Thursday, July 8, 2010

धनकुटा, राजारानी गाँउको किंबदन्ती लोककथा (राजारानी नाम कसरी रहन गयो?)



धनकुटा सदरमुकाम देखि पुर्ब दक्षिणतिर रहेको रमणीय गाँउ राजारानी, परापुर्ब कालमा त्यहा दुईवटा पोखरी थिए l ती पोखरीहरुलाई लिम्बु भाषामा मावारक र पावारक (आमा पोखरी र बाबु पोखरी) भनिन्थ्यो l लिम्बु भाषामा मा = आमा अनि पा = बाबु, वारक को अर्थ पोखरी हो, कालान्तरमा राजा पोखरी र रानी पोखरी नामकरण गरियो (शाह बंशी राजाहरुले जबर्जस्ति राजा र रानी भन्न लगाएको बूढा पाकाहरु बताउछन) l

त्यहा त्यो बेला पा र मा अर्थात् राजा र रानी थिए त्यो लाजेको, उनीहरुकै अधिनमा त्यो पोखरी चलेको थियो, मतलब रानी नै मावारक अनि राजा नै पावारक बुझिन्थ्यो l उ बेला ठुलो जंगल थियो रे, मा र पा संग एक जना सुसारे र एउटा परेवा (समाचार ल्याउने, लाने) थिए l पा सिकार खेल्न सौखिन थिए, जब सिकार खेल्न जान्थे तब आफ्नो साथमा सुसारे अनि परेवालाई पिंजडामा हालेर लान्थे रे l उसको लागि परेवाबाट समाचार सेवा हुन्थ्यो भने आफ्नो रक्षा सुसारेबाट हुन्थ्यो l एक दिन राजाले निकै टाढाको जंगलमा सिकार खेल्न जान तयारी गरे, राजासंगै आफ्नो सुसारे अनि परेवा पनि लाने भए l उसले सिकारमा जानु अघि रानीलाई भने " म सिकार खेल्न जादैछु मसंग सुसारे र परेवा पनि जादैछन्, यदि म माथि आपति या केहि भएमा भने म पिंजडाबाट परेवालाई छोडी दिनेछु, परेवा सिधै तिमी कहाँ आउने छ" मनमा कुनै चिन्ता नलिनु है भन्दै भनि बाटो लागे रे l

राजा, सुसारे र परेवा निकै दिन सिकार खेल्दै जंगलमा बसे l यता रानी भने उनीहरु फर्की नआएकोले चिन्ता गर्न लागिन्, राजा सिकारमा नै व्यस्त भए रे l एक दिन अचानक सुसारेले पिंजडाको ढोका खोलि दिएछ र परेवा उम्कियो अनि उडेर मावारक रानी भएको ठाउँमा पुग्यो l रानीले परेवा आइपुगे पछि अबस्य राजा संकटमा पर्यो भन्ने सम्झी, राजाको ज्यान तल माथि भयो कि, रानीले राजाले सिकार गर्ने बेलामा राजा माथि केहि भएमा परेवा मावारक आइपुग्ने भनि सम्झाएको कुरा सम्झी रे l म एक्लै कसरी बसू! भन्दै निकै रोइ कराई गरिन् रे, राजा नै नभए पछि म किन बाच्नु र भन्दै, तिनी मावारकमा हाम फालेर मरी l

राजाले पिंजडाबाट परेवा उम्की गएको कुरा थाहा पाए पछि, सुसारेलाई संच कुशलकै समाचार पुर्याउन रानी कहाँ दौडेर जान अरायो रे l सुसारे दौडेर मावारक पुग्यो तर परेवा पहिले नै पुगी सकेको अनि रानीले मावारकमा हाम फालेर मरिसकेको पायो l राजा पनि पछि पछि दगुर्दै मावारक आइपुगे, आफु जिउदै हुदै रानीले आत्महत्या गरे पछि राजाले पनि म एक्लै के बाच्नु भन्दै पावारकमा हाम फाली प्राण त्याग गरे रे l

राजा र रानीको देहान्त पछि परेवा पनि अन्तै गयो, अब सुसारे मात्र बाकी भए, आफुले अन्जानबस पिंजडाबाट परेवा छोडी दिएकोले रानी र राजाले पोखरीमा हाम फाली प्राण त्याग गरेकोमा उसलाई ठुलो पछुताउ भयो l अनि उसले पनि ठुलो पछुतोका साथ खदम (लिम्बु भाषामा अध्यारो) खोलामा हाम फालेर मर्यो l राजा र रानी दुवैले आत्महत्या पछि ती दुई पोखरी, पा र मा फुटेर खोला भई दक्षिण तिर बगेर गए, त्यसलाई अहिले खदम खोला भनियो l

राजारानी गाँउको मावारक र पावारक पानी सुकेर सिमसारमा परिणत भयो, अहिले त्यहा धान खेति हुने गर्छ र अहिले भर्खरै मावारकलाई पर्यटन बिकाशको लागि बाध थुनेर कृत्रिम पोखरी बनाइएको छ l जसलाई "रानी ताल" नामकरण गरि पर्यटकीय क्षेत्र घोषणा गरिएको छ l यस तालमा माछा पालन गरिएको छ साथै घुम्न आउने पर्यटकलाई डुंगाबाट बोटिंग गरिन्छ l


अर्को किम्बदन्ती पनि छ,

यस मावारक पोखरी भन्दा केहि माथि दमाई पोखरी थियो रे (अझ पनि अलि गहिरो ठाउँ छ त्यहा) l कालान्तरमा मान्छेको बसोबास बढ्दै गए पछि मावारक अनि पावारक पोखरीमा फोहोर अनि दुर्घन्धित भएकोले मावारक अनि पावारक रिसाएर अनि आफ्नो बाजा बजाई दिने दमाई पोखरीलाई समेत लिएर उभो देश ताप्लेजुंग तिर बसाइ सर्यो रे भन्ने बुढा पाकाहरु भन्छन, अझ पनि मध्य रातमा कहिले कहिँ बाजा बजेको सुनिन्छ है भनेर बूढा पाकाहरु भन्छन l



साभार: राजारानी गाउका बूढा पाकाहरुका मुखबाट


No comments:

Post a Comment