समाज विकसित र परिर्वतित हुँदै जाँदा मानिसका आवश्यकता पनि थपिँदै जान्छन् । मानिसहरू बढीभन्दा बढी सुविधा उपभोग गर्न चान्छन् । रमाउन चाहन्छन्, खुसी हुन चाहन्छन् । व्यस्त समयबाट अलिकति फुर्सद निकालेर रमाउन मानिसहरू आफूलाई मन लागेका कार्य गर्छन् । कतिपय परिवारमा बसेर रमाइलो गर्छन, कतिपय मीठा-मीठा खानेकुरा खाएर, कतिपय चलचित्र हेरेर त कति पुस्तक पढेर पनि रमाइ रहेका पाइन्छन्, तर धेरैजसो मानिस रमाउनका लागि विभिन्न ठाउँको भ्रमण जान्छन् ।
हिजोआज भ्रमण फेसनजस्तै भएको छ । अझ यो मौसम त भ्रमण गर्नेहरूका लागि एउटा उत्सवजस्तै हो । नेपालका विभिन्न रमणीय ठाउँमा विभिन्न संघ-संस्था, विद्यालय, समूह वा पारिवारिक भ्रमणमा निस्किएकाहरूको जमघट बाक्लो छ । वनभोज होस् वा अध्ययन, अवलोकन होस् वा अनुसन्धान, धार्मिक होस् वा शैक्षिक यस्ता धेरै प्रकारका बहानामा मानिसहरू भ्रमणमा निस्किएका पाइन्छन् ।
यतिबेला विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा लाने क्रम पनि निकै बढेको छ । विभिन्न कृषक समूह, सरकारी कार्यलय, बचत तथा ऋण सहकारी संस्थाहरू, अन्य विभिन्न संघ-संगठन र सामाजिक संस्थाह रूसमेत यस्ता भ्रमणमा सहभागी हुँदै आएका छन् । यतिबेला पूर्वमा धनकुटाको भेडेटार, पाख्रीबास कृषि अनुसन्धान केन्द्र, सुनसरीको धरान, विजयपुर, बहारक्षेत्र, ताततलैया, कोसी टप्पु वन्यजन्तु आरक्ष, मोरङका बेतौना सीमसार क्षेत्र, चुली पोखरी, झापाका सतासीधाम, दोमुखा, जामुन खाडी, इलामका कन्याम, फिक्कल आदि क्षेत्रमा नेपालभरिका मानिसहरू विभिन्न किसिमका भ्रमण लिएर पुगेका पाइन्छन् । पूर्वबाट पनि दैनिक दर्जनौं समूह जनकपुर, हेटौंडा, चितवन, पोखरा, मनकामना, नगरकोट, लुम्बिनी आदि क्षेत्रको भ्रमणमा निस्कनेहरू उत्तिकै भेटिन्छन् ।
बाहिरको वातावरणमा रमाइलो गर्दै आनन्द लिनुको छुट्टै मज्जा भएको भ्रमणमा सहभागीहरूको अनुभव छ । शारीरिक अशक्तहरूको समूहसँग भर्खरै भेडेटार, धनकुटालगायत सुनसरीका विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको भ्रमण गरेर फर्किएका मोरङ अमरदहका सन्तोष कार्की भन्छन्- 'भ्रमण र यात्राले मानिसलाई रमाइलो मात्र दिँदैन, काम गर्ने ऊर्जासमेत प्रदान गर्छ ।' यस्तै सहकर्मी समूहको भ्रमणमा सहभागी सुनसरीको पकलीका विकास दाहाल पनि यात्रा एवं भ्रमणले मानिसमा जोस-जाँगर र ऊर्जा थप्ने भएकाले वर्षमा एक-दुई पटक भ्रमणमा सहभागी हुँदै आएको बताउँछन् ।
झापाको दोमुखा तथा जामुनवाडी आदि क्षेत्रमा विद्यार्थीलाई भ्रमणका लागि लिएर गएका अरनिको विद्यालय मोरङका पि्रन्सीपल पुष्पमणि भारतीले विद्यार्थीहरूलाई शिक्षासँगै विभिन्न ठाउँको रहन सहन, भोगौ लिक एवं सांस्कृतिक वातावरण तथा प्रकृतिक सम्पदाका बारेमा जानकारी गराउन भ्रमणमा निस्किएको बताए । विद्यार्थीलाई यस्ता कार्यमा सहभागी गराउँदा उनीहरूमा पनि छुट्टै किसिमको ऊर्जा उत्पन्न हुने भारतीको धारणा थियो ।
यसरी विभिन्न बहानामा भ्रमणमा निस्कनेहरूले कत्तिकदेखि पुसको पहिलो सातासम्मको समयलाई रोज्ने गरेका छन् । मौसम र विभिन्न कारणले यो समय भ्रमणका लागि अनुकूल भएको भ्रमणमा सहभागीह रूले बताएका छन् । 'यो मौसममा पानी पर्ने सम्भावना पनि हुँदैन अनि जाडो पनि त्यति धेरै छैन,' धनकुटाका एक गाडी विद्यार्थीसहित भेटिएका झापा चन्द्रगढीको प्रज्ञा एकेडेमीका शिक्षक अशोक पुडासैनीले भने- 'मौसमको अनुकूलता र प्रायःजसो सबै विद्यालय यही समयमा शैक्षिक भ्रमण जाने भएकाले हामीले पनि यसैलाई छान्यौं ।'
रूपन्देहीबाट पूर्वी नेपालको भ्रमणमा निस्किएको सप्तकोसी बचत तथा ऋण सहकारीका पदाधीकारीहरू यो मौसममा भ्रमण गर्दा अरू समयको भन्दा आनन्द आउने बताउँछन् । यो समयमा बिना झन्झट यात्रा गर्न पाइने उनीहरूको भनाइ छ ।
प्रा. डा. टंक न्यौपाने पनि पानी नपर्ने र जाडो पनि धेरै नभएकाले भ्रमण अनुकूल भएरै धेरै मानिसले यो समयलाई उपयुक्त मान्ने गरेका बताउँछन् । डा. न्यौपाने भन्छन्- खेतीका मानिसले अन्न थन्क्याएर फुर्सद पाएका छन् । अरू मानिसहरूका लागि पनि यो समय उपयुक्त छ । त्यसैले पनि यो समय भ्रमणको समय बनेको छ ।
यस्ता भ्रमणले एकातिर सहभागीहरूलाई रमाइलो र आनन्द दिन्छ भने अर्कातर्फ ती ठाउँहरू जहाँ भ्रमणका लागि गइन्छ उक्त ठाउँको विकासमा समेत सघाउ पुर्याउँछ । सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा त झन् यस्ता भ्रमणले आन्तरिक पर्यटनमा समेट टेवा पुर्याउने वास्तविकता कसैले नकार्न सक्दैन ।
No comments:
Post a Comment