धरान, वैशाख १२ - मुन्धुम र लिम्बू मातृभाषा एक अर्कामा परिपुरक भएकाले मुन्धुम जोगाउन जोड दिदै धरानमा आयोजित दुई दिने राष्ट्रिय मुन्धुम गोष्ठीले आठबुँदे धरान घोषणा पत्र जारी गरेको छ ।
लिम्बू संस्कार संस्कृतिको निरन्तर अभ्यासमा मातृभाषा प्रयोग गर्नु पर्ने निष्कर्षसहित चुम्लुङ हिममा सोमबार सम्पन्न भेलाले मुन्धुमको विश्वव्यापिकरण र आधुनिकिरणसंगै अभ्यासलाई व्यापक बनाउन मातृभाषामा जोड दिएको हो । मुन्धुम (दर्शन) लिम्बू जातिको समाजिक, धार्मिक, सांस्कृतिक, राजनितिक, पारिवारिक र प्रकृतिको व्याख्या गरिएको जीवन दर्शन हो । भेलामा दस लिम्बुवान १७ थुमको मुन्धुम विद फेदाडमा, साम्बा, येवा, येमा र तुम्याहाङहरुको सहभागिता रहेको थियो ।
मुन्धुम जिवन्त वनाई राख्नको लागि फेदाडमा, साम्बा, येवा, येमा र तुम्याहाङहरुको मान, प्रतिष्ठा र पेशाको सम्मान गर्दै उनीहरुको विवरण तयार गर्नुका साथै प्राज्ञिक क्षमताको विकास र व्यावसायिकतामा जोड दिने निर्णय गरिएको चुम्लुङका अध्यक्ष अर्जुन नुगोले बताए । उनले भने, 'मुन्धुमको दार्शनिक पक्षको व्याख्या, विश्लेषण र पुस्तान्तरण गर्न व्यब्स्िथत र प्राज्ञिक अभिलेखिकरण गर्दै मानव सभ्यताको मौखिक र अमुर्त सम्पदाको श्रेष्ठ कृतिको रुपमा घोषणा गर्न नेपाल सरकार मार्फत युनेस्कोलाई अनुरोध गर्दछौं ।'
धरान घोषण पत्र जारी गर्न अघि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी कांइलाले आदिवासी जनजाति समुदायमा पर्ने लिम्बु जातिको संस्कृती भूमण्डलीकरणको चपेटामा परेर विस्तारै लोप हुन थालेको बताए ।
उनले विश्व भूमण्डलीकरणको प्रभावले जनजातिका परम्परागत सांस्कृतिक, धार्मिक, समाजिक मुल्य र मान्यता प्रभावित भइरहेकोमा चिन्ता व्यक्त गर्दै भने, 'हामीले भूमण्डलीकरणलाई मन नपराए पनि बाध्य भएर अंगाल्नु परेको कारण मौलिक सम्पदा विर्सदै गएका हौं ।'
किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिद्धारा आयोजित धरानमा आइतबार सम्पन्न दुई दिने राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठीमा सहभागी हुदै कुलपति काइलाले भने, 'भूमण्डलीकरणको प्रभाव राम्रो र नराम्रो दुवै खाले भए पनि नराम्रोको प्रभावबाट मौलिक सस्कृतिलाई जोगाउन सवै तयार हुनु पर्ने अवस्था आएको छ ।' उनले आधुनिक शिक्षा प्रणाली नभइ नहुने भए पनि त्यसले मातृभाषाको प्रयोगमा कमि ल्याउन सहयोग गरेको कारण लिम्बु जातिको पौराणिक मुन्धुम (दर्शन शास्त्र वेद) ज्ञानबाट नया पुस्ता अनभिज्ञ हुन थालेकोमा चिन्ता व्यक्त गरे ।
लिम्बु जातिले विश्वलाई हेर्ने दृष्टीकोणको रुपमा मुन्धुम मानिन्छ । पुर्खाले ढुङ्ग युग देखि कृषी युग सम्म आइपुग्दाका भोगाइ, समाजिक, पारिवारिक, सांस्कृतिक, राजनितिक, आध्यात्मीक मान्यताहरु ज्ञानका रुपमा मुन्धुममा व्याख्या गरिएको काइलाले बताए । उनले भने, 'जन्म र मृत्यु वीचमा एकजना लिम्बुले गर्ने सम्पुर्ण निति, दर्शन सिद्धान्तहरु मुन्धुममा रहेका छन् तर अहिले यो खतरामा परेको छ । भाषाको कारण नया पुस्ताले मुन्धुम भित्र पस्न सकेका छैनन् । पुराना पुस्ताले मुस्किलले बचाएका छन् । ती पनि अधुरो अवस्थामा छ ।'
लिम्बु जातिले मौखिक रुपमा मुन्धुमलाई एक पछि अर्को पुस्तामा हस्तान्तरण गर्दै आएका थिए । लिखित रुपमा जोगाएर राख्ने प्रयास कमै भएकोले नया पुस्तामा हस्तान्तरण गर्न मुस्किल भएको उनले बताए । मौखिक मुन्धुम बैज्ञानिक भएको दावी गर्दै उनले भने, 'लेखेको सवै कुरा र तिथिमिति भएका मात्र सत्य र प्रमाणित हुदैनन् । र, नलेखिएका र तिथिमिति नखुलाएका सवैकुरा असत्य र अप्रमाणित पनि हुदैनन् भन्ने उदारण मुन्धुम हेरेमा थाहा हुन्छ ।'
गोष्ठीको समापनमा मुन्धुम विद डा. चैतन्य मेन्याङ्बोले आधुनिक समाजमा मुन्धुमको संरक्षण, महत्व, स्वरुप र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै आधुनिक जीवनशैलीको प्रभावले मुन्धुम संकटमा परेको बताए । उनले मुन्धुम विना लिम्बु जातिको पहिचान हुन नसक्ने बताए । उनले मुन्धुम लिम्बुजातिको पहिचान संग प्रत्यक्ष जोडिएको जीवन दर्शन भएकोले नया पुस्तामा पुनर्जागरणको अवस्था सृजना गर्नु पर्ने बताए ।
चुम्लुङ्का केन्द्रीय अध्यक्ष अर्जुन नुगोले आफ्नो मौलिक धर्म, भाषा लिपि, कला संस्कृति प्रति गौरव गर्ने बानी नया पुस्ताले बसाउन सकेमा मात्र मुन्धुम बचाउन सकिने बताए । पहिचानको रुपमा रहेको मौलिकता प्रति गर्व नगरी अर्काको मात्र नक्कल गरेमा जातिय अस्तित्व नै समाप्त हुने बताए ।