किरात धर्म र संस्कृति– –बैरागी काईला
किरात धर्म र किरात संस्कृतिलाई अलग अलग उपशिर्षकमा चर्चा गरिनु उपयुक्त हुनेछ। चेम्जोङले दस लिम्बूले मानिल्याएका धार्मिक परम्परालाई उनका अरु कृतिमा विशेषतः हिष्ट्री एन्ड कल्चर अफ किरात पिपल (१९६७/२००३) र बिजयपुरको संक्षिप्त इतिहास(१९७४/२००३) मा बिस्तृत चर्चा गरेका छन्। धर्म र संस्कृतिमा कति अन्तर हुन्छ भन्न गार्हो हुन्छ। कतिले संस्कृतिको ब्यापक घेरोभित्र नै धर्म पनि पर्दछ भनेर पनि भन्दछन्। जनसामान्यका लागि भने यी दुवै विषय अलग हुन्। त्यसैले यहाँ हामीले धार्मिक तथा सामाजिक वा सांस्कृतिक दुई अलग–अलग शिर्षकमा यिनको चर्चा गर्ने जमर्को गरेका हौं। कुराको उठान हामी दस लिम्बू किरातको परम्परागत धार्मिक तथा सामाजिक र सांस्कृतिक थितिबाट गर्न सक्दछौं तर यस आलेखमा सामाजिक सन्दर्भका पक्षभन्दा धार्मिक र सांस्कृतिक सन्दर्भमा मात्र हामी चर्चा गर्नेछौं। धर्म:–चेम्जोङ (१९४८/२००३:२२,१९६७/२००३:६६)अनुसार किरात लिम्बूको परम्परागत (क) धार्मिक र (ख) सामाजिक थितिमध्येमा धार्मिक थिति निम्नाअनुसार छन्। (क) धार्मिक थिति (१) दस लिम्बूले मानिल्याएको मूल देवी “युमा साम्माङ” हुनाले प्रत्येक घरले सालमा दुईपल्ट पूजा गर्नु पर्दछ। उँधौंली पूजा कार्तिक र उँभौंली पूजा वैशाखमा गर्नुपर्छ। (२) अन्न – बाली पाकेपछि चासोक माङ्खमा अर्थात् न्वाँगी पूजा गर्नुपर्छ। (३) स्त्री गर्भवती हुँदा साप्पोक् चोमेन अर्थात बालकको रक्षाका लागि पूजा गर्नु पर्छ।(४)सालमा एकपल्ट सबैले माङ्गेना अर्थात रक्षाबन्धनका लागि पूजा गर्नुपर्छ। (५) सालमा एकपल्ट ताप्फेङ् अर्थात रक्षाबन्धनका लागि पूजा गर्नुपर्छ। (६) वर्षमा एकपल्ट जहानको जेठोपाकोले नाहाङ्मा पूजा गर्नुपर्छ जसबाट आफ्नो शरीरको रक्षा हुन्छ।
चेम्जोङ्ले तीन बर्षमा एकपल्ट जहानको जेठोपाकोले नाहाङ्मा पूजा गर्नु पर्छ। जसबाट आफ्नो शरीरको रक्षा हुन्छ भनेर सबै दस लिम्बूलाई औल्याएका भए पनि ब्यबहारमा भने दस लिम्बूभित्रको बिभिन्न कुल वंशमा कसैले युमा, कसैले थेबा, कसैले पित्चम्मा र दुङदुङगे आफ्नो शरीरको रक्षाका लागि मात्र नभई सम्पूर्ण परिवारको कल्याण र रक्षाका लागि गर्दै ल्याएका देखिन्छ। संस्कृति:चेम्जोङले दस लिम्बूको जन्मदेखि मृत्युपर्यन्तका संस्कारकाबारेमा बृहत रुपमा किरात मुन्धुम् (किरातकोबेद)१९६१,२००३) मा लेखेका छन्। चेम्जोङ (किरात इतिहास १९४८/२००३:२१–२२,हिष्ट्री एल्ड कल्चर अफ किरात पिपल,१९६७/२००३:५५–६०)अनुसार दस लिम्बू किरातको अन्य परम्परागत सामाजिक वा सांस्कृतिक थिति निम्नाअनुसार छन् :–(ख)सामाजिक थिति (सांस्कृतिक थिति? १. पुत्र जन्मे चारदिनमा अनि पुत्री जन्मे तीन दिनमा नाम – कर्म अर्थात न्वारान गर्नु पर्छ। २. उसरी नै पुरुष परलोक भए चार दिनमा अनि स्त्री परलोक भए तीन दिनमा शुद्ध गर्नुपर्छ। एक बर्षमा बरखी गर्नु पर्छ। ३. (क) मराउ परेको घरका जहानले एक बर्षसंम्म नाचगान गर्नु हुँदैन(ख)विवाह गर्नु हुँदैन।(ग)टिका अथवा चाडबाड मान्नु हुँदैन।(घ)घरका देव देवता बुझाउनु हुँदैन। संक्षिप्तमा कुनै प्रकारको रसरंग गर्नुहुँदैन। ४.दुई किसिमले बिबाह गर्न सकिन्छ। बिबाह अघि रु ५५।– दस्तुर बुझाएर मागी बिबाह को रीतले दस लिम्बूको रीत बुझाइ बिबाह गर्नु। बिबाह पछि बुझाउदा भने रु ४४।– दस्तुर बुझाउनु अर्थात चोरी बिबाह गर्नु। माथिको उद्धरणबाट के गर्नु पर्ने, के गर्नु नपर्ने,के हुने र के गर्नु नहुने भन्ने बिषयमा विविध बुँदाहरु जान्न पायौं। यस्ता निषेधहरुको कोही कुनै जातिको सामाजिक र सांस्कृतिक जीवनमा लामो पाइन्छ। दस लिम्बू किरातमा पनि यस्तो सूची लामो हुनुमा आश्चर्य मान्न हुँदैन।
यर्थाथमा यिनै निषेधबाट हामी कुनै जातिको धर्म र संस्कृति चिनाउन सक्दछौं। सर्बप्रथम चेम्जोङले नै यस दिशामा शोध र अध्यन गरी प्रकाशमा ल्याउने ठूलो काम गरेका छन्। शोधखोजका क्रममा उनले गाउँ गाउँ डुल्ने र सूचना संकलन गर्नेदेखि विभिन्न भाषामा लेखिएका विभिन्न विद्धान लेखकहरुका रचना र कृतिहरुको गहिरो अध्ययन र विश्लेषण गर्दै पाठकहरुका सामु राखेका छन्। यसक्रममा उनले हज्सन पानडुलिपिमा संकलित लिम्बूहरुको मुन्धुम्का विविध पक्षमा प्रकाश पार्ने लेखौटहरुको अनुबाद गरेर जनसमक्ष ल्याएका छन्। तिनमा खेतिपातिमा बारन्याको क्रमको लंबरमा भएको कृषि गर्ने थिति(चेम्जोङ,१९७४/२००३:१०–११,१९६७/२००३:६८–६९)अत्यन्त महात्वको छ। त्यसभित्र अन्य बेलामा बार्नु पर्ने बारेका कतिपय निषेधहरु पनि परेका छन्। सांस्कृतिक विशेषता:(क) सामूहिकताको भावना– लिम्बू जातिको संस्कृति एकतर्फी हुँदैन। यसलाई टु–वे ट्राफिक भन्दा हुन्छ। अर्को शब्दमा यो सामूहिक चेतना पनि हो। दस लिम्बू परम्परामा मर्दामर्दा शुद्ध हुँदा, पापकर्मबाट दुबोढुङ्गा छुवाई उन्मुति्क दिंदा वा चोकफुङ जस्ता अन्य बेलामा पनि सबैको सहमति र सहभागितामा सबै कार्यहरु सम्पन्न गरिन्छन्। चोकफुङ गरिंन्दाको राम्रो उदाहरण (चेम्जोङ, १९६७/२००३:६०–६२) सहित चेम्जोङले यस कुरालाई अघि राखिदिएका छन्। शुद्धयाई कार्यमा भलाद्मीहरु सबैको सामूहिक सहभागिताले बोले पछि मात्र शुद्ध भएको ठानिन्छ तथा बिवाह कर्मलाई पनि सामूहिक सहमतिले वैद्धता प्रदान गरिन्छ। (ख)दुबो ढुङगा–लिम्बू जातिमा दुबो ढुङ्गाको महात्व ठूलो हुन्छ भनेर चेम्जोङ(चेम्जोङ,१९६७/२००३:६३–६५)ले लेखेका छन्। जस्तैः-नराम्रो काम गरेको भए पनि दुबो ढुङ्गा छुवाएर शुद्ध भनेपछि शुद्ध भइजान्छ। (ग)पञ्चको शति्क–पञ्चभलाद्मी(तुत्तु तुम्याङ्) को महात्व सार्है ठूलो हुन्छ। जातीय पुरोहित फेदाङ्माहरु भन्दा माथि यिनको स्थान हुन्छ। बाधा अड्काउ फुकाउन परे यिनैले एक मत भएर दिएको रायले फुकिन्छ। पञ्चभलाद्मी (तुत्तु तुम्याङ्) ले दुध भने दुध हुन्छ,पानी भने पानी हुन्छ। पञ्चको शति्कको राम्रो दृष्टान्त चेम्जोङ(चेम्जोङ,१९६६/२००३:–) “चुक्मिबा” नामक लोककथाका माध्यमले प्रस्तुत गरेका छन्।
निष्कर्ष:-चेम्जोङले ब्रम्हान्डको उत्पति र सृष्टिको ब्याख्या गर्ने क्रममा अघिसारेका कति कुराहरु हिन्दु धर्मशास्त्रका ब्याख्यासंग मिल्दाजुल्दा पनि पनि भेटिन्छन्। किरात मुन्धुम् (किरातको बेद)मा संकलित ब्रम्हान्डको उत्पति पछि अनेक देवताहरुको सृष्टि,तीनलोकको र चौध भुवन (तल बितल) को तथा तेत्तिसकोटी देवी देवताका अनुकम्पाले त्यस दिशातिर संकेत गर्दछ। चेम्जोङले इश्वरको नरचोला धारणको प्रयोजनको अनेक ब्याख्या आफ्नै ढंगले दिएका छन्। इश्वरले मानिसको सहयोगका लागि याङ् साम्माङ् हाङसाम्माङ्हरु उत्पन्न गराए भन्ने उनका आफ्नै प्रकारका ब्याख्याहरु परम्परागत भन्दा भिन्नपनि छन्। त्यसरी नै मनुष्यको सृष्टि गर्दा लोकमा प्रचलित मिथकमा वर्णित कुखुरा (पन्छी) को बिष्टा र मालिङगाको खरानी परेको शितमा मुछेर मानिसको मूर्ती बनाई बोलाउँदा मात्र बोलेका आख्यानले मानिसको चोला एक दिनको हो,यो अन्त्यमा खरानीझैं उडेर बिलाउछ,अथवा माटो भई माटोमा मिल्दछ भन्ने किरात लिम्बूहरुको आदिम धारणालाई बहन गरे पनि उनले सुधारेको कुरालाई मानेर किरात मुन्धुम् (किरातको बेद) मा मालिङगो र देवनिगालोको खरानीलाई पहेलो माटोमा मिसाइ रुख र ढुङगाको टोड्कामा जमेको पानीमा मुछेर मान्छेको मूर्ती बनाएर सास हालिदिएको भनेका छन्।
लिम्बूहरुको मौखिक मुन्धुममा कतै पनि उल्लेख नभएको प्रलयको कथालाई पनि लिम्बू मुन्धुमको अंग भनेर प्रस्तुत गरेका छन्। कन्फुसियसको मतसंग जोडेर युमालाई र थेबा साम्माङ्लाई चीनको बादशाहहरुको पिंडीसंग जोडेर प्रस्तुत गरेका ब्याख्याहरु असहज लाग्दछन्। हिन्दुधर्मले बढी जोडदिएको बैज्ञानिक यथार्थ पञ्चतत्व (ङामुक साम) मा जोड दिनु पनि त्यतैतिरको प्रभाव हो कि भनेझै भान हुन्छ। चेम्जोङले लिम्बू मुन्धुमको पेसाप्(लेख्यरुप) मा जोड दिएको देखिन्छ। नजिकको तिब्बतको बौद्धपरम्पराबाट उत्प्रेरित भए पछि लिम्बूहरुका माझमा लेख्यपरम्पराको थालनी तेअङशसी सिरिजंगाबाट भएको हुन सक्दछ। तर हाम्रोमा मात्र होइन अन्यत्र पनि लिखितपरम्परालाई मौखिक परम्पराभन्दा उपल्लो दर्जा ठानेको देखिन्छ। त्यसैले चेम्जोङदेखि आजसंम्म नै मौखिक परम्परालाई हेय दृष्टिले हेर्नेहरुको कमी भएको छैन। यसो हुनाको कारण मौखिक परम्परा चिरस्थायी हुने भएकाले पनि हुन सक्दछ। हिजोआज पनि चेम्जोङले भनेझैं अड्सीले होइन तर सत्यहाङ्मा पन्थीमा सेवासावाबाट लिखित शास्त्र पाठ गरी गराई पूजाआजादेखि अन्य अनुष्ठान सम्पन्न् गर्ने चलन देखिन्छ। लिखितशास्त्र पाठ गरी अनुष्ठान गर्नेहरुमा परम्परागत पद्धतिमा सुधार गरेर इश्वरको उपासना,पूजाआजामा बली परम्पराका सट्टा धूपबाती,तुलफूल र नैवेधमा जोड दिइदो छ। यिनै कतिपय कुरालाई चेम्जोङले पनि आफूले संकलन,अनुबाद र सम्पादन गरेको मुन्धुम् विषयक ग्रन्थहरुमा बली दिएको पाइन्छ। तर पनि मुन्धुम् र मुन्धुम्मा प्रयुत्क शब्द,भाषाको राम्रो विश्लेषण र ब्याख्या गरेर चेम्जोङले महात्वपूर्ण योगदान गरेका छन्। त्यसरी नै देशबिदेशमा छरपष्ट रहेका प्रकाशित ग्रन्थहरु र अप्रकाशित पान्डुलिपिहरुको संकलन गरी संरक्षण र सम्र्द्धनको कार्यमा अतुलनीय र अमूल्य योगदान गरेका छन्।
No comments:
Post a Comment