Tuesday, July 27, 2010

अपतन अस्ताए\अपतन उदाए


'मैले के योगदान गरेको छु र?' सम्मान-पुरस्कारबाट आफूलाई सक्दो पन्साउन खोज्ने साहित्यकार पदमिसंह सुब्बा 'अपतन' अन्ततः जीवनको महंगो पुरस्कार 'मृत्यु'ले पुरस्कृत भए । मृत्युले उनको योगदानलाई 'रामै्र गरी' मूल्याकंन गरेको हुनुपर्छ जुलाइ १० मा आफ्नो निवास गान्तोकमा सदाको लागि आँखा चिम्लँदा उनले ८७ वर्षका सरदर 'आयू पूरा' गरेका थिए । हो, उनले सदाका लागि धेरै कुरा चिम्लिएर गए आँखामा किनभने नेपाली र लिम्बू भाषासाहित्यमा कतिपय प्रसंगमा 'अन्तिम आँखा'समेत थिए उनी । साहित्यमा साधक र सेवक हुन्छन् । साधकहरु सृजनामार्फत् साहित्यलाई समृद्ध बनाउँदै लान्छन् सेवकहरु साहित्यखातिर वातावरण बनाउँछन् । छ दशक बढी नेपाली र लिम्बू साहित्यमा बिताएका पदमिसंह साधक र सेवक दुवै थिए । सन् १९२३ सेप्टेम्बर ११ मा बुबा तिलोकिसंह सुब्बा र आमा मुजिनाहाङ्मा सुब्बाको कान्छा छोराको रुपमा जन्मिएका पदमिसंह सिक्किममा नेपाली र लिम्बु भाषा साहित्यको जग उठाउने परियोजनाकारमध्ये एक थिए । सिक्किम स्वतन्त्र राष्ट्र भएको बेला नेपाली भाषा साहित्यको स्थापना र श्रीवृद्धिका लागि अपतन समूहले शुरु गरेको अभियान एक युगान्तकारी परिघटना थियो । वास्तवमा पदमिसंह त्यही अभियानका एक अभियान्ता थिए । सन् १९४७ साल अपि्रलमा सर टाँशी नाम्गेल हाइ स्कुल गान्तोकमा तुल्सीबहादुर क्षेत्रीको अध्यक्षतामा उनीसमेत रामदत्तालाल ठाकुर, निमा वाङ्दी तार्गेन, अगमिसंह तामाङले अपतन साहित्य परिषद गठन गरेका थिए । उनीहरुले आफ्नो नामको अघिल्ला अक्षरहरुको संयोग हुने गरी 'अपतन'नाम दिएका थिए र अपतनकै नामबाट साहित्य सृजना गर्ने र प्रकाशित गर्ने उनीहरुको अभियान थियो । त्यही अपतन अभियानका 'प' पदमिसंह अन्तिम साक्षी थिए । अपतन नेपाली भाषासाहित्यको उत्थानार्थ गठन भएको थियो । सृजना गर्दा अपतनको नामबाट गर्ने संयुक्त रुपमा रचना गर्ने अपतन अवधारणा नौलो र खुल्ला त थियो नै वैयक्तिक लेखकीय अहंको परित्याग पनि थियो । सिक्किममा नेपाली भाषा र साहित्यलाई स्थापित गर्ने श्रेय अपतन साहित्यलाई नै जान्छ । आठ वर्ष चलेको अपतन अभियानमा पदमिसंह महामन्त्री थिए । अपतनले कवि गोष्ठि, जन्मजयन्ती, बनभोज, नाटक प्रदर्शनमार्फत् भाषिकसाहित्यिक चहलपहल गथ्र्यो । अपतन परिषद्ले यही क्रममा सन् १९५० इन्द्रकील पुष्पााजली संयुक्त कविता संग्रह प्रकाशित गरेको थियो । सिक्किममा अहिले भानु जयन्तीलाई राष्ट्रिय चाडको रुपमा मनाइन्छ यो जयन्ती मनाउने शुरुवात अपतन परिषदले नै थालेको थियो । पदमिसंह लिम्बू अर्थात् पी.एस. मुरिङ्ला लिम्बू साहित्यका एक धरोहर हुन् । लिम्बू भाषा साहित्यलाई आधुनिकता प्रदान गर्नेमा उनको नाम अघिल्तिर आउँछ । सिक्किममा लिम्बू भाषालाई सरकारी मान्यता दिलाउने तथा लिम्बू साहित्य विकासका लागि वातावरण बनाउनमा उनको प्रमुख योगदान रहेको छ । उनले लिम्बू भाषा साहित्य विकासमा आफ्नो संलग्नतालाई सम्झने क्रममा सन् १९३६ पहिलोपल्ट लिम्बू किताब देखेको तर पढ्न नसकेको आफ्नो संस्मरणमा उल्लेख गरेका छन्, 'त्यो किताब बाजवीर थलङ र इमानिसंह चेम्जोङ मिलेर सन् १९२८ सालमा कलकत्ताबाट साइक्लोस्टाइल मसिनमा छापी निकालेका रहेछन् ।' अंग्रेजी भाषामा औपचारिक स्नातक गरेका पदमिसंहले आइ.ए. पास गरेपछि सन् १९४६ साल अगस्टमा सर टाँसी नाम्ग्याल हाइस्कुलमा शिक्षक नियुक्त भएपछि इमानिसंह चेम्जोङलाई भेटेका थिए । संयोग इमानिसंह पनि सोही स्कुलमा शिक्षक थिए । सर टाँसी नाम्ग्याल हाइस्कुल पदमिसंह सुब्बाको साहित्यिक व्यक्तित्व निर्माणमा एउटा विश्वविद्यालय नै हो भन्न सकिन्छ । जब उनी त्यस स्कुलमा आइपुगे तब उनले नेपाली साहित्यमा केही गरौँ भन्ने तुल्सीबहादुर क्षेत्रीदेखि लिम्बू साहित्य भाषा र इतिहासमा काम गरिरहेका इमानिसंह चेम्जोङसम्मलाई भेटे । इमानिसंह चेम्जोङलाई भेटेपछि मनबहादुर खाम्धाक, सन्तवीर खाम्धाकसँग मिलेर लिम्बू किताब छापेर प्रचार गर्ने अभियान एकातिर थाले भने अर्कोतिर तुल्सीबहादुर क्षेत्रीदेखि अगमिसंह तामाङसँग मिलेर नेपाली साहित्यमा अपतन आन्दोलन शुरुवात गरेका थिए । सन् १९५१ मा चेम्जोङ सन्तवीर, मनबहादुरसँग मिलेर पदमिसंहले लिम्बू साउँ अक्षरको किताप 'तुम याक्थुङ निङ्वाभु साप्ला' तथा 'याक्थुङ निसिगेक साप्ला' लेखन तथा लिथोबाट मुद्रण गरेर प्रचारप्रसार गरेका थिए जुन लिम्बू भाषासाहित्य विकासमा ऐतिहासिक कडी थियो । पदमिसंह लिम्बू भाषासाहित्य अभियानको फूललाई रोप्ने गोड्ने र फुलाउने एक माली थिए । सिक्किमको सन्दर्भमा लिम्बू भाषा लिपि र साहित्य तथा पाठ्यपुस्तक लेखन प्रकाशन इतिहासका हरेक अनुच्छेदमा उनी कुनै न कुनै रुपमा जोडिएरै आउँछन् बिबि मुरिङ्ला र उनी औधी रुपमै जोडिएर आउँछन् । सन् १९८१ मा लिम्बू भाषालाई सिक्किम राज्य सरकारबाट एक राज्य भाषाको मान्यता दिलाउने सन् १९८३ देखि गान्तोक रेडियोबाट लिम्बू कार्यक्रम प्रशारण गर्नेदेखि सन् १९८८ सालमा भारतीय संविधानमा आठौँ अनुसुचीमा नेपाली भाषालाई मान्यता दिलाउने संघर्षमा उनको सकि्रय सहभागिता रहेको थियो । सन् १९६८ देखि सिक्किममा लिम्बू भाषा बैकल्पिक विषयका रुपमा पाठ्यक्रममा समावेश भयो सन् १९७५ मा त्यसलाई अनिवार्य बनाइयो अहिले स्नाकोत्तरसम्म लिम्बू भाषामा पठनपाठन हुन्छ । यसक्रममा लिम्बू भाषा पाठ्यपुस्तक निर्माण तथा लिपिलाई वैज्ञानिकता दिने काममा साहित्यकार बीबी मुरिङ्ला र पदमिसंहको भूमिका शीर्षस्थानमा देखिन्छ । पदमिसंह लिम्बू साहित्यका प्रथम उपन्यासकार र जीवनीकारसमेत हुन् । सन् १९८३ सालमा लिम्बू साहित्यमै प्रथम उपन्यास थत्थामा र प्रथम जीवनी 'साङ्ग्राम्बा मनबहादुर लेल्क्वाहाङ खाम्दाकु'प्रकाशित भएको पाइन्छ । थत्थामा उपन्यास आधुनिक लिम्बू आख्यानको एक 'माइलस्टोनु'हो । सामाजिक यथार्थवादी उपन्यास थत्थामालाई प्रताप सुब्बाले चलचित्रमा समेत उतार गरेका छन् । सिक्किमे लिम्बु भाषा साहित्यमा सरकारी पक्षबाट हुने नियुक्तीदेखि समूहगत पहलकदमीमा पदमिसंह सधैँ अग्रस्थानमा रहेको पाइन्छ । उनी लिम्बू भाषा विकासका लागि सिक्किम राज्यबाट सन् १९७० मा गठित लिम्बू पाठ्यपुस्तक उपसमितिको अध्यक्ष सन् १९८७मा मा गठित सुख्खिम याक्थुङ साप्सक सङ्जुम्भोको सन् १९८४ देखि १९९५ सम्म अध्यक्ष रहेका थिए । सन् १९७० मा पश्चिम सिक्किम थर्पुमा सिरिजङ्गा साक्थिम सङ्जुम्भो स्थापनामा पनि उनको भूमिका स्मरणीय छ । त्यो बाहेक सिक्किमको लिम्बू भाषा साहित्यिक पत्रकारितामा पनि उनको भूमिका अविस्मरणीय छ । उनले सन् १९७८ देखि शुरुमा हस्तलिखित प्रकाशित हुन थालेको तुम्दुम हेनाको केही अङ्क सम्पादन पनि गरेका थिए । सन् १९७८ मा प्रो।बज्रबराहीलाल र बी.बी. मुरिङ्लासँग हिन्दी-लिम्बू शब्दकोष सम्पादन र लेखन गरेका उनी लेखन-सम्पादनमा बी.बी. मुरिङ्लासँग अनेक मोडहरुमा सँगै नारिएर आउँछन् । लिम्बू भाषा तथा साहित्यलाई उचाइमा पुर्याउने काममा बी. बी. मुरिङ्ला र उनी अघिपछि अघिपछि देखिए पनि त्यो 'उछिनपाछिन'थिएन त्यो त अनुपम सहयात्रा थियो भाषासाहित्य समृद्धिमा । सिक्किमबाट प्रकाशित हुने लिम्बू साहित्यिक कृतिको भूमिका लेखनमा प्रकट भइरहने पदमिसंह समालोचकीय क्षमता राख्ने विद्वान थिए उनी 'सेरेमोनियल' होइन साँच्चिकै 'इन्टेलेक्च्युल' अभिभावकको छवि बनाएका थिए । पदमिसंहले शिक्षकको रुपमा विभिन्न विद्यालयमा सन् १९४६ देखि ११ वर्षसम्म अध्यापन गरे । यस क्रममा 'पी.एस. सर'ले चिनिए सन् १९६६ देखि १९८४ सालसम्म सिक्किम सरकारको प्रशासनिक सेवाअन्तगर्त उच्च तहसम्म पुगे । इमान्दार परिश्रमी र सरल मिजासका पदमिसंह प्राज्ञ अमर तुम्याहाङको नजरमा 'आँखामा राखे पनि नबिझाउने' व्यक्तित्वका थिए । 'पदमिसंह मुरिङ्ला 'अपतन'को भाषा साहित्यमा कति हो त योगदान ?' शायद पदमिसंहले जीवनको उत्तराद्र्धमा आफैँले आफूलाई यो प्रश्न गरिरहे । किनभने उनले आफ्नो संस्मरण 'लिम्बू लेख्य भाषाको विकासबारे आफैँलाई हेर्दा' शीर्षकको संस्मरणमा सन् १९८४ मा सेवा निवृत्त भएपछि आफ्नो समय सतरन्ज, रमी, बि्रजजस्ता तासखेलमा बितेकोमा पछुतो भएको उल्लेख गरेका छन् । 'पछुतो'को अर्थ के भने उनी भाषा साहित्यका लागि 'धेरै' गर्न चाहन्थे तर उनले नेपाली भाषा साहित्यका लागि जति गरे त्यो कुनै मानेमा कम छँदै थिएन । यससन्दर्भमा साहित्यकार बैरागी काइँलाले पदमिसंह सुब्बा 'अपतन'कृत्तित्व र व्यक्तित्व ग्रन्थमा लेखेको निम्न भनाइ मननयोग्य छ 'थोरै तर गहन र गम्भीर रचना साहित्य र समाजलाई दिने लेखकका रुपमा पदमिसंह मुरिङ्लालाई चिन्नुपर्दछ । उनलाई आधुनिक लिम्बू भाषा र साहित्यको आधा शताब्दीको इतिहासको साक्षी भन्दा अत्युक्ति हुन्न ।'स्वप्नील स्मृति

No comments:

Post a Comment