Tuesday, June 29, 2010

Wednesday, June 23, 2010

कविता - उपवास

-मनु लोहोरूङ

मृग नयनी आँखाहरु,
अनुरागी भाखाहरुलाई
फूल र पराग सम्झेर,
दिन र रात म उनिएँ
जीवनको ऐना अगाडी
एकपटक उभिएर हेरें
निकम्मा, आफुलाई
फगत एउटा मान्छे देखें
तिबिम्बमा तिमी छटपटियौ l
आफुले आफैलाई सोचें,
तिम्रो मनको घाउ निको पर्न अब,
मेरो क्रुर विम्ब लुकाएर,
आजीवन उपासिन्छु l
मेरो नपुंसक मस्तिष्कले
तिम्रो लागि मायाको भाव
जन्माउन सकेन, गर्भ मै तुहियो
तिम्रो मुटुको रक्तनलीहरु
अब सबै सबै चुडाउनू !
कुनै सपनाको आभाषले
म प्रति रगत नतातियोस
सोचले स्नायूतन्तुहरुलाई
पक्षघात बनाउनू !
किन कि,
फेरि आवेगमा
मेरो यादको संवेग नहोस् l
अमुर्त प्रेमको हत्या नगर्नू !
किन कि
आजन्म पश्तापको कैद हुने छौ l
रहरहरुलाई धाप मार्दै,
इच्छाका कापमा मलाई भेट्यौ,
घामको लाली टिपेर
लगाईदिन खोज्दा
इन्कारको तगारोले म छेकिएँ l
मैले पुर्णिमाको जून ओढेर
मौसमी आकांक्षाहरुको
खास्टो ओछ्याँउदा
चैते डढेली मनले आगो लगायौ l
बेमौसमी झरी पर्दा,
बाछिटाले भिजेको
मनको खोपा सुकेन
म चाहन्थें........
तिम्रो धारिलोपनले
म पनि काटीऊँ टुक्रा-टुक्रा,
यो भूमिवालाले बटुलोस
म चाहन्थें.........
खुशीका फूल टिप्न
राज्यबासीहरु आउन्
तर बेलाको बोलीले,
म छाँटिएँ, काटिएँ, साटिएँ l
घडी पलाको लागि मात्र
म जाकटीमा फालिएँ
मगजको श्रमले.........
आफैलाई उकास्न सकिन l
तिम्रै अनुरोधमा, इच्छाहरु
धेरैचोटी आधापिल्चो भए,
कल्पित मन सेरिएर
एकान्तमा हत्या भयो l
तै पनि,मैले सहें, म रहेँ,,,
सम्झौताको कारागारमा l
स्वच्छन्दवादी दर्शनको
खुल्ला पिजडबाट
अब मलाई रिहा गर्यौ l
भावनाको हत्कडी लाएर
यो शहरबीचमा छोड्यौ l
ठिकै छ, म सम्झौता गर्छु l
तिम्रो खडेरी मनसँग,
तिम्रो सुख भावसँग,
तिम्रो तिक्त चापसँग,
केवल,मेरो नाम तैरेर
स्मृतिका छल्कोहरु
कहिल्यै नछल्किउन् l
कयौं मेरा रातहरुमा
काँडा बिछ्याई दियौ,
भोकको दिनहरुमा बरफको गाँस दियौ,
तिम्रो अनुष्ठान आज सकिएको छ l
बिच्छेदको हिउँलेकठयङ्ग्रिएको छु l
पापको खातिर
मेरो यातनाको म्याद
आज पुरा भएको छ l
विकल्पमा कुनै शेष छैन l
केवल छ त, मेरो कार्जे...
खुशीको अन्त्येष्टि भएकोमा
तिम्रो पुनर्जन्मको लागि
म आजीवन उपवास बस्छु l

Sunday, June 20, 2010

कविता- अभिषेचन

-मनु लोहरुङ

कलकलाउँदो सिर्जनाका
बैंशालु लकुनाहरुमा
बैचारिक तिक्तताको
तीखो छुरी नचलाऊ !

अभाव र पिडाहरुले
यो बाग जलेको बेला
विजातको फूल बन्नुमा
बिजनको जगेडा हुदैन।
'सत्य' सत्य नै हुन्छ,
एक दिन सामु झुक्नै पर्छ।

सदियौं देखि रहेका
फोस्रा पुंकेषरले फल्न सकेन
अनुकुलीय वृक्षफलहरु....
हजार जीवनको नश्वरता हुँदा
रमिता हेरेर बसे, अहृदयी आँखाहरु !

पृथकताबादको भेदबाट
माथि उक्लेर समष्टिगत
यो जग र लोकको सुरक्षाको
पृथुलतम अभिभारा बोकेर,
अवानीतलमा सममोहको
अभिषेचन गर्दै उकालो चढ्छु ।

उकालो यात्रा गर्नु बराबर
अभिष्ट सिद्धि भेट्नु हो।
त्यसैले अनुगृहीत भएर
बिशोधित मनका वस्तीभित्र
अमर विदुषी फूलहरु फुलाउन चाहान्छु।