Monday, August 9, 2010

कबिता

-आचार्य प्रभा
"जिन्दगी पनि त भूगोल हो "
हो ठक्कर लाग्छ
लडिन्छ
त र अवश्य उठ्नु पर्छ
कसैले पनि /
लड्नु अन्त्य होइन
ठक्कर लाग्नु अभिश्राप पनि
होइन ,
यो त जीवनको पहाड
चढ्नु र उत्रिनुको खेल हो
किन कि जिन्दगी पनि त
भुगोल हो ,
यहाँ असंख्य पहाडहरु छन
समतल मैदानहरु पनि छन्
लेक,बेंसी पनि छन्
जुन मान्छेको दु:ख,सुखको
पर्याय बनेर उभिएको छ ।
असंख्य नदिनालाहरु पनि छन्
जो खुशी र सुखको अश्रुधारा बनेर
बगिरहेकोछ
दु:ख र ब्यथामा
उर्लिएर बहुलाई रहेछ /
हो यो हुनु पनि
जिन्दगीको भूगोलको
नमुना हो
त्यसैले ........,
हार्नु हुन्न कसैले पनि
थाक्नु हुन्न कसैले पनि
बस,सम्झनु पर्छ जीवनलाई
हरियाली र सौन्दर्यताको
संयोजनको प्रतीक
जिन्दगी भूगोलको
एक हिस्सा ,
जहाँ उतार चडावको खेती हुन्छ
दु:ख,सुखको बाली पाक्छ
आसुँको असारे झरिले
सिंचित गरिन्छ ,
ब्यथा र पीडाको घनले
समस्याको पहाड फोडिन्छ ।
हो त्यसैले त जिन्दगी
भूगोल हो .......

No comments:

Post a Comment