को मृत्यु ३२ वर्षअघि भएको हो। उनका छोरा त्रिभुवन विश्वविद्यालयमा काम गर्छन्। अहिले छोरा तथा बुहारीको दुव्र्यवहारले गर्दा उनी त्यहाँ बस्न चाहन्नन्। प्यारालाइसिस भएको हात देखाउँदै डंगोल भन्छिन्- 'छोराले उपचारमा कुनै ध्यान दिँदैन। मलाई आमा चाहिँदैन भन्छ। रातदिन झगडा मात्र हुन्छ।' छोरा-बुहारीको घर उनका लागि आज सानो भएको छ। उनी आश्रयका लागि समय-समयमा 'आमाको घर' रविभवन आउँछिन्। हेर्दा स्वस्थ देखिने उनको आधा शरीर प्यारालाइसिसबाट ग्रस्त छ। डंगोल भन्छिन्-'छोराबुहारीका लागि हो भने छोरी ज्वाइँका लागि।' छोराछोरीको माया आमाबुवाले दिने सम्पत्तिसँग जोडिएको हुन्छ। सम्पत्ति भएर दिनेलाई पनि सुख छैन, सम्पत्ति नहुनेलाई पनि सुख छैन।
आफ्नो शरीरको अंशका रूपमा ९ महिनासम्म गर्भमा राख्ने आमा तथा औंला समाएर हिँड्न सिकाउने पिताहरू आज अपमानित हुँदैछन्। जब एउटा नवजात शिशुको जन्म हुन्छ, त्यो घरमा उत्सव हुन्छ, बिस्तारै उसले आमाबुवाको सहयोगमा औंला समातेर हिँड्न सिक्छ, काँधमा चढेर संसार देख्छ र पाइला पछ्याउँदै संसारको नियम-कानुन सिक्छ। त्यस क्रममा ऊ यति चाँडो अघि बढ्छ कि पछाडि फर्केर हेर्ने समय नै हुँदैन। पछ्याउँदै हिँडेका पाइल्ाा कति बेला छुट्छन् थाहा हुँदैन। यी सबै गर्दै जाँदा अन्नपानीले बनेको शरीर थकित हुन्छ तर त्यसतर्फ छोराछोरीले ध्यान दिएको पाइँदैन। छोराछोरीले एकदिन हामी पनि वृद्ध हुन्छौं, आमाबुवाको स्थानमा एकदिन हामी पनि पुग्छौं भन्ने कुरा बिर्सिएका छन्। त्यसैले त छायाँ भएर हिँडेका ती आमाबुवालाई माया, आदर तथा स्नेहबाट वञ्चित गरेका छन्। वृद्ध आमाबुवाप्रतिको दायित्वबाट मुक्त हुन वृद्धाश्रममा राखेर सजिलै उम्कन खोज्ोका छन्। वृद्धावस्था प्राकृतिक नियम हो। वृद्धवृद्धा राष्ट्रका ज्येष्ठ नागरिक हुन् तर हिजोआज यी ज्येष्ठ नागरिकलाई एउटा पुरानो काम नलाग्ने वस्तुका रूपमा लिइन्छ। उनीहरूलाई घरमा कैदीजस्तो बन्धक बनाएर राखिएको पाइन्छ। यसले मानिसमा मानवता भन्ने कुरा कम हुँदै गएको देखाउँछ। वृद्धावस्थामा मानिस बढी किचकिचे तथा रोगी हुनु स्वाभाविक हो। यसलाई टाउको दुखाइका रूपमा लिनु हुँदैन साथै बूढापाकाले पनि आफूलाई समयअनुसार ढाल्नु आवश्यक छ।

वृद्धावस्था अभिशाप कि वरदान ?

वृद्धावस्थामा आफूलाई जन्म दिने आमाबुवालाई घृणा गर्ने, कुटपिट गर्ने तथा वृद्धाश्रमसम्म पुर्‍याउने कार्य अमानवीय हो। समयले सबैलाई एक न एकदिन वृद्ध तुल्याउँछ। यो अवस्थामा पुगेका आमाबुवालाई धेरैले अनुपयोगी वस्तुका रूपमा लिने गरेका छन्। त्यसैले आमाबुवाले केही सम्पत्ति आपmनै नाममा राख्नुपर्छ। अंशबन्डा गर्दा आमाबुवाले सम्पत्तिको एक भाग आफूले राख्न पाउने कानुनी व्यवस्था छ। बूढा भएका आमाबुवालाई खान-लाउन दिनु छोराछोरीको कर्तव्य हो। यो कुरा ऐनमा पनि छ। कतिपय अवस्थामा हामीले छोराछोरीले फकाएर आमाबुवाको सम्पत्ति आफ्नो नाममा गर्ने अनि आमाबुवालाई हेला गर्ने गरेको पनि देखेका छौं। यस्तो अवस्थामा कानुनी उपचार प्राप्त गर्न सकिन्छ। झुक्याएर लिएको सम्पत्ति फिर्ता नभए पनि छोराछोरीले गाँस-बास दिनुपर्ने कुरा कानुनमा उल्लेख छ।

मीरा ढुंगाना, अधिवक्ता

वृद्ध हुनु प्राकृतिक कुरा हो। वृद्ध र बालक एउटै हुन्छन्। दुवैको स्वभावमा हठ हुन्छ। बालकले गरेको हठलाई सबैले बालहठ सम्झेर माया गर्छन् तर बूढाबूढीको हठलाई झन्झटका रूपमा लिइन्छ। बालबालिका आकर्षक हुन्छन्। उनीहरूले सबैलाई आफूतिर तानेका हुन्छन् तर बूढाबूढीमा त्यो आकर्षण हुँदैन। त्यसैगरी युवा तथा वृद्धको चाहना फरक हुन्छ। किशोरावस्थाका मानिसले आपmनो चाहना पूरा नभए पनि त्यसलाई हल्का रूपमा लिन्छन् तर हार्माेनका कारणले त्यो कुरालाई वृद्ध मानिसले गम्भीर रूपमा लिएको पाइन्छ। हार्मोनका कारण नै किशोरहरू उद्दण्ड हुन्छन् भने बूढाबूढी उदास हुन्छन्। त्यसैले बूढाबूढीको गन्थन किशोरावस्थाका व्यक्तिलाई मन पर्दैन। त्यसैगरी बूढाबूढीले पनि म त बूढो भएँ, मेरो त केश फुलिसक्यो, अब म केही गर्न सक्दिन, यो उमेरमा पनि के काम गर्नु ? आदि कुरा गर्नु हुँदैन। आत्मनिर्भर हुन्जेल मानिस आदरको पात्र हुन्छ भने परनिर्भर भएपछि अरूले बोझ मान्न थाल्छन्। त्यसैले वृद्धावस्थाका लागि मानसिक रूपमा तयार हुनुपर्छ। बूढो भएँ भनेर आत्तिने तथा डराउने काम गर्नु हुँदैन।
सिर्जना शर्मा, लेखिका
हाम्रो समाजमा स्वास्थ्यस्थिति, आर्थिकस्थिति राम्रो नभएका बूढाबूढी मात्र नभएर सम्पन्न परिवारका बूढाबूढी पनि अपमानित छन्। छोराछोरीले आफूलाई जन्म दिने आमाबुवालाई सडकमा छोडेको देख्दा मलाई अचम्म लाग्छ। उनीहरूमा आफू पनि एक दिन त्यो अवस्थामा पुग्नुपर्छ भन्ने ज्ञान नभएजस्तो लाग्छ। यो स्थितिका लागि नैतिकताको अभाव जिम्मेवार देखिन्छ। यसका लागि विद्यालयदेखि नै हजुरबुवा तथा हजुरआमाप्रति माया तथा सम्मान देखाउनु्पर्छ भन्ने कुरा सिकाउनु आवश्यक छ। सानैमा यस्ता कुरा सिकाइयो भने बालबालिकाले ठूलो भएर त्यसलाई लागू गर्न सक्छन्। यसले पनि बूढाबूढी र बालबालिकाबीचको दूरी मेट्न सजिलो हुन्छ। अहिले हामीले मानवता भन्ने कुरा बिर्सदैछौं। बूढाबूढी भनेका हाम्रा लागि बोझ हुँदै गएका छन्। यस्तो लाग्छ, आगामी पुस्ताले कुनै दिन आमाबुवा पनि भन्न छोड्नेछ। यी सबैले गर्दा बूढापाकामा भएका ज्ञानको कुराबाट हामी धेरै टाढा भएका छौं। बूढा आमाबुवाप्रति हामीलाई मायाका दुई वचन बोल्न कठिन हुन्छ। यसका लागि पहाड नै फोर्नुपर्छ जस्तो गरिन्छ। मैले देखेअनुसार बूढाबूढीलाई दुई वचन मीठो बोली र तातो खान दिए पुग्छ। त्यसका लागि हामीले अतिरिक्त परिश्रम पनि गर्नु पर्दैन। हामीले आफ्ना आमाबुवालाई माया गरेनाँैं भने भोलि हामीले आफ्ना सन्ततिबाट के अपेक्षा गर्ने ? अहिले हामीले आमाबुवाप्रति गरेको दुव्र्यवहार भोलि आफैलाई पर्न सक्छ भन्ने कुराको ख्याल सबैले गर्नुपर्छ।
दिलशोभा श्रेष्ठ, समाजसेवी, आमाको घर
समयको सदुपयोग गरौं
वद्धावस्थामा एक्लोपन सबैभन्दा ठूलो समस्या बनेको छ। जुन अवस्थामा आमाबुवालाई छोराछोरीको आवश्यकता पर्छ त्यो समयमा छोराछोरीले आफ्ना आमाबुवालाई धेरै समय दिन सक्दैनन्। बूढो भएपछि जाँगर नचल्नु, चिन्ताले सताउनु तथा एक्लोपनले गाँज्नु स्वाभाविक हो तर यो उमेरमा जीवनलाई बोझ मान्नुहुँदैन। वृद्धावस्था भनेको जीवनको सुन्दर अनुभव हो। यसले जीवनका कैयौं पाटासँग परिचित गराउँछ। वृद्धावस्थाले जीवनको सही मूल्य बुझेको हुन्छ। त्यसैले यो समयमा आफ्नो एक्लोपनलाई बोझ नसम्झी यसलाई रमाइलो बनाउनुपर्छ। वृद्धावस्थाको सबैभन्दा ठूलो शत्रु एक्लोपन हो। यस्तो अवस्थामा आफूलाई कुनै काममा व्यस्त राख्न सके यो समय अझ रोमाञ्चक हुन सक्छ।
आफ्नै दुनियाँमा मस्त
वृद्धावस्थामा सम्पूर्ण जिम्मेवारी पूरा गरी जिउनुको मज्जा लिन सकिन्छ। बिहानको समय आफ्नै उमेरका साथीहरूसँग मर्निङ वाक जान सकिन्छ। यसले शरीर स्वस्थ्ा राख्नुका साथै मन पनि प|mेस हुन्छ। दिउँसो खाना खाई आराम गर्नुका साथै टेलिभिजन हेर्न सकिन्छ। आफूले सक्ने काम गर्नुका साथै सामाजिक कार्यमा रुचि राख्दा मन शान्त पनि हुन्छ। यसले मन तथा मस्तिष्कलाई आनन्द प्रदान गर्छ।
घुम्न जाने
विवाहपछि बालबालिका, उनीहरूको शिक्षादीक्षा तथा घर गृहस्थीको झमेलामा कहिले उमेर ढल्छ थाहा हुँदैन। उमेर हुँदा तथा केही गर्ने जोस-जाँगरका बेलामा छोराछोरीको आवश्यकता पूरा गर्दैमा दिन बित्छ। यस्तोमा जब आफ्नो जिम्मेवारीबाट फुर्सद मिल्छ, त्यो समयको आनन्द लिन सकिन्छ। आर्थिकस्थिति राम्रो छ भने कुनै पर्यटकीय स्थललाई गन्तव्य बनाउन सकिन्छ। अहिले विभिन्न ट्राभल एजेन्सीले सस्तोमा विभिन्न खालका प्याकेज पनि ल्याउँछन्। त्यसको पूर्ण लाभ लिन सकिन्छ।
सधैं खुसी रहने
हाम्रो के छ र ? यति उमेर त कट्यो बाँकी जसरी पनि कटिहाल्ला ? एक्लो छौं ? के गर्ने ? कता जाने ? छोराछोरीले के खाए होलान् ? के गर्दै होलान् ? आदि कुरा मनमा खेलाउनु हुँदैन। यस्ता कुराले जीवनमा निराशा ल्याउँछ। त्यसैले सकेसम्म प्रशन्न रहने प्रयास गर्नुपर्छ।
क्रियाशील
पूरा उमेर काम गरियो, अब यो वृद्धावस्थामा पनि के काम गर्नु ? भन्नु हुँदैन। यो उमेरमा पनि क्रियाशील हुन सकिन्छ। विभिन्न खालका सामाजिक कार्यक्रममा सहभागी हुनुपर्छ। त्यसले गर्दा एक्लोपनको बोझ हट्नुका साथै शरीर पनि सक्रिय हुन्छ। यसले जीवनप्रति सकारात्मक सोच उत्पन्न गर्न पनि सहयोग गर्छ।
जवानीको आभास
बुढेसकाल लाग्यो। बुढेसकालमा पनि के राम्रो हुनु ? जस्ता निराशापूर्ण कुरा गर्नु हुँदैन। बुढेसकालमा पनि जवानीको आभास गर्न सकिन्छ। शरीर बूढो भए पनि मनलाई कहिल्यै बूढो हुन दिनु हुँदैन। यो अवस्थालाई जीवनको नयाँ सुरुवातका रूपमा लिन सकिन्छ। समय, मौसम तथा अवसरअनुसार सुन्दर पहिरन लगाउन सकिन्छ।
समयमै योजना
बूढापाकाले समयमै आफ्ना लागि केही योजना बनाउनुपर्छ। पहिले ५५ वर्षको उमेर लागेपछि रिटायर्ड हुने बेला भएछ भनिन्थ्यो। हिजोआज यो उमेर सक्रिय एवं स्वस्थ रहने बेला हो। यो उमेरमा सामाजिक गतिविधिबाट प्रायः छुट्टी लिइन्छ तर आर्थिक तथा स्वास्थ्यस्थिति कमजोर भएका मानिसले भने यो उमेरको सदुपयोग गरेको पाइँदैन। अहिलेका मानिस सुविधाभोगी भएका छन्। मानिसहरूका बीच आत्मीय व्यवहार हराउँदै गएको छ। यस्तो अवस्थामा कसैलाई पनि पूर्ण विश्वास गर्नु हुँदैन। आफ्ना लागि केही न केही छुट्याएर राख्नुपर्छ।
बुढेसकाल भनेको जोस-जाँगर नभएको, पूर्णरूपमा थाकेको तथा कामबाट दिक्दार भएको शरीर होइन। यो सर्वज्ञानी हुने अवस्था हो। यो अवस्थामा पनि जीवनको पूर्ण लाभ लिन सकिन्छ। सक्रिय जीवन तथा खारिएको अनुभवले वृद्धावस्थालाई सार्थक बनाउँछ। यो अवस्थामा स्वस्थ रहनु सबैभन्दा महत्वपूर्ण कुरा हो।

धेरै मात्रामा सोया प्रोडक्ट जस्तै तोफु सेवन गर्दा बिर्सने बानी हुने सम्भावना हुन्छ। एक अध्ययनअनुसार दिनमा एकपटक तोफु सेवन गर्ने वृद्धाको नगर्नेको तुल्ानामा मस्तिष्कको सन्तुलनमा असर परेको देखाएको छ। सोया प्रोडक्टसलाई मासुको सट्टामा प्रोटिन प्राप्त गर्ने विकल्प मानिन्छ।

स्वस्थ जीवन यापनका लागि सही समयमा सुत्नुपर्छ। आफ्नो सुत्ने कोठामा इलेक्टि्रकल सामान राख्नु हुँदैन। त्यसले निद्रामा इलेक्ट्रोम्यागनेटिक असर पार्छ। त्यसैगरी राति निद्रा नलागे पनि सुत्ने प्रयास गर्नुपर्छ।

दैनिक कम्तीमा डेढ लिटर मनतातो पानी पिउनुपर्छ। यसले घाँटी शीतल हुनुका साथै खाएको कुरा पनि पच्छ।
वृद्धावस्थामा नियम्ाित हल्का व्यायाम गर्नुपर्छ। व्यायाम गर्दा पसिना आउँछ र पसिनाको माध्यमबाट नचाहिने कुरा बगेर जान्छ।
सामाजिक काममा रुचि राख्नुपर्छ। कुनै पनि सामाजिक कार्यक्रममा भाग लिएर आफ्नो अनुभव बाँड्न सकिन्छ।
समय-समयमा स्वास्थ्य जाँच गराइरहनुपर्छ।