P-पेटिएन्स अर्थात् धैर्य ः धैर्य सफलताको सबैभन्दा ठूलो हतियार हो । धैर्य छ भने स्वाभाविक रूपमै नकारात्मक विचार आउँदैन । मलाई अवसर प्राप्त भएन, यदि मेरा छोराछोरी पढाइमा राम्रो भैदिएको भए ? श्रीमान्को जागिर छैन ? आदि बिलौना गरेर मात्र केही प्राप्त हुँदैन । यस्तो अवस्थामा पनि धैर्य धारण गर्ने वा परिस्थितिसित लड्ने हो भने चिन्ता घटाउन सकिन्छ ।
O-अप्टिमिस्टिक अर्थात् आशावादी ः आशावादीले नै सफलताको बाटो पहिल्याउँछ भने निराश व्यक्ति कुण्ठित हुन्छ। यसपटक अवसर मलाई नै प्राप्त हुन्छ भन्ने सोचको विकास गर्नु जरुरी छ । मेरो भाग्यमै छैन, सबैलाई मबाटै टेन्सन छ, म कुनै काम लाग्ने व्यक्ति होइन, म सबैमाथि बोझ हुँ, भन्ने सोच बनाउनु ठीक होइन । आशावादी बनेर वस्तुस्थितिलाई हेर्ने प्रयास गर्नुपर्छ, सबै कुरा सहज, सरल र सम्भावनायुक्त देखा पर्छन् ।
S-सेटिस्फेक्सन अर्थात् सन्तुष्टि ः जुन बेला आफ्नो मनमा सन्तोषको भाव जन्माइन्छ अनि तपाईं सकारात्मक सोच बनाइन्छ र अनावश्यक तनावबाट जोगिइन्छ । जे-जति प्राप्त भएको छ र जसरी प्राप्त भएको छ, त्यसमा सन्तुष्ट हुनुपर्छ, सन्तोष मान्नुपर्छ। 'सन्तोषम् परमं सुखम्' भनेझैं प्राप्तिबाट सन्तुष्ट भै सुखको अनुभव गर्नुपर्छ । यद्यपि सन्तोष त्यो प्राप्तिका लागि हो, अघि बढ्नु अझ आवश्यक छ भन्ने सोचलाई पनि जीवित राख्नुपर्छ । मनोचिकित्सकहरूका अनुसार अवसादको स्थितिबाट जोगिने एक मात्र उपाय सन्तोष हो ।
I-इन्स्िपरेसन अर्थात् प्रेरणा ः हरेक व्यक्ति आफ्नो जीवनमा कोही न कोहीबाट प्रेरित हुन्छ। ती व्यक्तिलाई प्रेरणाको स्रोत मान्नुपर्छ जसले जीवनलाई उत्सवका रूपमा मनाउन जानेका छन्। हरेक व्यक्तिमा केही राम्रा पक्ष हुन्छन्। कोही व्यवस्थित हुन्छन् त कोही धैर्य धारण गर्दै सकारात्मक सोच राख्छन् त कोही जागरुक हुन्छन्। आफ्ना राम्रा पक्षबाट प्रेरित भएर सकारात्मक भाव जन्माउन अग्रसर हुनुपर्छ ।
T-टार्गेट अर्थात् लक्ष्य ः यदि आफ्नो लक्ष्य निर्धारित छ भने कहिल्यै निराशा वा असफलताको मुख हेर्नु पर्दैन। आफूले के काम गर्नुपर्छ, कस्तो घर बनाउनु छ, कुन ठाउँमा बस्नु छ, भन्ने निर्धारण गर्नु आवश्यक छ । बाँकी काम सजिलै सम्पन्न हुन्छ। साथै यसको विकल्प पनि तयार राख्नुपर्छ। लक्ष्य स्पष्ट छ भने त्यसको प्राप्ति पनि सहज हुन्छ। तर म इन्जिनियर बनिन भने चिकित्सक बन्छु वा संगीतमा लाग्छु, त्यो पनि भएन भने टिचिङ गर्छु नभए घरेलु जीवन जिउँछु भन्ने खालको लक्ष्य भने बनाउनुु हुँदैन।
I-आइडल अर्थात् आदर्श ः आफ्नो व्यक्तित्वलाई यसरी निखार्नुपर्छ कि अरूका लागि त्यो एक आदर्श बनोस्। कठिन परिस्थितिमा पनि आफ्नो मानसिक सन्तुलन कायम राख्नुपर्छ । हरेक स्थितिमा खुसी रहने, अरूको सुख-दुःखमा सहयोगका लागि तत्पर रहन हो भने आफू कोही आदर्श व्यक्तिभन्दा कम भइँदैन । हामी आफ्ना गुरु, आमाबुवालाई आदर्श किन मान्छौं ? पक्कै उनीहरूमा आफूलाई प्रभावित गर्ने गुण र विशेषता छ । यस्तो हो भने आफू पनि अरूका लागि आदर्श बन्ने प्रयास किन नगर्ने ?
V- भिक्टर अर्थात् विजेता ः विजेता बन्न आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ । सफलता प्राप्त नभए पनि निराश हुनु हुँदैन । पुनः पूर्ण जोस-जाँगरका साथ थप परिश्रमका साथ लक्ष्य प्राप्तिका लागि जुट्नुपर्छ । हार-जित जीवनभर चलिरहने प्रक्रिया हो। हारमा निराश हुनु तथा जितमा बढी खुसी र सन्तुष्ट हुनु उत्तिकै हानिकारक हुन्छ तसर्थ सफलता-असफलता व्यवस्थापन गर्न जान्नु आवश्यक छ ।
E-इजी अर्थात् सहज ः जो सजिलै बाँच्छन्, तिनलाई नकारात्मक विचारले कहिल्यै घेर्दैन। बनावटी जीवन बाँच्नुभन्दा वास्तविकतामा जिउने प्रयास गर्नुपर्छ । यसबाट जीवनमा आइपर्ने कठिनाइहरूको सामना गर्न सकिन्छ। घरपरिवारदेखि प्रोफेसनल जीवनसम्म सहजता आवश्यक छ। असहजता सफलताको मार्गमा बाधक मात्र होइन, यस प्रकारको व्यवहार अरूलाई समस्या हुन सक्छ र उनीहरू आफूबाट टाढिन्छन्। सामाजिक व्यवहारमा सहजता अत्यन्त आवश्यक छ ।
No comments:
Post a Comment