Sunday, December 5, 2010

विश्वकपको आयोजना रुसले २०१८ मा र कतारले २०२२ मा गर्ने

from: नागरिक

जुरिच, मंसिर १७ (रोयटर्स)- रुसले सन् २०१८ र कतारले २०२२ को विश्वकप फुटबल आयोजना गर्ने भएका छन्। जुरिचमा भएको मतदानपछि विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरले आयोजक राष्ट्रको घोषणा गरेका थिए।
रुस र कतार दुवैले पहिलो पटक विश्वकप आयोजना गर्न लागेका हुन्। रुस र कतारले आयोजना अधिकार पाएपछि विश्व फुटबलको सबैभन्दा ठूलो मेला पहिलो पटक पूर्वी युरोप र अरब राष्ट्रमा हुनेछ। फिफाले पहिलो पटक एकसाथ दुई फरक विश्वकप आयोजक राष्ट्रको घोषणा गरेको हो। २०१४ को विश्वकप ब्राजिलले गर्दैछ।
रुसले आयोजना अधिकार पाउने क्रममा स्पेन-पोर्चुगल र नेदरल्यान्ड-बेल्जियमको संयुक्त दाबेदारीलाई उछिन्यो। फिफाका २२ कार्यसमितिले गरेको मतदानमा रुसले १३ पूरक मत ल्याएको थियो। २०१८ को विश्वकप आयोजनाका लागि दाबेदार मानिएको इङ्ल्यान्ड पुछारमा रहेर पहिलो चरणबाट बाहिरियो। भ्रष्टाचारको आरोप लागेका आफ्ना २ केन्द्रीय सदस्यलाई फिफाले मतदानमा प्रतिबन्ध लगाएको थियो।

इङल्यान्डले पहिलो चरणको मतदानमा २ मतमात्र पाएको थियो, जहाँ नेदरल्यान्ड-बेल्जियमले ४, स्पेन-पोर्चुगलले ७ र रुसले ९ मत पाएका थिए। दोस्रो चरणमा रुसले आवश्यक १३ मत पाउँदा नेदरल्यान्ड-बेल्जियमले २ र स्पेन-पोर्चुगलले ७ मत पाए।
राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम लबीमा जुरिच आउन अस्वीकृत गरेको अवस्थामा रुसका लागि फिफाको निर्णय स्तब्धझै रह्यो। पुटिनले मतदानको पूर्वसन्ध्यामा इङ्ल्यान्डको सञ्चारमाध्यमले ‘नकरात्मक भूमिका खेलेको’ भनी आलोचना गरेका थिए।

रुसको दाबीलाई समर्थन गर्न आर्सेनल स्टार आन्द्रे अर्साभिन, चेल्सीका रुसी मालिक रोमन एब्रामोभिजसहितका चर्चित अनुहार स्विट्जरल्यान्ड पुगेका थिए। प्रधानमन्त्री डेबिड क्यामरन, फुटबल स्टार डेबिड बेकह्याम र एलान सिएरर इङ्ल्यान्डको दाबीलाई बल पुर्‍याउन जुरिच आएका थिए।

कतार विश्वकप आयोजना गर्ने सबैभन्दा सानो राष्ट्र बन्ने भएको छ। १७ लाखभन्दा कम जनसंख्या भएको कतारको विजयलाई धेरैले आश्चर्यको रुपमा हेरेको छ। जुन-जुलाईमा विश्वकप दौरान निकै गर्मी हुने भनी कतारको धेरैले चर्को आलोचना गरेको थियो। त्यसको बदलामा तेलखानी राष्ट्रले रंगशालालाई बातानुकुलित पार्नेमा आश्वस्त पारेको थियो।

कतारले आयोजनाको अधिकार पाउनेक्रममा अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र अमेरिकालाई पराजित गरेको थियो। कतारको विजयले २०२६ का लागि चीनले गर्ने दाबी अस्वीकृत हुने निश्चित भएको छ। …हामीलाई समथर्न गर्नुभएको र यस खेललाई उचाईंमा पुर्‍याउनु भएकोमा धन्यवाद छ,’ कतारको दाबी प्रस्तुत गरेका एसियाली फुटबल महासंघका अध्यक्ष मोहम्मद बिन हमामले विजयपछि भने, ‘हामी कसैलाई निराश पार्ने छैनौं, हाम्रो आयोजनामा सबैले गर्व गर्ने छन्।’

२०२२ को आयोजनाका लागि भएको मतदान चार चरणसम्म चलेको थियो। १ मतमात्र पाएको अस्ट्रेलिया पहिलो चरणमै बाहिरिएको थियो। कतारले पहिलो चरणमा ११, दक्षिण कोरिया ४, जापान र अमेरिकाले ३/३ मत पाएका थिए। दोस्रो चरणमा जापान र तेस्रोमा दक्षिण कोरिया बाहिरिए। दोस्रोमा कतारले १० र अमेरिकाले ५ तथा तेस्रोमा कतारले ११ र अमेरिकाले ६ मत पाएका थिए।

चौथो तथा अन्तिम चरणमा कतारले १४ मत पाउँदा विजयी हुँदा अमेरिकाले ८ मत पाएको थियो।

No comments:

Post a Comment