Subscribe to:
Post Comments (Atom)
- आचार्य प्रभा
आकाशको जूनजस्तै टल्किदिन्छु म त
मीठो माँया पाएँ भने पल्किदिन्छु म त ।
चाहिन्न है हिरा मोती अँगालोमा बाँध
होइन भने डडेलो झैं सल्किदिन्छु म त ।
सम्झनामा आइे राख्नु नबिर्सनु मलाई
तिम्रो काख दियौ भने ढल्कि दिन्छु म त ।
भुल्ने कष्ट नगर है मनैभित्र राख
बिर्स्यौ भने आँखाबाट छल्कि दिन्छु म त ।
बिर्सिएर कँहि कतै भाग्न खोज्यौ भने
सपनीमा भएपनी झल्किदिन्छु म त ।
रचना -जुलाइे/ ७ /२०११
१. स्थान परिचयः
दिनमा यी माकुराहरु
ढुङ्गा मुनी बस्दछन्
भए समुन्द्री तटको चिसा बालुवा खोज्छन्
कोही जँगल अर्थात लेकमा रमाउछन्
कोही शहरका अमिला बोटहरुमा बस्छन्
र झर्छन कहिले काँही शहर तिर
यिनीहरुको रङ्ग हेरेर स्थान परिचय मिल्छ ।
२. रङ्ग, हुलीयाः
ऋतु अनुसार
यिनीहरु छेपारका जस्तो काँचुली पनि फेर्छन्
प्रायः राता, खैरा र फुस्रा हुन्छन्
३. उच्चाईः
अन्दाजीमा अन्दाज लगाउनु पर्छ
बेला कु–बेला घट्ने बढ्ने गर्दछन्
४.आकार प्रकारः
मोटो-दुब्लो पातलोमा हुन्छन्
ससक्त आठवटा खुट्टाहरुले
थाहै नपाई हाम्रा मस्तिष्क टेकि दिन्छन्
५. बानी बेहोराः
प्रायः यिनीहरुले उडेर टोक्छन्
उड्दा कहिले आफै पछारिन्छन्
कुकुर जस्तो झम्टन्छन् पछि फेरि विरालो बन्दछन्
बिषालु ¥याल झार्छन्
६.रोगथामः
टाढै बस्ने सकेसम्म
माकुराले टोक्या भए
यस्को इन्फेक्सनको रोगथाम
यही कविता हो /
क्षीतिजमा उभिएको जीवन
टाकुरा जस्तै हाँसेको छ
यो त हिमाल वारिकाले भन्ने हो।
स्वंयम त्यो क्षीतिज भन्दा
समिप त को नै छ र,बुझ्छ
क्षीतिजले-क्षीतिजलाई जसरी
त्यसैको आड्मा हाँसेको जीवन
यो पनि टाढाकाले भन्ने हो
स्वंयम जीवन भित्र त को नै
पस्न सक्छ र,बुज्छ
जीवनले-जिबनलाई जसरी
भिर थियो र गुराँशको
जीवन महत्वको छ
यो भिर संगै जिउछ।
गुलाब भन्दा सुन्दर
अरु कति छन् कति फूलहरु
तर गुलाबसँग काँडा छ
अनी त यसको जीवन,महत्वको छ।
दिनका बग्ग्रेल्ती जीवनहरु
रातमा सबै मरेतुल्य हुन्छन्।
पलाँस पनि अँधेरीमा सिस्नो लाग्छ
यसको जीवन त प्रकाशमा जिउछ।
केही बिनाको कोहि महत्वहिन छ
र कोहि बिनाको केही पनि त्यस्तै छ।
तैपनी म रातमा फुल्छु-रातमै जिउछु
केही बिनाको कोहि जस्तै,
र कोहि बिनाको केही जस्तै।
चुरा बज्दा झस्काउने, अनौठो त्यो रात थियो ।
हिजो को हो को हो आज, हात माथि हात थियो ।
मेरो मनमा पसी हेरे, थाहा हुन्थ्यो कि त उसलाई,
डरको डेरा संकोचको, एउटा ठुलै खात थियो ।
सिन्दुर लायो कसम खायो, सातै जन्म साथ दिने,
आफ्नो हक जताइहाल्यो, मर्दको न जात थियो ।
सुनसान भयो बातावरण,आँधीहुरी चल्ने हो कि?
यता डर सुनामीको, उता मेरै मात थियो ।
डर त्यागें जसो तसो, सम्हालें यो मनको हुरी,
तन सुम्पे मन सुम्पे, सुम्पे जे जे साथ थियो ।
दुर्गम गलछेंडाहरुको सकसपूर्ण चेपबाट
दूरस्पर्शित - सुवाशीत
अफ्ठ्यारो ठाउँमा फूलेकी भिर फूल तिमी
मेरो अनकन्टार गनतब्यहिन यात्राको
कष्टकर पदचापहरुमा टाढैबाट
तिम्रो चाहनाका एक बथान रहरहरु-खुशीहरु
सुकोमल पाइला मिलाउने अभिलाषा जाहेर गर्दैछन्
एक छाती हार्दिकताको मन बोकेर यतै आऊ
अब यो कोप्चेरो बाटो सँगै हिंडौ !
सुदू............र बस्तीबाट
प्रतिद्वन्दी मनहरुको कोलाहलपूर्ण भिडमा
घातप्रतिघात ले जिन्दगीको निर्वाचन हारेर
म देखी छुटेकी - अलमलिएकी तिमी
आथाह - अज्ञात यात्रामा निस्केको
फगत एक्लो पथिकलाई हिंडी सघाउन
लालायित मनोबान्छाको सन्देश पठाउँदैछ्यौ
पवित्र प्रेमाशक्तिको सुसेली हाल्दै
यसर्थ तिम्रो पनि बह, मेरो जस्तै छ
तिमी नै मेरो आस्थाकी प्रतिमूर्ती हुन सक्छ्यौ
मेरो कठिन यात्रा को भरोसा बनेर
विश्वास को धरोहर हात समाऊ
जिन्दगीको घनघस्या सँगै उक्लौं !
तिमी मेरी हौ,... होइनौ,... दुबै सपना जस्ता लाग्छन्
जब, अनिदा रातहरुको झ्यालखानामा
तिम्रो सुमधुर सम्झनाका सिपाहीहरुबाट
निर्घात पिटिन्छु म
एकलासे सन्नाटाका कैदी घरहरु फोरेर
आजादीको दुहाई माग्दै यो मन
तिम्रै आत्मा-आवरण वरिपरी
स्वच्छन्दोन्मुख कावा खोज्छ
सुक्ष्मातिसुक्ष्म मुटुका कर्णहरु
सत्य श्रवणानुभूती महशुस गर्छन्
मेरो अर्धबेहोस अवस्थाका यात्राहरुमा होश जगाउन
तिम्रा चुराहरुमा जाग्ने रोमान्चकारी ध्वनी
र, तिम्रा आवाजहरुमा गुन्जने जादुगारी फोहरा
टुप्लुक्क-टुप्लुक्क आइरहन्छन् आँखै अगाडी
तसर्थ, यही असहज यात्रामा जीवन को सत्य भेट्नेछ्यौ
आऊ, सातु सामल पोको पारेर
हाम्रा बेमेल घुम्तीहरु एकसाथ छिचोलौं !
तिम्रो सामिप्यता कल्पित आँखा ले यतिबेला म देख्दैछु,-
पहराबाट एक हूल गुराँसका थूङ्गाहरु
तिम्रो ओठमा फूलेको लालित्यदेखी जलेर
इर्ष्यालु बिरोधपत्रहरु लेखिरहेछन् धमाधम
काँढै काँढाको शैय्याबाट गुलाबका पत्रहरु
तिम्रो गालाका खोपिल्टाहरुमा डाह डाम्न
असन्तुष्टीका ज्ञापनपत्रहरु पेश गर्न उद्दत छन्
श्रष्टाका जुनाफ मा !
त्यसो र ,
यदी तोड्न सक्छ्यौ भने
पराई अधिनस्थ सिमाबन्धन
च्यात्न सक्छ्यौ भने
जिन्दगीका असम्बद्द सन्धी सम्झौता
समय ले जबर्जस्त लादेका आचारसंहिता उपर
नयाँ प्रेमिल अध्यादेश जारी गर
विषमता पछीको सुगमता त्यहीं हुनेछ
आऊ, नर्थ पोल र साउथ पोल को
एउटै गनतब्य बनाऔं
विपरित ध्रुब बाटै भए पनि
पिरती को सगरमाथा सँगै चढौं
मनले,..मुटुले,..मायाँले.......
जिन्दगीको असहज यात्रा सहज बनाऔं !!!
जोत मलाई ओसिलो
भावनाको सिमसार हरुमा
लगाई देउ बिजहरु
सुख्खा ती मैदान हरु मा
उम्री दिन्छु निस्पक्षले
बर-पिपल झै साझा चौतारी मा ।
नजोत मलाई बेकार
ओसिलो ति मैदान हरुमा
नलगाउ भावनाको बिजहरु
ओसिला ती मैदान हरुमा
मर्ने छन तिम्रा बिजहरु
अनि,
रोउला-हाँसौला पागल सरि
मर्दा ती बिजहरु
नफल्दा ती बिजहरु
नसर्दा ती बिजहरु ।
मलाई तिम्रो ओसिलो
भावनाको सिमसार चाहियो
मैले जोत्ने ठाँउ भने
सुक्खा खाली मैदान चाहियो
किनकी म बिरुवा हुँ ।
तर,
उ बिरुवा होईन
मात्र एक मौसम लाई
म तिम्रो भावनाको बिज हुँ
बाह्रै मास फल्न चाहन्छु
फुल्न चाहन्छु
म तिम्रो सन्देश हुँ
पुग्न चाहान्छु
म तिम्रो बम हुँ
फुट्न चाहान्छु
उहि संबन्धित काहाँ,
लजावती झार होईन
म ।
ओसिला ती सिमसार बाट
भावनाको बिजहरु
खाली खरेडी त्यो मैदान मा
हिम नदी झै स्वाछ बग्दा
बिच बाटोमा रोकिएँ भने
फाले हुन्छ
थुक्ने ठाँउमा हाले हुन्छ
टोके हुन्छ
पथ्थर मा ठोके हुन्छ
भँचाए हुन्छ
फुटाए हुन्छ
रोए हुन्छ
कराए हुन्छ ।
किनकी मैले गल्ती गरेँ !
तिम्रा भावनाको बिजहरु
छर्न नदिएर
भर्न नदिएर
.......बन्न नदिएर
....... भन्न नदिएर ।
हिम नदी झै बग्दै गर्दा
बिच बाटोमा मोडिएर
बिष को बिज छरे पछी
आत्मा घाती बने भने
नफ्याक्नु मलाई
थुक्ने ठाँउमा
नरट्नु मलाई
फुट्ने ठाँउमा
नपछार्नु मलाई
टुट्ने ठाँउमा
यो तिम्रो गल्ती हो !
किन जोत्यौ बेमौसममा
किन छर्यौ बेमौसममा ।
सक्छौ भने,
तिमी निर्मल भावनाको बिज लगाउ
म भनी दिउला
म बनी दिउला
म सुनाई दिउला
म पुराई दिउला
म मारी दिउला
म सपारी दिउला
म भात्काई दिउला
म बनाई दिउला
म कमाई दिउला
म रमाई दिउला
अरु के के गर्नु पर्यो ?
भ्रस्टचार पनि गरी दिउला
मात्र मलाई मौसम मा जोत
सब थोक गरी दिउला,
किनकि
म कलम हुँ !
हराउन चाहन्न, डराउन चाहान्न
तिम्रो निर्मल ती बिजहरु लाई
नलुकि, नझुकि, र नदुखी
उस्को सामु
........बन्न चाहान्छु
........भन्न चाहान्छु !!
सत्यताको परिभाषा
खै! कसरी ......,
च्यातिएछ कुन्नी ?
हर आत्मा,हर आवाज,
हर माटोका कण कणमा
असत्यको हाबीले राज गरेको छ
आखिर मान्छे तिनै हुन,
धर्ती उही हो.........,
सबैको छानो आकाश
उसरी नै लमतन्न
तन्किदिएको छ
म्रित लाश झैं
तर पनि.......!!!!!
हर सोंचमा असत्यको
दुर्गन्ध बाफिएको छ /
आउँछ हर महिना
बार्हको गन्ती छिचोलेर
नयाँ बर्ष बनी
मनहरु उत्साहित बन्छन्
क्षणभरलाई.......,
तर देश उस्तै,हालत उस्तै
बिचार उस्तै,ब्यवहार उस्तै
अनी त......
उही च्यातिएको परिभाषा
ठिंग उभिदिन्छ सबैको सामु
फेरि... उत्साहित बिचारहरुमा
निरीह धमिराले फोस्रो घर
ठड्याउन थाल्छन् ,
ति धमिरारुपी तागतहरु
फेरि उही फोस्रो घरसंगै
ढल्छन्,
गर्ल्यामगुर्लुम.......,
अनी त उही ...
च्यातिएको परिभाषा ओढ्न
बिवश बन्छन् हर नाँगा
मनहरु ।
-आचार्य प्रभा
पढ तिमी
सबका मुहारका
अक्षरहरु,
पाउनेछौ सबै
अनुहारमा
घ्रीणा,इर्ष्या,जलन,
रिसका काला बर्णहरु /
मात्र हुनेछन त्यहाँ
द्वेश्,कलह र
आवेगका सम्भावनाहरु
किन कि पाइरहेछन
ति मुहारहरुले
केवल झुटा ढाडसका
शब्दहरु ।
हो देशको आँगनभरी
सुकाइेका हुन्छन झुटा मान्द्राहरुमा
आश्वासनरुपी बचनहरु
जनतालाई भुर्र उडेर जाने
पंक्षी ठानेर ।
हो,पँक्षी मान्नुको अर्थमा
ठानिरहेछन् जनतालाई
केवल अबोध प्राणी
अनी सोंचिरहेछन
ती पट मुर्खहरु
आफुलाई स्वाभिमानी/
कसैको मुहारका अक्षरहरुले
न त उनिहरुलाई
पढ्न वाध्य बनाएको छ,
भाग्यवश पढेता पनि बुझ्न
असमर्थ गराएको छ
किनकी उनिहरुले
पढ्ने गरेका बार्हखरिहरुमा
ति मुहारमा झल्कने बर्णहरु नै
कहाँ छन र ?
संजोगबस बर्णहरु भएपनी
मनका चस्माहरु
ती बर्णहरु पढ्न असमर्थ छन
यसैले लाग्छ,
यो देशमा ती अक्षरहरु
पढ्ने सामर्थ्यवान आँखाहरुको
खाँचो छ/
ति अबोध मुहारहरुका
बर्णहरु फेला पार्ने पारदर्शी
चस्माहरुको शक्ति दुर्लभ छ
अनी ती अनुहारहरुको नैराश्यता
पढ्ने मनहरुको अभाव छ ...
त्यो गुलाफ फूल, गाढा रंगको मुटु झैँ रातो,
जुन दिन तिमीलाई, त्यो फूल उपहार दिए |
तिमी अचानक लाजले रातो भएका थियौ,
सम्झ त ति पलहरु, सम्झ त ति क्षणहरु |
त्यो नै हाम्रो पहिलो भ्यालेन्टाइन डे थियो,
त्यो गुलाफ फूल नै मेरो पहिलो उपहार थियो |
तिमी मेरो, म तिम्रो हुनेछु भनि प्रण गर्दै,
सर्वांग जीवन गाथा सुम्पिएको मेरा भावनाहरु |
गुलाफ फूलका पत्रहरु मायाको केस्रा ठानी,
प्यारो अंगालोमा बाधिएका न्यानो आवेगहरु |
त्यो तिम्रो कोमल अधर चुम्दा खेरि,
अंग अंगमामा फैलिएका झट्का तरङ्गहरु |
कहिले त्यो सुन्दर मनोरम प्रकृतिहरूबिच त,
कहिले कलकल खोलाको सुमधुर ध्वनि सुन्दै |
देवी देउताका मठ मन्दिरहरुमा प्रार्थना गर्दै,
कहिले नछुट्ने बाचा अनि पिरतीका कुराहरू |
ति राता गुलाफ फूलले, हाम्रो भावना साटिए पछि,
सदाबहार झाँगिएको, हाम्रो यो सफल प्रेम कहानी |
पल पल "आइ लभ यु" शब्द संगै, सिंगारिएको हाम्रो मन,
सदा सर्वदा आई रहनु, मायाका प्रतिक प्रेम दिवसहरु |
धन्यवाद छ, प्रेम दिवस, ह्यापी भ्यालेन्टाइन डे,
संसारका करोडौ युवायुवतीहरुको हृदयको ढुकढुकी |
बी माई भ्यालेन्टाइन, यु आर माई भ्यालेन्टाइन,
जन्मी रहुन् मायाका खानी, सच्चा भ्यालेन्टाइनहरु |
आचार्य प्रभा
दोहोरिन्दै बालापन फेरि आए हुन्थ्यो
उमेरले नयाँ जूनी फेरि पाए हुन्थ्यो ।
बालपनको चोखो मन अब कहाँ मिल्छ ?
मनभित्र सुकुमारी उमेर धाए हुन्थ्यो ।
रहरको खेती पनि कत्ती गर्नु हरे !
सपनामै भए पनि मीत लाए हुन्थ्यो ।
तारा बाजी, भाँडाकुटी खेल खेल्दै आज
बर्तमानले अतीतसँग कसम खाए हुन्थ्यो ।
फर्किएर शैशवकाल आउँदैन फेरि
चन्द्रमा झैँ किरण बनी फेरि छाए हुन्थ्यो ।
क्षणिक हाँसो नदेउ मलाई
बरु आँसु नै देउ
रुन म सक्छु
क्षणिक माया नदेउ मलाई
बरु धोका नै देउ
स्वीकार्न म सक्छु
क्षणिक बिस्वाश नदेउ मलाई
बरु घात नै देउ
सहन म सक्छु
क्षणिक साथ नदेउ मलाई
बरु हात नै छोडी देउ
एक्लई जिउन म सक्छु
- सञ्जय राई 'छुच्चा
''फुल र ईश्वर'
धेरै मान्छेहरुको
मन-मनमा फूल्ने
देवकोटाको नाम जस्तै
म, एउटा फूल।
आफ्नै महिमाको पत्तो छैन,यध्यपी
कहीले मन्दिरमा
कहीले अर्तीमा(लाश)फ्याँकिन्छु।
अझै देवकोटीय बाणीमा
म,चढाइन्छु।
देवकोटाले तँकार लगाएको ईश्वर
थाहा छैन को हो? के हो??
तर तिमीकार लगाएर
ईश्वर हौ-भनेको मान्छेले
बनाएको
ईश्वरको
नाम र जात झैं
मेरो पनि फरक महिमा छ
ठाँउअनुसार।
देवकोटाले तिमीकार लगाएर
ईश्वर हौ-भनेको मान्छे,
लालसाको खाडलमा आफैलाई पुरेर
ईश्वर खोज्न समर्पित गर्छ
आफुलाई ढुङगाहरुमा।
र
स्वंयम धार्मिक त बन्छ
तर एउटै फूललाई
मन्दिर र अर्तीमा राख्दा
फरक महिमा र बिभाजीत सोच
दिन भने चुक्दैन।
थाहा छैन
यो मान्छेको देवकोटाप्रती अनादर हो।
र
यो पनि थाहा छैन
देवकोटाको मानवताप्रती बिराट आदर!
रहस्य भित्रको मन्दिरमा
एउटा पथ्थर छ,जो
देवकोटीय ईश्वरको पनि ईश्वर हो।
जस्ले मान्छेभित्र बिभाजन गर्छ मान्छेलाई,
धर्म र पापको नामले।
आस्तिक र नास्तिकको नामले
अनी यस्तै-यस्तै अरु धेरै नामहरुले।
धन्य,देवकोटा!
पानी माथि नलेखेर न्याय गरेकोमा-
नत्र तिम्रो ईश्वरको
तन र जीवनको मैलो बोकेर
सडक,गल्ली,नाली हुँदै गंगा पुगी
गंगाजल बन्न हम्मे पर्थ्यो,
पानीहरुलाई।
जसरी अर्तीमा चढाएको फूललाई
मन्दिरको प्रसाद बन्नबाट
बर्जित गरेको छ
तिम्रो ईश्वरले।
इतिहास,
त्यो इतिहास विवरणलाई,
जगेर्ना गर्ने प्रयास गरौ |
ताकी हाम्रो सन्तति,
नया पिढीले जान्न बुझ्न सकुन् |
एउटा आख्यान छ,
"इतिहास भनेको जित्नेको हो"
जित्नेले आफ्नो अनुकुल इतिहास लेख्छ |
हार्नेको अस्तित्व मेट्नलाई,
अरुको सर्वस्व लुट्छ |
यहि लुट्ने क्रममा,
हार्नेको संस्कृति र धर्ममा आक्रमण गर्छ |
जबर्जस्ति आफ्नो प्रभुत्व जमाउनलाई,
जताततै आफ्नो वर्चस्व गराउनलाई |
मानिसको नाम,परिवार, टोल, गाउँ देखि
राष्ट्रको नाम सम्म परिवर्तन गर्ने गर्छ |
तर,
म भन्छु इतिहास सबैको हो |
त्यो इतिहासको जगेर्ना गर्नु पर्छ,
संस्कृति र परम्परालाई,
अझ निरन्तरता दिनु पर्छ |
ताकी,
भोलिका दिनमा सबैको अस्तित्व जान्न सकियोस् |
म चाहन्न कि,
यो कुराहरु म्युजियमहरुमा खोज्न नपरोस्
सिर्फ किताबका ठेलीमा मात्र पढ्न नपरोस् |
ए इतिहासकारहरु !
किन यस्तो लेख्ने गर्छौ ?
जुन अस्वाभाविक र असत्य छ |
यो निर्जीव कलम र कागजको,
सफा पन्नाको इज्जतमा दाग नलगाउ |
अरुको अस्तित्व मेटाउनलाई,
कलम र कागजको सहारा लिने,
इतिहासकार स्रष्टाहरुलाई,
उल्टो पल्टो लेख्ने अधिकार छैन |
सत्य सधै विजयी हुन्छ,
झुटा कुरा लेख्नेलाई,
कदापी माफी मिल्ने छैन |
इतिहास भनेको आधार हो,
यसको सदा संरक्षण गरौ |
डिसेम्बर २०१०
(दोषको भागीदार नेता जनता द्वय ) - आचार्य प्रभा
नेताको मात्र /होइन यहाँ /जनताको पनि /दोष छ
बिवेक बुद्धी /मासेर खाली /आतंकको मात्र/ जोश छ ।
उट्पट्याङ् मात्र/ टाउका भरी/ बोकेर नै हिंड्ने /जनता
नेताले भने /उन्नती गर्ने /मात्र खाली यहाँ/उद्घोष् छ
उन्नती हेर/ केही नै छैन /भाषण र बिरोध/ मात्र छ
सत्ता र कुर्सि/ अधिकार् मात्र /भेट्न नै सबको /होस छ ।
कर्तब्य आफ्नो/ नभए पनि /अधिकार सबै/ खोज्दछन्
डर र धम्की/ बाहेक अरु/ नेपालीमा धेरै / रोष छ ।
बनेको सबै /बिगार्न मात्र /जानेका छौं हामी /जनताले
सद्बुद्धी भने/ कसैको छैन/ मनभित्र केवल् /आक्रोश छ ।
फुल्ने रहर थियो सपना, फुलाउनै सकिन।
भुल्ने रहर थियो अतित, भुलाउनै सकिन।
घोट्नु थियो हत्त्केला, खियिसक्यो नंग्राहरु
क्षण भरीलाई पुग्ने खुशी, हुलाउनै सकिन। / सजाउनै सकिन।
कहिले मन हाँस्दो हो त, कहिले रुँदो पनि
गुम्सी बस्ने मनकोबेदना, खुलाउनै सकिन।
अल्झी बस्छ रहरहरु, तगारोबनी दोबाटोमै
झस्केर दुख्दा मनकोरहर, डुलाउनै सकिन।
ओइली झर्योसुशिको मन, फुलाउनै सकिन।
भुल्ने रहर थियो अतित, भुलाउनै सकिन।
हत्याराभन्दा क्रॊधित हुँदै गएको छ
एकाएक हतियारको अनुहार ।
बधशालामा युद्धमैदानमा भान्साकोठामा…
ज-जसले गरे दुष्प्रयोजन
हिटलर सद्दाम बुश लादेन साधु युद्धसरदार
जो-जो सुसज्जित एवं सुरक्षित रहे
थुप्रै मारिए जो आर्फै मर्न सक्षम थिए
थुप्रै मारिए उनीहरु पनि हतियार चलाउन जान्दथे
सोचिरहेछ हतियार
पुर्पुरो-धारमा राखेर खुनी हात
र झन् झन् धारिलो भइरहेछ ।
एउटा राज्यसित लाखौं घोडचढी
एउटा कमाण्डरसित बथान-बथान घोडा
एउटा सैनिकसित औसत एउटा बन्दुक
एउटा अपराधीसित कमसेकम एउटा छुरा
एउटा सन्तसित पुग नपुग एउटा ब्लेड
प्र-एक मान्छेसित दु-दुइटा ज्यानमारा हात
सा … साला !
एउटा हतियारसित के हुनसक्छ ?
हतियार सम्झिरहेछ आफ्नो निरीहता
तथा हत्याराहरुको धन्दा…।
लडाइँमा जानुअिघ
किन त्यति माया गर्छन् सैनिकहरुले ?
चुम्छन् सफा गर्छन् र न्यानो बाहुपाशमा बाँध्छन्
मानौं प्रेमिल छु उनीहरुका पृयशी भन्दा
जङगलमा/सहरका एकलास कुनाकन्दरामा
मलाई नै आलिङ्गन गर्छन् आतङकवादीहरु
के फूलभन्दा स्वप्नील छु ?
धुमधाम पूजा गर्छन् मेरो, बगरेहरु पर्वहरुमा
कि भगवानजत्तिकै पाखण्डी छु ?
हतियार आफ्नो अनुहार हेरेर
आफैंलाई प्रश्न गरिरहेछ ।
हत्यारा इश्वरले मार्दछ मेरो मस्तिष्क
र किन सुम्पन्छ बादशाहको हातमा
अन्धाधुन्द प्रहार गरिरहेछ जो मलाई निर्धोमाथि
के हुन्छ हालत उसको
यदि बाँच्यो भने मेरो मस्तिष्क…?
हतियार
बादशाहभन्दा क्रूर भइरहेछ ।
रगत खिया शिवाय केही होइन मेरो खातिर जान्दछु
आँशु पीडा शिवाय केही होइन मेरो खातिर जान्दछु
तर बज्रनै पर्छ किन गर्धनहरुमा
पड्कनै पर्छ किन कोखाहरुमा
जान्दछु रगत खान्र्छ इश्वरले
त टोकोस् आफ्नै शरीर
जान्दछु बादशाहलाई मन पर्छ मनुवा-मासु
त चुसोस् आफ्नै ह्याकुलाहरु
जान्दिन किन भयभित छन् -मसँग मान्छेहरु ?
हतियार छिन् छिन् विद्रोही भइरहेछ ।
हो यस्तै हो भने-
हतियार आफँ हत्यारा हुन सक्छ जुनैदिन
३ आत्महत्या गर्न सक्छ
२ हत्याराहरुकै हत्या गर्न सक्छ
१ हत्याकै हत्या गर्न सक्छ
० केही पनि नगर्न सक्छ
चुपचाप खेलाइरहेछन् हतियार जो जो
उनीहरुले उपरोक्त सम्भवनाहरुलाई बुझ्नुपर्छ…
- आचार्य प्रभा
झरें भने नटिप्नु है फूल सम्झी मलाई
सक्छौ भने बिर्सिदिनु भूल सम्झी मलाई ।
बन्नसक्छु शायद म जिन्दगीकै तगारो
बिझें भने सराप्नु है शूल सम्झी मलाई ।
बिर्सिदिनु सदालाई तिम्रो हर खुशीमा
बगाउनु आसुँ धारा मुल सम्झी मलाई ।
मनलाई बाँधेर नि त्याग्न सक्छौ तिमीले
आँटगरी तरिदिनु पूल सम्झी मलाई ।
धेरै धेरै आँखाहरु बाटो छेक्न आऊलान्
भुले हुन्छ ति मध्येको हुल सम्झी मलाई ।
होसियार !
डर राख्ने गर बाठो हूँ भन्ने
ए मानव !
भित्ताका पनि आँखा हुन्छन्
सुन्ने कान पनि ।
बेअर्थको छ
बेतुकको चलाखी तिम्रो
खुबै सावधान छु भन्ने !
क्षणिकको सज्जन मानवको नाटकमा
यथार्थ लुकाउन- छुपाउन सकिन्न
सधैँलाई झूटको जलपमा ।
लाज राख्ने गर सज्जन भनाउदो
ए स्वघोसित महोदय !
नाङ्गिने नगर निर्लज्ज निर्वस्त्र भएर
तिम्रो अघिपछि, वरपर
आँखाहरु, कानहरु
कहीँ भित्ता बनेर
कहीँ हावा बहेर
कहीँ आवाज भएर
कहीँ आत्मा बनेर
सूक्ष्मातिसूक्ष्मरूपमा
तिम्रा सारा कर्तूतहरुलाई
नियालिरहेछन्, सुनिरहेछन्
त्यसैले रमाउने नगर
दिवा स्वप्नको भ्रममा नपर
म सधैँ सफल छु भनेर
आफ्ना घृणित पाशविक कार्य
लुकाउन अनि छुपाउनमा
किनकि हत्केलाले घाम छेकेको
इतिहास कहीँ कतै छैन ।
थाहा छ ?
बाठो हूँ भन्ने ए मानव !
मान्छे मारे बराबर
महापाप लाग्छ विश्वासघात गर्दा,
आमाको हत्या गरे बराबर
अक्षम्य हुन्छ इमानदार विश्वासको हत्या ।
सायद तिमीलाई थाहा हुनुपर्छ
कुकर्मको बदलामा
पाइने लात र रापको स्वाद !
त्यसैले भ्रमलाई छोड
आँखा खोल, कान खोल
होसमा आऊ
लोकलाज राख्ने गर
भागवानसँग डराउने गर
कम्तिमा
आफूलाई विश्वास गर्नेलाई
विश्वासघात नगर
नत्र तिम्रो अन्त्य निश्चित छ ।
होसियार ! होसियार !! होसियार !!!
प्रभूको अदालतमा त्यस्तो इजलास छैन
जहाँ तिमी मनमौजी चलखेलका लागि
साट्न सक्छौ बहसलाई भनेर
पैसाको बदलामा
महङ्गा अनि आत्मारहित वकिलहरु ।
*****
'जुझारु'
- मनु
प्रश्न भित्रै खोजिएको उत्तर
मानव गिदीकै उर्जाले
चन्द्रमा र पृथ्वी बीचको
साईनो फेरिदियो l
मंगल ग्रहको
अनुहार पनि बकिदियो त !
तर यो पुरातन अक्करे भिरमा
हिंड्ने बाटो-म्याद किन बक्दैन???
प्रश्न भित्रै अब उत्तर खोज्छु l
बिनाथुंगाको जीवन
लिम्ची फूल स्वरूप
प्राकृतिक प्रारूप मात्र बोकेर
अरुणको एक अंश खोज्दै
बरुणको पाखै पाखा हाम फाल्दा
कहिले जीवन निर्वाहाका हरेलो डाँडा
कहिले ऐच्छिक सान्त्वनाका छहरे बेशीं
तितो-मिठो मेरो "हाम्रो" वर्तमान l
बाध्यताको ढाकर बोकेर
खकाने कर्तव्यहरु छाँद हाल्नुले
जीवनको साँगुरी भन्ज्याङ
खै कहिले हो ? छिचोल्ने........
घनाघस्यको प्राचिन उकालोमा
म/हामी आदिम मानव
पसिनाको आधेयमा
आत्माभिमानको तोक्मा टेक्दैछु/टेक्छु l
भूतको नंग्राले
वर्तमानको गिदी चिथोर्दा
निको हुन खोजेको छातीको घाउ
उकुच पल्टिएर फेरि दुख्दैछ l
म असैह्या भएरै पनि सहानुभूतिमा
फ्याँङ् फ्याँङ्ती हिड्दैछु.......
सिसिफस यात्रामा
जीवनका आकारहरु खोज्न !
कार्कीनेटा या कार्कीछाप
उस्तै नामका उकालोहरुमा
'भुक्तभोगी' नियतिको पहिरोले
अहिले सम्म पुरिएर
बेसनाखत घिस्रिएकैछु/घिस्रिन्छु l
रक्त नदिहरुले साटिएको
आमाको छाती/शहिदहरुको सपना-भूमि
मेरो/हाम्रो "संयुक्त" कर्म-आरन
यो फाटक उघार्न घिस्रिन्छु....
हिउँ ओढेर सुतेका वस्तीहरु सम्म l
अध्याँरोको 'भ्रम' भोगाईनुले
"भोग्नु" विवाशता हो/होइन l
सुरुंगको अन्त्यमा उज्यालो हुन्छ l
यतिखेर मेरो "हाम्रो" जीवन पनि
त्यही सुरुंगको मध्यभाग
एक पृथक अध्याँरो !
उ ! पल्लो छेउमा उज्यालोको आभाष देखिन्छ/ छ l
ब्ल्याकहोलबाट देखिने मिल्कवे
कोणबाट देखिने = दृष्टिकोण
अब अक्करे भिरको
बाटो-म्याद फच्चे हुन्छ/हुनु पर्छ/हुनेछ l
यहीबाट उज्यालो सल्बलाउँछ.....यसरी,,,,
समान-सम्मान-समागमले समानुभूति
समस्त समाविष्ट हुँदै
यो भू-गोलमा सुलभ-सुवृति जीवन
मानव सहअस्तित्वको पराकाष्ठ हुनेछ/हुनै पर्छ l
लिम्चीफूल = एक बास्नादार बुट्यान
ठाँउको नामहरु
हरेलो डाँडा = संखुवासभा जिल्लामा
कार्कीनेटा = पर्वत जिल्लामा
कार्कीछाप = धनकुटा जिल्लामा
- किरण टी लिम्बु
हात थामी साथ दिंदा बात लाग्यो आज,
चोखो मनलाई बदनामको जात लाग्यो आज ।।
विश्वास गर्दा आफैलाई घात लाग्यो आज,
आफ्नै माया पराई हुँदा अज्ञात लाग्यो आज ।।
बिर्सी जाने निष्ठुरीलाई भूल्नै नसकेर,
बल्झी रहने सम्झनाको खात लाग्यो आज ।।
मदहोशी मुस्कान उनकी नजरले पिउँदा,
यादभरी नमेटिने मात लाग्यो आज ।।
किरण बिना तारा टिलपिल नभएर हो कि?
साँझ पर्दा मेरै पछि रात लाग्यो आज ।।
सगरमाथा शिरको ताज मेरै हिमालमा,
मेची-काली फुलबारी मेरै नेपालमा ||
चार जात छतीस थरि फूल ढकमक,
सौहार्द र सदभावलाई बाँटौँ सारा जग |
ईमानको पसिनामा माटै रमाई दिन्छ,
त्यहि माटोले देशलाई वीर जन्माईदिन्छ ||
सगरमाथा चुचुरा छ मेरै हिमालमा,
मेची-काली फुलबारी मेरै नेपालमा ||
डाँफे चरी हिमालमा गाउँछे मेरै गीत,
मयुर नाच्दै गाउँ-बेंसी लाउँछे माया-प्रीत |
चन्द्र-सुर्य ध्वजा हाम्रो देशको पहिचान,
खुकुरीले वीरताको जोगाई राख्छ शान ||
विजयको लाली छाउँछ मेरै हिमालमा,
मेची-काली फुलबारी मेरै नेपालमा ||
लाली-गुराँस मुस्कुराउँदै छाउँछे बन-पाखा,
न्याउली चरी डाली-डाली गाउँछे मिठो भाका |
ज्यान त मेरो जहाँ भए मन हिमालैमा,
देशकै माटो शिरान हाली मर्छु नेपालैमा ||
विश्व देख्ने सगरमाथा मेरै हिमालमा,
वीर-भूमि शान्ति-भूमि मेरै नेपालमा |
सगरमाथा शिरको ताज मेरै हिमालमा,
मेची-काली फुलबारी मेरै नेपालमा ||
"""""""""""""""""""""""""""
शब्द : किरण टी लिम्बु
No comments:
Post a Comment