Sunday, November 28, 2010

किपट प्रथा यथावत

सङ्खुवासभा । यहाँका दुई गाविसमा किपट र जिमिवाल प्रथाका कारण सामुदायिक वन गठनमा समस्या भएको छ । नेपाल सरकारले हरियो वन नेपालको धन भन्ने मूल नाराका साथ वनलाई संरक्षण सुरु गरे पनि यहाँ भने सामुदायिक वन उपभोक्ता समितिमा नै समस्या भएको जिल्ला वन अधिकृत पदमप्रसाद दाहालले बताए ।
यहाँको नूनढाकी र मावादीन गाविसमा स्थानीय लिम्बू जातिहरुले आफ्नो पूर्खाको किपट र हामी जिमिवाल भन्दै वनलाई आपुनो नियन्त्रणमा लिएका कारण वनलाई सामुदायिकीकरण गर्न समस्या भएको उनको भनाइ छ ।
जिल्लामा रहेका ३३ गाविस र एक नगरपालिकामध्ये यी २ गाविसका केही भागमा सामुदायिक वनको सम्भावना रहेका यी गाविसका वन व्यक्तिले ओगटेकाले पनि समस्या भएको वन कार्यालयले जनाएको छ ।
सामुदायिक वन गठन गर्न समस्या भएपछि र स्थानीय वासिन्दाले नदिएपछि यहाँको वनबाट स्थानीय बासिन्दा आफैँ पूर्जी लिने र वनको संरक्षण आफैँ गर्ने गरेको नुनढाकी ५ का उजिरमान जिमीले बताए ।
आफ्नो पूर्खाले आर्जेको र जग्गा आपुनो भएको जनाउँदै नुनढाकीका दिलबहादुर लिम्बू भन्छन्- समुदायलाई नदिए पनि हामी वनको हेरचाह गर्नेछौँ । वन क्षेत्र यी गाविसहरुमा बढी भए पनि व्यक्तिगत नियन्त्रणमा रहेकाले समस्या भएको हो ।
व्यक्तिले मनखुशी रुपमा वनको प्रयोग गर्ने र चोरी निकासीसमेत बढेका कारण वन विनाससमेत बढ्न थालेको बताइएको छ ।

सङ्खुवासभा किपट क्षेत्रले सामुदायिकीकरण नहुने जिल्लामा देशकै पहिलो भएको जिल्ला वन अधिकृतको भनाइ छ ।
हालसम्म जिल्लामा २६७ वटा वन समुदायलाई हस्तान्तरण गरिसकिएको छ । यसमध्ये २४ हजार ३७६ परिवार सामुदायिक वनमा आबद्ध रहेको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ जिल्लाको जम्मा क्षेत्रमध्ये १२८० दशमलब २ वर्ग किमी वन क्षेत्र रहेको छ । यीमध्ये ३७ प्रतिशत वन समुदायमा हस्तान्तरण भइसकेको छ ।
जिल्लामा वनको तथ्याङ्क अनुसार यहाँ १४ प्रतिशत बुट्यान रहेको छ ।
जसमा ४ सय ८१ दसमलब ५ वर्गकिलोमिटर र ३ प्रतिशत घाँसेमैदान ५४ प्रतिशत वन क्षेत्र रहेको छ ।
गोरखापत्र साउन २८

No comments:

Post a Comment