Tuesday, August 10, 2010

याःचोत्लुङ ओशाङलुङ



ताप्लेजुङ फाकुम्बा गा.बि.स वार्ड नं. ६ साम्तोङ (जलजले पहाड दक्षिण) अवस्थित याःचोत्लुङ ओशाङलुङको उचाई समुन्द्र सतहबाट करिव पाँच हजार मिटरको उचाइमा रहेकोछ। जमीन सतह देखि माथिल्लो उचाई ५० मिटर र ओशाङलुङको परिक्रमा गर्न करिव एक घण्टा लाग्छ। ओशाङलुङको आसपास साथै टुप्पोमा स–साना बुट्टयान र ढुङ्गाहरु रहेकाछन्। भाले पोथी भनिएका ढुङ्गा सबै भन्दा तल रहे पनि माथिल्लो ढुङ्गाहरुमा धुपी,काउलो,घुङ्रिङ (किर्कौला जस्ता गेडा फल्ने,उखुको जस्तो एक जातको बोट,धामीलाई चाहिने वस्तु)तितेपाती,माङ्याम्बुङ (फच्चेङ,अदुवाको झैं पात हुने एक प्रकारको बोट,जङ्गली अदुवा) सिदिङ्बा (अडेरी काँढो) युक्मिबा (हर्कटो),माङ्लोःक् (फलेदो) पिप्पिजो येयेन्जोले भरिएकोछ। वीचमा ६ फिट गहिरो साथै पहेलो रङको सानो पोखरीछ। त्यस पोखरीलाई वादुमपक्वा भनिन्छ। लिम्बूहरुको कुनै कुनै संस्कारकार्यमा जोडी बटुकामा चोखो पानी राखेर येबा,फेदाङमाहरुले फलाक्ने गर्दछन्। जसलाई लिम्बू भाषामा वदुमबक्वा च्वात (पवित्र पानी) भन्ने गरिन्छ। यो अग्लो ढुङ्गाको थुम्कीलाई किन याःचोत्लुङ ओशाङलुङ भनियो?मुन्धुम् अनुसार तेत्लारा (वेत्लारा) लाहादोङना र सुहाम्फेवा दाजु बहिनि वीच का?इ(हाडनाता बिग्रने काम) भई पेलीफाङहाङ र सावा येत्हाङहरुको जन्म भयो। एक दिन सुहाम्फे र लाहादोङना हाडनाता भएको खवर तागेरा निङवाफुमाङ कहाँ पुगी अब यसो नगर्न र उनीहरुबाट जन्मेका स)न्तानहरुलाई भाग बण्डा गरी छुट्टयाउने आदेश भए बमोजिम सुन चाँदीको चाल्नीमा राखेर चाल्दा तल झरेका जति लाहादोङनाको भागमा आठ जना सावा येत्हाङ (मिक्नासो लुम्बाहाङ,सगिम्सो सङमिहाङ,नियारा चोक्चङहाङ,लालासो पाङबोनहाङ,खेच्चुवेत उप्पानहाङ,साउन्दु उन्दुहाङ,साङगेनहाङ पाङगेनहाङ र सेच्छेरे सेनीहाङ) भए माथि रहने (सुदुक्यु खेदुकयु फेदाङमा,फुङजिरि फुङगापपो फेदाङमा,थिरि वसो?फुङ फेदाङमा, सिङसारा थेयाप्पि फेदाङमा,मुगप्लुङ खागप्पलुङ साम्बा,नेन्जिरी नेम्पत्थाङ साम्बा,साजुवेत मुदाङवेत साम्बा,सिङदुमइङ फेत्लाइङ साम्बा र मुसोइङ खेरेङमि साम्बा फेगी फाङहाङ जति सुहाम्फेको भाग लाग्यो। एक जना अड्केको संन्तान नियारा लिङपङहाङमालाई आमा बाबुले ताना तान गर्दा उनको मृत्यु भएपछि येबाहरुको कमाउँने गुरु सामेधुङमा येप्मेधुङ बनिन्। संन्तानहरुको भाग वन्डा लागे पछि उनीहरु कहिले भेट नहुने वाचा गर्दै छुट्टिए। अव उसो चेली माइतीवीच यौन सम्पर्क भए तिमी पातालका (माटो मुनी) बाट खाम्लुङ लराङ (विभत्स ज्वाला) भई आगो भएर तताउनु म माथी आकाशबाट मेघ बज्रेर (सेरी लराङ) बज्र भई आउँछु भन्दै सुछुरु सुहाम्फे आफ्नो फाङहाङहरुलाई लिएर मुरिङला थेरिङला डाँडामा गई सदुङहाङ लेप्मुहाङ नामकरण भई बसे। लाहादोङना साँङगोपिरक तेम्बेमा मुजिरि मुवक्वामा नामकरण भई बसिन। तर अज्ञानता र विवेकहिन भएर उनीहरुले धेरै दुःख पाए। तितेपाती र पातपतिङ्गरको घर बनाएर बस्न लागे। रुखको बोक्राले आफ्नो लाज ढाक्थे,लहराले कम्मरमा पटुक्का बाँधेर जीवन गुजारा गर्थे। अन्न पानी र आगोको उत्पति नभएको हुनाले बनको तरुल भ्याकुर र अन्य कन्दमुल खान्थे। धारिलो ढुङ्गाको हतियार बनाएर जंगली जनवारको सिकार गर्थे। सावा येत्हाङका संन्तानहरु सिकार गर्दै एक दिन तमोर खोलाको पित्पुथाप भन्ने जग्गामा पुगे। जहाँ दुइटा साँडेहरु जुध्न थाल्दा उनीहरुको सिंग ठोक्किएर आगोको झल्को निस्क्यो। आगोको झल्का सुकेको गोवरमा परी मध्यान्हको हावाले बनमा ढडेलो लाग्यो। ढडेलोले पोली मारेको जनवारका मासु खान पाए। त्यस घटनाले आगोको महात्व थाहा पाई गोवरमा आगो बोकेर घर फर्के। तर आगोको शक्ति काबुमा नराखिएको हुँदा धेरै पल्ट आगोबाट आफ्नो झुप्रो र वासस्थान जलेकोले हैरान भए। सावायेत्हाङका पिता सदुङहाङ लेप्मुहाङ कहाँ गएर विभिन्न सिंफेदाङ,साम्बा फेदाङमा,फेजिकुम फेदाङमा ल्याएर आगोको शक्तिमारे पनि काबुमा राख्न नसके पछि सबै भन्दा कान्छा सेच्छेरे सेनिहाङ याःफेदाङमा (येबा) लिन बाबु कहाँ पुगे। लेप्मुहाङले पनि छोराहरु आगोको शक्तिबाट हैरान भएको देखि शक्तिशाली याःफेदाङमालाई आगोको शक्ति मार्न पठाई दिए। उनी लेप्मुहाङको वासस्थानबाट देवशक्ति द्धारा उडेर ओशाङलुङको शिरमा आई पुगे। आफुसंगै ल्याएका सामाग्रीहरुमा साम्सिङ,मुक्तो,सिदिङबा,युक्मिबा,माङयुम्बा,धुपी र सेल्लोसिङ बोट विरुवाहरु आफ्नो विधि विधानले ओशाङलुङको शिरमा याःफेदाङमाले मिलाई राखे। तिनै सामा सार्दामहरु उम्रेको हो भन्ने मुन्धुम् तथा जनश्रृति सुनिन्दै आएकोछ। सावायेत्हाङका संन्तानहरुले विजुवाको (लाङदाक पोङमा) खुट्टा तान्ने दस्तुर नलगेसंम्म ति देव शक्ति भएका याःफेदाङमा ओशाङलुङको टुप्पोमा नाची रहे। जव सावायेत्हाङका संन्तानहरुले (तेङगो ताङपङमा) फाकसारा येत्तिम्बे पुजारी ल्याउन अघि दस्तुर सहित आठचना अदुवा,थिःसाङदाङ,निःसाङदाङ,देख्ने गरी दस्तुर ओशाङलुङ पयङलुङको फेदमा लगेर स्वागत गरे तव सावायेत्हाङ तुम्याहाङ पाङफेमा नाच्दै आई पुगे। यसरी सावायेत्हाङहरुले देव शक्ति भएको येबालाई याःचोत्लुङ ओशाङलुङबाट ओरालेर आगोको शक्ति मारी त्यो हैरानीबाट मुक्त भए। ओशाङलुङ पयङलुङबाट उड्न सक्ने शक्ति भएका र आगोको शक्ति मार्न सक्ने येबाको उत्पति स्थल ओशाङलुङको टुप्पोमा भएको हुनाले ओशाङलुङलाई येबाहरुको उत्पति स्थल मानिन्छ। मुन्धुम्मा आन्छोन्(उहिल्यै) सावायेत्हाङहरुको गाउँमा मुक्साम येबा(शक्ति भएको येबा)देखा परेका थिए भनिएकोछ। उनै उड्न सक्ने येबा ओशाङलुङ पयङलुङको टुप्पोमा आई सावायेत्हाङहरुलाई आगोको संङकट र दुःख भोग्नु पर्ने घटनाबाट उद्धार गरेका थिए। मुन्धुम्मा ओशाङलुङ र याःफेदाङ येबालाई मानव सभ्यताको माइल स्टोनको रुपमा लिईन्छ।

Ya chotlung (Maiwa khola -Taplejung)
- टंक वनेम

National Cooperative Federation of Nepal Ltd.

Introduction
The National Cooperative Federation of Nepal (NCF/N) established in June 20, 1993 under the Co-operative Act, 1992 is an apex body of the cooperative movement of all types and levels of cooperatives organized on the basis of universally accepted cooperative values and principles. As the national apex body of cooperatives of all types and levels, it on behalf of them represents in government, national and international forum.
NCF/N represents around 18,000 cooperatives operating throughout the country. Approximately 6 million individual members are involved in the different types of co-operatives for their economic, social and cultural development various activities.
NCF/N is a member of International Cooperative Alliance (ICA), Geneva. It is also affiliated with the International Federation of Agriculture Producers (IFAP), France and Network for the Development of Agricultural Cooperatives (NEDAC),Thailand.
Vision
Vision of NCF/N is to promote and establish such Nepalese civil society where the Democracy, Equality, Solidarity, Social justice, Caring for other and Gender-Balanced sustainable development will be followed by the cooperatives.
Mission
Mission of NCF/N is to unite, lead, represent and serve members for their economic, social and cultural empowerment through their cooperatives at all levels.
Objectives
The general objective of NCF/N is to promote, strengthen and empower the cooperatives for the benefit to their members on the basis of mutual cooperation through the participatory development process in the country. To attain the general objectives, some specific objectives of NCF/N are set as follows:
v To raise the sense of mutual help and cooperation among the people for fulfilling their needs and aspirations through cooperatives.
v To organise seminars, workshops, awareness raising programs on the emerging issues and lead the movement for safeguarding and implementing the cooperative norms, values and principles.
v To promote, strengthen and develop the cooperatives through cooperative training, education and specific projects activities for making cooperative efficient and viable.
v To develop marketing network to the cooperative products in order to promote the business for the economic benefits of the members.
v To extend and explore support to the economic, social, professional and sustainable development of cooperatives in order to strengthen and promote cooperative business.
v To provide leadership to the cooperative movement and to represent on behalf of cooperatives in the Government and other national and international forums.


Coop Identity
Co-operative is a form of business enterprises, or community organization, incorporated in service to its members and users, in order to meet their common economic, social and cultural needs and aspirations. Co-operative is jointly-owened and democratically controlled by its members and users on the basis of one member, one vote.Co-operatives follow democratic, participatory and transparent decision-making processes and organizational structures so that their members and users (i.e. owners, workers and consumers) may be directly responsible for benefiting themselves and the society in general. Co-operatives are based on the value of self-help, mutual help, self-responsibility, democracy, equality, equity and solidarity. Co-operative members believe in the ethical values of honesty, owners, social responsibility and caring for others. Cooperative principles by which co-operatives put their values into practice are:
Voluntary and Open Membership
Democratic Member Control
Member Economic Participation
Autonomy and independence
Education, Training and Information
Co-operation among Co-operatives
Concern for Community

www.ncfnepal.com.np

Monday, August 9, 2010

कबिता

-आचार्य प्रभा
"जिन्दगी पनि त भूगोल हो "
हो ठक्कर लाग्छ
लडिन्छ
त र अवश्य उठ्नु पर्छ
कसैले पनि /
लड्नु अन्त्य होइन
ठक्कर लाग्नु अभिश्राप पनि
होइन ,
यो त जीवनको पहाड
चढ्नु र उत्रिनुको खेल हो
किन कि जिन्दगी पनि त
भुगोल हो ,
यहाँ असंख्य पहाडहरु छन
समतल मैदानहरु पनि छन्
लेक,बेंसी पनि छन्
जुन मान्छेको दु:ख,सुखको
पर्याय बनेर उभिएको छ ।
असंख्य नदिनालाहरु पनि छन्
जो खुशी र सुखको अश्रुधारा बनेर
बगिरहेकोछ
दु:ख र ब्यथामा
उर्लिएर बहुलाई रहेछ /
हो यो हुनु पनि
जिन्दगीको भूगोलको
नमुना हो
त्यसैले ........,
हार्नु हुन्न कसैले पनि
थाक्नु हुन्न कसैले पनि
बस,सम्झनु पर्छ जीवनलाई
हरियाली र सौन्दर्यताको
संयोजनको प्रतीक
जिन्दगी भूगोलको
एक हिस्सा ,
जहाँ उतार चडावको खेती हुन्छ
दु:ख,सुखको बाली पाक्छ
आसुँको असारे झरिले
सिंचित गरिन्छ ,
ब्यथा र पीडाको घनले
समस्याको पहाड फोडिन्छ ।
हो त्यसैले त जिन्दगी
भूगोल हो .......

Tuesday, July 27, 2010

अपतन अस्ताए\अपतन उदाए


'मैले के योगदान गरेको छु र?' सम्मान-पुरस्कारबाट आफूलाई सक्दो पन्साउन खोज्ने साहित्यकार पदमिसंह सुब्बा 'अपतन' अन्ततः जीवनको महंगो पुरस्कार 'मृत्यु'ले पुरस्कृत भए । मृत्युले उनको योगदानलाई 'रामै्र गरी' मूल्याकंन गरेको हुनुपर्छ जुलाइ १० मा आफ्नो निवास गान्तोकमा सदाको लागि आँखा चिम्लँदा उनले ८७ वर्षका सरदर 'आयू पूरा' गरेका थिए । हो, उनले सदाका लागि धेरै कुरा चिम्लिएर गए आँखामा किनभने नेपाली र लिम्बू भाषासाहित्यमा कतिपय प्रसंगमा 'अन्तिम आँखा'समेत थिए उनी । साहित्यमा साधक र सेवक हुन्छन् । साधकहरु सृजनामार्फत् साहित्यलाई समृद्ध बनाउँदै लान्छन् सेवकहरु साहित्यखातिर वातावरण बनाउँछन् । छ दशक बढी नेपाली र लिम्बू साहित्यमा बिताएका पदमिसंह साधक र सेवक दुवै थिए । सन् १९२३ सेप्टेम्बर ११ मा बुबा तिलोकिसंह सुब्बा र आमा मुजिनाहाङ्मा सुब्बाको कान्छा छोराको रुपमा जन्मिएका पदमिसंह सिक्किममा नेपाली र लिम्बु भाषा साहित्यको जग उठाउने परियोजनाकारमध्ये एक थिए । सिक्किम स्वतन्त्र राष्ट्र भएको बेला नेपाली भाषा साहित्यको स्थापना र श्रीवृद्धिका लागि अपतन समूहले शुरु गरेको अभियान एक युगान्तकारी परिघटना थियो । वास्तवमा पदमिसंह त्यही अभियानका एक अभियान्ता थिए । सन् १९४७ साल अपि्रलमा सर टाँशी नाम्गेल हाइ स्कुल गान्तोकमा तुल्सीबहादुर क्षेत्रीको अध्यक्षतामा उनीसमेत रामदत्तालाल ठाकुर, निमा वाङ्दी तार्गेन, अगमिसंह तामाङले अपतन साहित्य परिषद गठन गरेका थिए । उनीहरुले आफ्नो नामको अघिल्ला अक्षरहरुको संयोग हुने गरी 'अपतन'नाम दिएका थिए र अपतनकै नामबाट साहित्य सृजना गर्ने र प्रकाशित गर्ने उनीहरुको अभियान थियो । त्यही अपतन अभियानका 'प' पदमिसंह अन्तिम साक्षी थिए । अपतन नेपाली भाषासाहित्यको उत्थानार्थ गठन भएको थियो । सृजना गर्दा अपतनको नामबाट गर्ने संयुक्त रुपमा रचना गर्ने अपतन अवधारणा नौलो र खुल्ला त थियो नै वैयक्तिक लेखकीय अहंको परित्याग पनि थियो । सिक्किममा नेपाली भाषा र साहित्यलाई स्थापित गर्ने श्रेय अपतन साहित्यलाई नै जान्छ । आठ वर्ष चलेको अपतन अभियानमा पदमिसंह महामन्त्री थिए । अपतनले कवि गोष्ठि, जन्मजयन्ती, बनभोज, नाटक प्रदर्शनमार्फत् भाषिकसाहित्यिक चहलपहल गथ्र्यो । अपतन परिषद्ले यही क्रममा सन् १९५० इन्द्रकील पुष्पााजली संयुक्त कविता संग्रह प्रकाशित गरेको थियो । सिक्किममा अहिले भानु जयन्तीलाई राष्ट्रिय चाडको रुपमा मनाइन्छ यो जयन्ती मनाउने शुरुवात अपतन परिषदले नै थालेको थियो । पदमिसंह लिम्बू अर्थात् पी.एस. मुरिङ्ला लिम्बू साहित्यका एक धरोहर हुन् । लिम्बू भाषा साहित्यलाई आधुनिकता प्रदान गर्नेमा उनको नाम अघिल्तिर आउँछ । सिक्किममा लिम्बू भाषालाई सरकारी मान्यता दिलाउने तथा लिम्बू साहित्य विकासका लागि वातावरण बनाउनमा उनको प्रमुख योगदान रहेको छ । उनले लिम्बू भाषा साहित्य विकासमा आफ्नो संलग्नतालाई सम्झने क्रममा सन् १९३६ पहिलोपल्ट लिम्बू किताब देखेको तर पढ्न नसकेको आफ्नो संस्मरणमा उल्लेख गरेका छन्, 'त्यो किताब बाजवीर थलङ र इमानिसंह चेम्जोङ मिलेर सन् १९२८ सालमा कलकत्ताबाट साइक्लोस्टाइल मसिनमा छापी निकालेका रहेछन् ।' अंग्रेजी भाषामा औपचारिक स्नातक गरेका पदमिसंहले आइ.ए. पास गरेपछि सन् १९४६ साल अगस्टमा सर टाँसी नाम्ग्याल हाइस्कुलमा शिक्षक नियुक्त भएपछि इमानिसंह चेम्जोङलाई भेटेका थिए । संयोग इमानिसंह पनि सोही स्कुलमा शिक्षक थिए । सर टाँसी नाम्ग्याल हाइस्कुल पदमिसंह सुब्बाको साहित्यिक व्यक्तित्व निर्माणमा एउटा विश्वविद्यालय नै हो भन्न सकिन्छ । जब उनी त्यस स्कुलमा आइपुगे तब उनले नेपाली साहित्यमा केही गरौँ भन्ने तुल्सीबहादुर क्षेत्रीदेखि लिम्बू साहित्य भाषा र इतिहासमा काम गरिरहेका इमानिसंह चेम्जोङसम्मलाई भेटे । इमानिसंह चेम्जोङलाई भेटेपछि मनबहादुर खाम्धाक, सन्तवीर खाम्धाकसँग मिलेर लिम्बू किताब छापेर प्रचार गर्ने अभियान एकातिर थाले भने अर्कोतिर तुल्सीबहादुर क्षेत्रीदेखि अगमिसंह तामाङसँग मिलेर नेपाली साहित्यमा अपतन आन्दोलन शुरुवात गरेका थिए । सन् १९५१ मा चेम्जोङ सन्तवीर, मनबहादुरसँग मिलेर पदमिसंहले लिम्बू साउँ अक्षरको किताप 'तुम याक्थुङ निङ्वाभु साप्ला' तथा 'याक्थुङ निसिगेक साप्ला' लेखन तथा लिथोबाट मुद्रण गरेर प्रचारप्रसार गरेका थिए जुन लिम्बू भाषासाहित्य विकासमा ऐतिहासिक कडी थियो । पदमिसंह लिम्बू भाषासाहित्य अभियानको फूललाई रोप्ने गोड्ने र फुलाउने एक माली थिए । सिक्किमको सन्दर्भमा लिम्बू भाषा लिपि र साहित्य तथा पाठ्यपुस्तक लेखन प्रकाशन इतिहासका हरेक अनुच्छेदमा उनी कुनै न कुनै रुपमा जोडिएरै आउँछन् बिबि मुरिङ्ला र उनी औधी रुपमै जोडिएर आउँछन् । सन् १९८१ मा लिम्बू भाषालाई सिक्किम राज्य सरकारबाट एक राज्य भाषाको मान्यता दिलाउने सन् १९८३ देखि गान्तोक रेडियोबाट लिम्बू कार्यक्रम प्रशारण गर्नेदेखि सन् १९८८ सालमा भारतीय संविधानमा आठौँ अनुसुचीमा नेपाली भाषालाई मान्यता दिलाउने संघर्षमा उनको सकि्रय सहभागिता रहेको थियो । सन् १९६८ देखि सिक्किममा लिम्बू भाषा बैकल्पिक विषयका रुपमा पाठ्यक्रममा समावेश भयो सन् १९७५ मा त्यसलाई अनिवार्य बनाइयो अहिले स्नाकोत्तरसम्म लिम्बू भाषामा पठनपाठन हुन्छ । यसक्रममा लिम्बू भाषा पाठ्यपुस्तक निर्माण तथा लिपिलाई वैज्ञानिकता दिने काममा साहित्यकार बीबी मुरिङ्ला र पदमिसंहको भूमिका शीर्षस्थानमा देखिन्छ । पदमिसंह लिम्बू साहित्यका प्रथम उपन्यासकार र जीवनीकारसमेत हुन् । सन् १९८३ सालमा लिम्बू साहित्यमै प्रथम उपन्यास थत्थामा र प्रथम जीवनी 'साङ्ग्राम्बा मनबहादुर लेल्क्वाहाङ खाम्दाकु'प्रकाशित भएको पाइन्छ । थत्थामा उपन्यास आधुनिक लिम्बू आख्यानको एक 'माइलस्टोनु'हो । सामाजिक यथार्थवादी उपन्यास थत्थामालाई प्रताप सुब्बाले चलचित्रमा समेत उतार गरेका छन् । सिक्किमे लिम्बु भाषा साहित्यमा सरकारी पक्षबाट हुने नियुक्तीदेखि समूहगत पहलकदमीमा पदमिसंह सधैँ अग्रस्थानमा रहेको पाइन्छ । उनी लिम्बू भाषा विकासका लागि सिक्किम राज्यबाट सन् १९७० मा गठित लिम्बू पाठ्यपुस्तक उपसमितिको अध्यक्ष सन् १९८७मा मा गठित सुख्खिम याक्थुङ साप्सक सङ्जुम्भोको सन् १९८४ देखि १९९५ सम्म अध्यक्ष रहेका थिए । सन् १९७० मा पश्चिम सिक्किम थर्पुमा सिरिजङ्गा साक्थिम सङ्जुम्भो स्थापनामा पनि उनको भूमिका स्मरणीय छ । त्यो बाहेक सिक्किमको लिम्बू भाषा साहित्यिक पत्रकारितामा पनि उनको भूमिका अविस्मरणीय छ । उनले सन् १९७८ देखि शुरुमा हस्तलिखित प्रकाशित हुन थालेको तुम्दुम हेनाको केही अङ्क सम्पादन पनि गरेका थिए । सन् १९७८ मा प्रो।बज्रबराहीलाल र बी.बी. मुरिङ्लासँग हिन्दी-लिम्बू शब्दकोष सम्पादन र लेखन गरेका उनी लेखन-सम्पादनमा बी.बी. मुरिङ्लासँग अनेक मोडहरुमा सँगै नारिएर आउँछन् । लिम्बू भाषा तथा साहित्यलाई उचाइमा पुर्याउने काममा बी. बी. मुरिङ्ला र उनी अघिपछि अघिपछि देखिए पनि त्यो 'उछिनपाछिन'थिएन त्यो त अनुपम सहयात्रा थियो भाषासाहित्य समृद्धिमा । सिक्किमबाट प्रकाशित हुने लिम्बू साहित्यिक कृतिको भूमिका लेखनमा प्रकट भइरहने पदमिसंह समालोचकीय क्षमता राख्ने विद्वान थिए उनी 'सेरेमोनियल' होइन साँच्चिकै 'इन्टेलेक्च्युल' अभिभावकको छवि बनाएका थिए । पदमिसंहले शिक्षकको रुपमा विभिन्न विद्यालयमा सन् १९४६ देखि ११ वर्षसम्म अध्यापन गरे । यस क्रममा 'पी.एस. सर'ले चिनिए सन् १९६६ देखि १९८४ सालसम्म सिक्किम सरकारको प्रशासनिक सेवाअन्तगर्त उच्च तहसम्म पुगे । इमान्दार परिश्रमी र सरल मिजासका पदमिसंह प्राज्ञ अमर तुम्याहाङको नजरमा 'आँखामा राखे पनि नबिझाउने' व्यक्तित्वका थिए । 'पदमिसंह मुरिङ्ला 'अपतन'को भाषा साहित्यमा कति हो त योगदान ?' शायद पदमिसंहले जीवनको उत्तराद्र्धमा आफैँले आफूलाई यो प्रश्न गरिरहे । किनभने उनले आफ्नो संस्मरण 'लिम्बू लेख्य भाषाको विकासबारे आफैँलाई हेर्दा' शीर्षकको संस्मरणमा सन् १९८४ मा सेवा निवृत्त भएपछि आफ्नो समय सतरन्ज, रमी, बि्रजजस्ता तासखेलमा बितेकोमा पछुतो भएको उल्लेख गरेका छन् । 'पछुतो'को अर्थ के भने उनी भाषा साहित्यका लागि 'धेरै' गर्न चाहन्थे तर उनले नेपाली भाषा साहित्यका लागि जति गरे त्यो कुनै मानेमा कम छँदै थिएन । यससन्दर्भमा साहित्यकार बैरागी काइँलाले पदमिसंह सुब्बा 'अपतन'कृत्तित्व र व्यक्तित्व ग्रन्थमा लेखेको निम्न भनाइ मननयोग्य छ 'थोरै तर गहन र गम्भीर रचना साहित्य र समाजलाई दिने लेखकका रुपमा पदमिसंह मुरिङ्लालाई चिन्नुपर्दछ । उनलाई आधुनिक लिम्बू भाषा र साहित्यको आधा शताब्दीको इतिहासको साक्षी भन्दा अत्युक्ति हुन्न ।'स्वप्नील स्मृति

Saturday, July 17, 2010

सिसेक्वा तङनाम...

साउन १ गते साउने सङ्क्रान्ति पर्व । यो पर्व प्रायजसो सबै नेपालीको चाड हो । स्वदेश तथा विदेशमा रहने नेपालीहरूले साउने सङ्क्रान्ति पर्व आ-आफ्नै साँस्कृतिक मान्यता र परिस्थितिअनुसार मनाउने गर्दछन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने र मनाउने तौर-तरिकाहरू पनि केही भिन्न छन् । ती भिन्नताले भिन्दाभिन्दै किसिमका साँस्कृतिक सन्देशहरू दिन्छन् । यस्ता भिन्नता र समानताहरूलाई सही तवरले बुझ्न नसक्दा चार्डपर्वहरू र यसप्रतिका सकारात्मक सन्देश वा प्रभावहरू पनि एकापसमा बाझिएर खप्टिन गई विरोधाभासपूर्ण तरिकाले अलमल्लमा परेजस्तो लाग्न सक्छन् । यसर्थ, अबदेखि यस्ता धार्मिक-साँस्कृतिक महत्व राख्ने चार्डपर्वहरूप्रतिको हेराइ, बुझाइ, विश्लेषण वा सम्प्रेषण गराईमा पनि पुनर्संरचना हुन आवश्यक छ ।
आजसम्म राष्ट्रव्यापीरुपमा आएका साउने सङ्क्रान्तिपर्वप्रतिका अभिलेख तथा सम्प्रेषणहरू केवल एउटै जाति, वर्ग र धार्मिक-साँस्कृतिक समुदायको मान्यता एवम् चिन्तन विशेषमामात्र केन्द्रीत् छन् । अब यी र यस्ता चाडपर्वहरूलाई सबै नेपालीको साझा चाडको रुपमा विकसित गरी धार्मिक, साँस्कृतिक सहिष्णुता कायम गराउने हो भने राष्ट्रिय तहका विभिन्न सञ्चारमाध्यमहरूले विशेष अभियानको रुपमा विभिन्न जाति, वर्ग र समुदायमा गई कुन मुल्य-मान्यताको आधारमा कसरी मानी-बुझिल्याएका रहेछन् भनेर खोजी गरी प्रकाशमा ल्याउनु अपरिहार्य छ ।
सायद, धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्तिप्रतिको बुझाई ‘काण्डरक नामक राक्षसको पूजा गरी असारे हिलामैलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड’ हो । तर, नेपालमा आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरू पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही ‘लुतो’ फाल्ने चाडको रुपमा मात्र मान्दैनन् । किरात समुदायमा ‘काण्डरक’ नामक राक्षसभन्दा फरक प्रसङ्गमा ‘माङहाङ’ नामक एक पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक काहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यर्सथ, यो चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना-सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रुपमा पनि मान्ने गरिन्छ ।
नेपालको पूर्वीक्षेत्र लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन-जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फल, फूल, र पात(च्योङ)हरू सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खानापिन खाएर रमाइलो गर्दछन् । साउने सङ्क्रान्तिको दिन साँझपख गाउँघरमा मिठो-मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्कन्छन् । थाल, झयाम्टा, नाङ्लो र ढोलहरू बज्छन् । प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा-युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकालेका हुन्छन् । यसरी, खराब कुरालाई खेदाइरहेको बेला कुनै भूभप्रेत वा भौतिक शत्रू चोर, डाका आदिलाई खेदाइएका हुँदैनन् । विचरा किसानका छोराछोरीहरूले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्ग्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा ‘अनिकाल वा दुःख-पीडा’लाई त्यसरी पर्वको रुपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् । यसैगरी, उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक-साँस्कृतिक विकृति-विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरूले आग्रह गरेकाहुन्छन् । अर्थात् अब त नयाँ अन्नबाली र फलफूलहरू पाके । यसकारण, अब हामी कम्तीमा ६ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौं भनेर रमाएका हुन् रे उनीहरू । त्यस्तै संयोगवस, नेपालमा पुरानो आर्थिक वर्षो समाप्ती र नयाँ आर्थिक वर्षो शुभाराम्भ पनि यही साउने १ गतेबाट हुने हुनाले अब सामाजिक-साँस्कृतिक रुपमै कहाँ, के कति राजनीतिक रुपमा राम्रा काम र नरम्रा भ्रष्टाचार भए भनेर समीक्षा गर्ने पर्वको रुपमा पनि यो चाडलाई विकसित गरेर लान सकिन्छ ।
वैज्ञानिक मतमा साउने सङ्क्रान्तिको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यो दिन सूर्य दक्षिणायनतिर सङ्क्रमण भई कर्कट रेखामाथि पुग्ने हुनाले साउने सङ्क्रान्तिको दिनलाई कर्कट क्रान्ति/सङ्क्रान्ति (Tropic of Cancer, or Northern tropic) पनि भन्ने गरिन्छ । यही कारण यो दिनमा वर्षो सबैभन्दा लामो दिन र छोटो रात पनि हुने विश्वास गरिन्छ । परम्परागत रुपमा, एक हिसाबले, यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ ।
विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाति, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ । साथै, कुकुरडाइनो (Smilax mycrophylla), कागभलायो (Rhus insignis), कुरिलो (Asparagus Racemosus), सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रुपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ-आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ । यही साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रुपमा मनाउने गर्दछन् । महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको बर्त बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ । तर, यो मान्यता आदिवासी समुदायमा त्यति पाइँदैन ।
कृषिप्रधान राष्ट्र नेपालमा कृषकहरू दिनरात माना खाएर मुरी उब्जाउने काममा लागिरहेको बेला सरकारले कुनै सहयोग वा राहतहरू त दिएको पाइँदैन । तर, यही बीचमा पनि हिमाल, पहाड र तर्राई सबैतिरका किसानहरूले यो साउने सङ्क्रान्तिलाई एकदिन भए पनि पर्वको रुपमा मनाई अलिक सुविस्तामा सबै परिवार एकसाथ भई मिठा खानेपिन खाएर रमाइलो गर्ने गर्दछन् । त्यसैले, यो साउने सङ्क्रान्ति नेपाली किसानहरूको महान चाड हो पनि भन्न सकिन्छ ।
यो साउने सङ्क्रान्ति पर्वलाई आजकल स्वदेशमा मात्र नभएर विदेश हङकङ, युके, यु एस ए, अष्टे्रलियामा, मलेसिया, दुवई, साउदी, कतार आदि ठाउँमा पनि आफ्नो सुविधा र परिस्थिति अनुसार नेपालीहरू एक भई पार्टी वा वनभोजको आयोजना गरी हर्षोल्लासका साथ आफ्नो संस्कृति र मातृभूमि नेपालको सम्झना गर्दै मनाउने गर्दछन् ।
नेपालभित्र, मगरहरूले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान पर्वको रुपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई ‘हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई ‘वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ’ भनी मनाउने गर्दछन् । अथात् माघे सङ्क्रान्ति मरिन्छ कि भनेर मनाउने हो भने साउने सङ्क्रान्ति लौ बाँचियो भनेर मनाउने हो ।
थकाली आदिवासी जनजातिको परम्परागत धर्म-संगठन मुखियाप्रणाली हो । यो सामाजिकि संस्थाले पनि साउने सङ्क्रान्तिको दिनमा एक दिन त्यो समुदायलाई चाड मान्ने र जूवातास खेल्नसमेत छुट दिने गरेको छ । तर, अरु दिनमा पनि जूवातास खेलिएमा त्यही संस्थालेनै दण्ड वा जरिवाना गर्ने चलनसमेत रहेको छ । त्यसैगरी, तमु-गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउने गर्दछन् ।
पूर्वी तर्राईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रुपमा मनाउने गर्दछन् । पश्चिम कर्णालीको हुम्ला, जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष साँस्कृतिक नीधिको रुपमा मान्ने आइडी(Aidy) जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी ‘वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटिजाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभलक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा, सहकाल आइज’ भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् ।
पृथ्बीको निश्चित भूभागमा प्राकृतिक तथा मौसमी परिवर्तनका विशेष समय वा दिनलाई त्यहाँका सबै मानव समुदायले आ-आफ्नै तरिकाले बुझेर ग्रहण गरिल्याएका हुन्छन् । त्यही मौलिक बुझाइ र ग्रहण गराइअनुसार नै त्यस घटना वा विशेष समयप्रतिको मान्यताहरू विकसित गरी ल्याएका हुन्छन् । कतिपय, तिनै मान्यताहरूले नै सामुहिक मान्यताको रुपधारण गर्दै विशेष चाड वा पर्वको मान्यता पाउँदछन् । यसमा सापेक्ष वैज्ञानिकता र सत्यताको खोजीसँगै एकापसमा राम्रो वा नराम्रो जे जस्तो लागे पनि सबैलाई समान मान्यता र अवसर दिएर संरक्षण गर्दै लैजाने कर्तव्य र जिम्मेवारी सम्वद्धजाति, धार्मिक वा साँस्कृतिक समुदाय र सरकारकोसमेत हुन्छ । साउने सङ्क्रान्तिको हकमा, यो सबै जाति, वर्ग, समुदाय र क्षेत्रको साझा चाड भएकोले यसलाई सबै नेपालीको साझा पर्वको रुपमा स्वीकार गरी नेपाल सरकारले र्सार्वजनिक विदा घोषणा गरेर यसको सम्मान र सम्बोधन गर्नुपर्दछ ।

Thursday, July 8, 2010

धनकुटा, राजारानी गाँउको किंबदन्ती लोककथा (राजारानी नाम कसरी रहन गयो?)



धनकुटा सदरमुकाम देखि पुर्ब दक्षिणतिर रहेको रमणीय गाँउ राजारानी, परापुर्ब कालमा त्यहा दुईवटा पोखरी थिए l ती पोखरीहरुलाई लिम्बु भाषामा मावारक र पावारक (आमा पोखरी र बाबु पोखरी) भनिन्थ्यो l लिम्बु भाषामा मा = आमा अनि पा = बाबु, वारक को अर्थ पोखरी हो, कालान्तरमा राजा पोखरी र रानी पोखरी नामकरण गरियो (शाह बंशी राजाहरुले जबर्जस्ति राजा र रानी भन्न लगाएको बूढा पाकाहरु बताउछन) l

त्यहा त्यो बेला पा र मा अर्थात् राजा र रानी थिए त्यो लाजेको, उनीहरुकै अधिनमा त्यो पोखरी चलेको थियो, मतलब रानी नै मावारक अनि राजा नै पावारक बुझिन्थ्यो l उ बेला ठुलो जंगल थियो रे, मा र पा संग एक जना सुसारे र एउटा परेवा (समाचार ल्याउने, लाने) थिए l पा सिकार खेल्न सौखिन थिए, जब सिकार खेल्न जान्थे तब आफ्नो साथमा सुसारे अनि परेवालाई पिंजडामा हालेर लान्थे रे l उसको लागि परेवाबाट समाचार सेवा हुन्थ्यो भने आफ्नो रक्षा सुसारेबाट हुन्थ्यो l एक दिन राजाले निकै टाढाको जंगलमा सिकार खेल्न जान तयारी गरे, राजासंगै आफ्नो सुसारे अनि परेवा पनि लाने भए l उसले सिकारमा जानु अघि रानीलाई भने " म सिकार खेल्न जादैछु मसंग सुसारे र परेवा पनि जादैछन्, यदि म माथि आपति या केहि भएमा भने म पिंजडाबाट परेवालाई छोडी दिनेछु, परेवा सिधै तिमी कहाँ आउने छ" मनमा कुनै चिन्ता नलिनु है भन्दै भनि बाटो लागे रे l

राजा, सुसारे र परेवा निकै दिन सिकार खेल्दै जंगलमा बसे l यता रानी भने उनीहरु फर्की नआएकोले चिन्ता गर्न लागिन्, राजा सिकारमा नै व्यस्त भए रे l एक दिन अचानक सुसारेले पिंजडाको ढोका खोलि दिएछ र परेवा उम्कियो अनि उडेर मावारक रानी भएको ठाउँमा पुग्यो l रानीले परेवा आइपुगे पछि अबस्य राजा संकटमा पर्यो भन्ने सम्झी, राजाको ज्यान तल माथि भयो कि, रानीले राजाले सिकार गर्ने बेलामा राजा माथि केहि भएमा परेवा मावारक आइपुग्ने भनि सम्झाएको कुरा सम्झी रे l म एक्लै कसरी बसू! भन्दै निकै रोइ कराई गरिन् रे, राजा नै नभए पछि म किन बाच्नु र भन्दै, तिनी मावारकमा हाम फालेर मरी l

राजाले पिंजडाबाट परेवा उम्की गएको कुरा थाहा पाए पछि, सुसारेलाई संच कुशलकै समाचार पुर्याउन रानी कहाँ दौडेर जान अरायो रे l सुसारे दौडेर मावारक पुग्यो तर परेवा पहिले नै पुगी सकेको अनि रानीले मावारकमा हाम फालेर मरिसकेको पायो l राजा पनि पछि पछि दगुर्दै मावारक आइपुगे, आफु जिउदै हुदै रानीले आत्महत्या गरे पछि राजाले पनि म एक्लै के बाच्नु भन्दै पावारकमा हाम फाली प्राण त्याग गरे रे l

राजा र रानीको देहान्त पछि परेवा पनि अन्तै गयो, अब सुसारे मात्र बाकी भए, आफुले अन्जानबस पिंजडाबाट परेवा छोडी दिएकोले रानी र राजाले पोखरीमा हाम फाली प्राण त्याग गरेकोमा उसलाई ठुलो पछुताउ भयो l अनि उसले पनि ठुलो पछुतोका साथ खदम (लिम्बु भाषामा अध्यारो) खोलामा हाम फालेर मर्यो l राजा र रानी दुवैले आत्महत्या पछि ती दुई पोखरी, पा र मा फुटेर खोला भई दक्षिण तिर बगेर गए, त्यसलाई अहिले खदम खोला भनियो l

राजारानी गाँउको मावारक र पावारक पानी सुकेर सिमसारमा परिणत भयो, अहिले त्यहा धान खेति हुने गर्छ र अहिले भर्खरै मावारकलाई पर्यटन बिकाशको लागि बाध थुनेर कृत्रिम पोखरी बनाइएको छ l जसलाई "रानी ताल" नामकरण गरि पर्यटकीय क्षेत्र घोषणा गरिएको छ l यस तालमा माछा पालन गरिएको छ साथै घुम्न आउने पर्यटकलाई डुंगाबाट बोटिंग गरिन्छ l


अर्को किम्बदन्ती पनि छ,

यस मावारक पोखरी भन्दा केहि माथि दमाई पोखरी थियो रे (अझ पनि अलि गहिरो ठाउँ छ त्यहा) l कालान्तरमा मान्छेको बसोबास बढ्दै गए पछि मावारक अनि पावारक पोखरीमा फोहोर अनि दुर्घन्धित भएकोले मावारक अनि पावारक रिसाएर अनि आफ्नो बाजा बजाई दिने दमाई पोखरीलाई समेत लिएर उभो देश ताप्लेजुंग तिर बसाइ सर्यो रे भन्ने बुढा पाकाहरु भन्छन, अझ पनि मध्य रातमा कहिले कहिँ बाजा बजेको सुनिन्छ है भनेर बूढा पाकाहरु भन्छन l



साभार: राजारानी गाउका बूढा पाकाहरुका मुखबाट


साम्लो लुंगधुंग कोकमा (गीत गाउने ढुंगाको ठाउँ डाँडा) किम्बदन्ती, खम्बु वदेबाको नामकरण

-बुद्ध चेम्जोंग

लिम्बु भाषामा साम्लो= गीत र लुंग= ढुंगा, धुंग= ठाउँ अनि कोकमाको अर्थ डाँडा हो l साम्लो लुंग धुंग डांडा भनेर निकै प्रख्यात चिनिएको डांडा धनकुटा जिल्लाको राजारानी गा.बि.स.को कोर्णा क्षेत्रमा पर्छ l यहाबाट मोरंग, सुनसरीको फाटहरु मजाले हेर्न सकिन्छ र उतरमा कंचनजंघा हिमाल देखि मकालु खुम्भाकर्ण हिमाल समेत देख्न सकिन्छ l
त्यस डांडाको पश्चिम मुनि तिर खम्देबा नामको अलि अलि भिरालो पाखा छ, त्यो ठाउँमा ४,५ सय बर्ष पहिले त्यहा खम्बु राईहरु बस्थे रे l सावनमा अविरल पानी परे पछि साम्लो लुंगधुंगको पश्चिमतिरको पाखो पुरै पहिरो गई बगाएर सबै खम्बुहरु मरेछन l अनि त्यो ठाउँलाई खम्बु वदेबा भनियो रे, (वदेबा को अर्थ लिम्बु भाषामा बगाएको बुझिन्छ) कालान्तरमा त्यही खम्बु वदेबा अप्रभंस भै अहिलेको "खम्देबा" हुन गएको कुरा गाउँका बुढा पाकाहरु भन्छन l

हाम्रो घर राजारानी नागी भए पनि बाजे,बुवाले यसै साम्लो लुंगधुंग डांडाको पश्चिम मुनितिरको जंगल फाडेर खेति योग्य बनाउनु भएको थियो l त्यहा हाम्रो सहित अरु बाजे, काका पर्नेहरुको पनि पाखाबारी साथै खरबारी (घर छाउने) पाखा छ अहिले पनि l नागीबाट खम्देबा पुग्नलाई खाली जीउ मात्रै, बिना भारी पनि १ घण्टा जति लाग्छ l म सानो छदा हामी हिउदमा २ महिना जति गाइ गोरु, बाख्रा सबै लिएर त्यो खम्देबामा गोठ बनाएर बस्ने गर्थ्यौ l त्यो बेलाको गोठ बस्नुको मजा नै अर्को संसार जस्तो लाग्छ अहिले सम्झिंदा l हामी त्यो बेला खर काटेर बेच्ने गर्थ्यौ, दुइ सय भारी जति आउने त्यहा हाम्रो खरबारी छ l अहिले २०५० साल पछि हाम्रो परिवारले खेतिबारीमा ध्यान दिन नसकेपछि हामीले खम्देबा जान छोडी दियौ तापनि त्यहाको पाखोबारी अनि खरबारीमा भएका रुख घासहरु बेच्ने काम कहिले कही हुन्छ रे भन्ने सुन्छु मेरो साइला दाजुको मुखबाट l

साम्लो लुंगधुंग डांडाको शिरमा दुईवटा ढुंगा छन् त्यो ढुंगा संगै जोडिएको एउटा किम्बदन्ती छ l परापुर्ब कालमा एकै ठाउका चेली माइती पर्ने (दुइ जना उमेर पुगेका तन्नेरी, तरुनी) त्यो दुइवटा ढुंगामा बसेर गीत पालम गाउदै निकै दिन बसेछन् l यसरी पालम गाउदै बस्ने क्रममा तिनीहरु बीच अनैतिक सम्बन्ध हुन पुगेछ, पछि उनीहरुमा चेली माइती हौ भन्ने ज्ञान भएछ l अनि हामीले गल्ति गरेछौ, अब छुट्टिनु पर्छ, हाम्रो फेरी भेट नहोस भन्दै सेम्मुई बिदाई गीत गाएर छुट्टिएछन् l त्यो चेली माइतीले त्यो दुईवटा ढुंगा माथि गीत पालम गाएर छुट्टिए देखि त्यो डांडालाइ साम्लो लुंगधुंग डांडा भनियो रे भनेर बुढा पाकाहरु भन्छन l

अझ पनि जो कोहि पनि त्यो साम्लो लुंगधुंग डांडामा पुग्यो भने अलि कति भए पनि गीत गाउनै पर्छ होइन भने केहि अफाप या बिमारी भइन्छ भन्ने जन विश्वास छ l


साभार: गाउका बुढा पाकाहरु