Wednesday, June 23, 2010

कविता - उपवास

-मनु लोहोरूङ

मृग नयनी आँखाहरु,
अनुरागी भाखाहरुलाई
फूल र पराग सम्झेर,
दिन र रात म उनिएँ
जीवनको ऐना अगाडी
एकपटक उभिएर हेरें
निकम्मा, आफुलाई
फगत एउटा मान्छे देखें
तिबिम्बमा तिमी छटपटियौ l
आफुले आफैलाई सोचें,
तिम्रो मनको घाउ निको पर्न अब,
मेरो क्रुर विम्ब लुकाएर,
आजीवन उपासिन्छु l
मेरो नपुंसक मस्तिष्कले
तिम्रो लागि मायाको भाव
जन्माउन सकेन, गर्भ मै तुहियो
तिम्रो मुटुको रक्तनलीहरु
अब सबै सबै चुडाउनू !
कुनै सपनाको आभाषले
म प्रति रगत नतातियोस
सोचले स्नायूतन्तुहरुलाई
पक्षघात बनाउनू !
किन कि,
फेरि आवेगमा
मेरो यादको संवेग नहोस् l
अमुर्त प्रेमको हत्या नगर्नू !
किन कि
आजन्म पश्तापको कैद हुने छौ l
रहरहरुलाई धाप मार्दै,
इच्छाका कापमा मलाई भेट्यौ,
घामको लाली टिपेर
लगाईदिन खोज्दा
इन्कारको तगारोले म छेकिएँ l
मैले पुर्णिमाको जून ओढेर
मौसमी आकांक्षाहरुको
खास्टो ओछ्याँउदा
चैते डढेली मनले आगो लगायौ l
बेमौसमी झरी पर्दा,
बाछिटाले भिजेको
मनको खोपा सुकेन
म चाहन्थें........
तिम्रो धारिलोपनले
म पनि काटीऊँ टुक्रा-टुक्रा,
यो भूमिवालाले बटुलोस
म चाहन्थें.........
खुशीका फूल टिप्न
राज्यबासीहरु आउन्
तर बेलाको बोलीले,
म छाँटिएँ, काटिएँ, साटिएँ l
घडी पलाको लागि मात्र
म जाकटीमा फालिएँ
मगजको श्रमले.........
आफैलाई उकास्न सकिन l
तिम्रै अनुरोधमा, इच्छाहरु
धेरैचोटी आधापिल्चो भए,
कल्पित मन सेरिएर
एकान्तमा हत्या भयो l
तै पनि,मैले सहें, म रहेँ,,,
सम्झौताको कारागारमा l
स्वच्छन्दवादी दर्शनको
खुल्ला पिजडबाट
अब मलाई रिहा गर्यौ l
भावनाको हत्कडी लाएर
यो शहरबीचमा छोड्यौ l
ठिकै छ, म सम्झौता गर्छु l
तिम्रो खडेरी मनसँग,
तिम्रो सुख भावसँग,
तिम्रो तिक्त चापसँग,
केवल,मेरो नाम तैरेर
स्मृतिका छल्कोहरु
कहिल्यै नछल्किउन् l
कयौं मेरा रातहरुमा
काँडा बिछ्याई दियौ,
भोकको दिनहरुमा बरफको गाँस दियौ,
तिम्रो अनुष्ठान आज सकिएको छ l
बिच्छेदको हिउँलेकठयङ्ग्रिएको छु l
पापको खातिर
मेरो यातनाको म्याद
आज पुरा भएको छ l
विकल्पमा कुनै शेष छैन l
केवल छ त, मेरो कार्जे...
खुशीको अन्त्येष्टि भएकोमा
तिम्रो पुनर्जन्मको लागि
म आजीवन उपवास बस्छु l

No comments:

Post a Comment