Saturday, July 17, 2010

सिसेक्वा तङनाम...

साउन १ गते साउने सङ्क्रान्ति पर्व । यो पर्व प्रायजसो सबै नेपालीको चाड हो । स्वदेश तथा विदेशमा रहने नेपालीहरूले साउने सङ्क्रान्ति पर्व आ-आफ्नै साँस्कृतिक मान्यता र परिस्थितिअनुसार मनाउने गर्दछन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने र मनाउने तौर-तरिकाहरू पनि केही भिन्न छन् । ती भिन्नताले भिन्दाभिन्दै किसिमका साँस्कृतिक सन्देशहरू दिन्छन् । यस्ता भिन्नता र समानताहरूलाई सही तवरले बुझ्न नसक्दा चार्डपर्वहरू र यसप्रतिका सकारात्मक सन्देश वा प्रभावहरू पनि एकापसमा बाझिएर खप्टिन गई विरोधाभासपूर्ण तरिकाले अलमल्लमा परेजस्तो लाग्न सक्छन् । यसर्थ, अबदेखि यस्ता धार्मिक-साँस्कृतिक महत्व राख्ने चार्डपर्वहरूप्रतिको हेराइ, बुझाइ, विश्लेषण वा सम्प्रेषण गराईमा पनि पुनर्संरचना हुन आवश्यक छ ।
आजसम्म राष्ट्रव्यापीरुपमा आएका साउने सङ्क्रान्तिपर्वप्रतिका अभिलेख तथा सम्प्रेषणहरू केवल एउटै जाति, वर्ग र धार्मिक-साँस्कृतिक समुदायको मान्यता एवम् चिन्तन विशेषमामात्र केन्द्रीत् छन् । अब यी र यस्ता चाडपर्वहरूलाई सबै नेपालीको साझा चाडको रुपमा विकसित गरी धार्मिक, साँस्कृतिक सहिष्णुता कायम गराउने हो भने राष्ट्रिय तहका विभिन्न सञ्चारमाध्यमहरूले विशेष अभियानको रुपमा विभिन्न जाति, वर्ग र समुदायमा गई कुन मुल्य-मान्यताको आधारमा कसरी मानी-बुझिल्याएका रहेछन् भनेर खोजी गरी प्रकाशमा ल्याउनु अपरिहार्य छ ।
सायद, धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्तिप्रतिको बुझाई ‘काण्डरक नामक राक्षसको पूजा गरी असारे हिलामैलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड’ हो । तर, नेपालमा आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरू पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही ‘लुतो’ फाल्ने चाडको रुपमा मात्र मान्दैनन् । किरात समुदायमा ‘काण्डरक’ नामक राक्षसभन्दा फरक प्रसङ्गमा ‘माङहाङ’ नामक एक पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक काहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यर्सथ, यो चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना-सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रुपमा पनि मान्ने गरिन्छ ।
नेपालको पूर्वीक्षेत्र लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन-जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फल, फूल, र पात(च्योङ)हरू सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खानापिन खाएर रमाइलो गर्दछन् । साउने सङ्क्रान्तिको दिन साँझपख गाउँघरमा मिठो-मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्कन्छन् । थाल, झयाम्टा, नाङ्लो र ढोलहरू बज्छन् । प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा-युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकालेका हुन्छन् । यसरी, खराब कुरालाई खेदाइरहेको बेला कुनै भूभप्रेत वा भौतिक शत्रू चोर, डाका आदिलाई खेदाइएका हुँदैनन् । विचरा किसानका छोराछोरीहरूले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्ग्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा ‘अनिकाल वा दुःख-पीडा’लाई त्यसरी पर्वको रुपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् । यसैगरी, उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक-साँस्कृतिक विकृति-विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरूले आग्रह गरेकाहुन्छन् । अर्थात् अब त नयाँ अन्नबाली र फलफूलहरू पाके । यसकारण, अब हामी कम्तीमा ६ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौं भनेर रमाएका हुन् रे उनीहरू । त्यस्तै संयोगवस, नेपालमा पुरानो आर्थिक वर्षो समाप्ती र नयाँ आर्थिक वर्षो शुभाराम्भ पनि यही साउने १ गतेबाट हुने हुनाले अब सामाजिक-साँस्कृतिक रुपमै कहाँ, के कति राजनीतिक रुपमा राम्रा काम र नरम्रा भ्रष्टाचार भए भनेर समीक्षा गर्ने पर्वको रुपमा पनि यो चाडलाई विकसित गरेर लान सकिन्छ ।
वैज्ञानिक मतमा साउने सङ्क्रान्तिको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यो दिन सूर्य दक्षिणायनतिर सङ्क्रमण भई कर्कट रेखामाथि पुग्ने हुनाले साउने सङ्क्रान्तिको दिनलाई कर्कट क्रान्ति/सङ्क्रान्ति (Tropic of Cancer, or Northern tropic) पनि भन्ने गरिन्छ । यही कारण यो दिनमा वर्षो सबैभन्दा लामो दिन र छोटो रात पनि हुने विश्वास गरिन्छ । परम्परागत रुपमा, एक हिसाबले, यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ ।
विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाति, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ । साथै, कुकुरडाइनो (Smilax mycrophylla), कागभलायो (Rhus insignis), कुरिलो (Asparagus Racemosus), सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रुपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ-आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ । यही साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रुपमा मनाउने गर्दछन् । महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको बर्त बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ । तर, यो मान्यता आदिवासी समुदायमा त्यति पाइँदैन ।
कृषिप्रधान राष्ट्र नेपालमा कृषकहरू दिनरात माना खाएर मुरी उब्जाउने काममा लागिरहेको बेला सरकारले कुनै सहयोग वा राहतहरू त दिएको पाइँदैन । तर, यही बीचमा पनि हिमाल, पहाड र तर्राई सबैतिरका किसानहरूले यो साउने सङ्क्रान्तिलाई एकदिन भए पनि पर्वको रुपमा मनाई अलिक सुविस्तामा सबै परिवार एकसाथ भई मिठा खानेपिन खाएर रमाइलो गर्ने गर्दछन् । त्यसैले, यो साउने सङ्क्रान्ति नेपाली किसानहरूको महान चाड हो पनि भन्न सकिन्छ ।
यो साउने सङ्क्रान्ति पर्वलाई आजकल स्वदेशमा मात्र नभएर विदेश हङकङ, युके, यु एस ए, अष्टे्रलियामा, मलेसिया, दुवई, साउदी, कतार आदि ठाउँमा पनि आफ्नो सुविधा र परिस्थिति अनुसार नेपालीहरू एक भई पार्टी वा वनभोजको आयोजना गरी हर्षोल्लासका साथ आफ्नो संस्कृति र मातृभूमि नेपालको सम्झना गर्दै मनाउने गर्दछन् ।
नेपालभित्र, मगरहरूले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान पर्वको रुपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई ‘हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई ‘वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ’ भनी मनाउने गर्दछन् । अथात् माघे सङ्क्रान्ति मरिन्छ कि भनेर मनाउने हो भने साउने सङ्क्रान्ति लौ बाँचियो भनेर मनाउने हो ।
थकाली आदिवासी जनजातिको परम्परागत धर्म-संगठन मुखियाप्रणाली हो । यो सामाजिकि संस्थाले पनि साउने सङ्क्रान्तिको दिनमा एक दिन त्यो समुदायलाई चाड मान्ने र जूवातास खेल्नसमेत छुट दिने गरेको छ । तर, अरु दिनमा पनि जूवातास खेलिएमा त्यही संस्थालेनै दण्ड वा जरिवाना गर्ने चलनसमेत रहेको छ । त्यसैगरी, तमु-गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउने गर्दछन् ।
पूर्वी तर्राईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रुपमा मनाउने गर्दछन् । पश्चिम कर्णालीको हुम्ला, जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष साँस्कृतिक नीधिको रुपमा मान्ने आइडी(Aidy) जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी ‘वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटिजाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभलक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा, सहकाल आइज’ भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् ।
पृथ्बीको निश्चित भूभागमा प्राकृतिक तथा मौसमी परिवर्तनका विशेष समय वा दिनलाई त्यहाँका सबै मानव समुदायले आ-आफ्नै तरिकाले बुझेर ग्रहण गरिल्याएका हुन्छन् । त्यही मौलिक बुझाइ र ग्रहण गराइअनुसार नै त्यस घटना वा विशेष समयप्रतिको मान्यताहरू विकसित गरी ल्याएका हुन्छन् । कतिपय, तिनै मान्यताहरूले नै सामुहिक मान्यताको रुपधारण गर्दै विशेष चाड वा पर्वको मान्यता पाउँदछन् । यसमा सापेक्ष वैज्ञानिकता र सत्यताको खोजीसँगै एकापसमा राम्रो वा नराम्रो जे जस्तो लागे पनि सबैलाई समान मान्यता र अवसर दिएर संरक्षण गर्दै लैजाने कर्तव्य र जिम्मेवारी सम्वद्धजाति, धार्मिक वा साँस्कृतिक समुदाय र सरकारकोसमेत हुन्छ । साउने सङ्क्रान्तिको हकमा, यो सबै जाति, वर्ग, समुदाय र क्षेत्रको साझा चाड भएकोले यसलाई सबै नेपालीको साझा पर्वको रुपमा स्वीकार गरी नेपाल सरकारले र्सार्वजनिक विदा घोषणा गरेर यसको सम्मान र सम्बोधन गर्नुपर्दछ ।

Thursday, July 8, 2010

धनकुटा, राजारानी गाँउको किंबदन्ती लोककथा (राजारानी नाम कसरी रहन गयो?)



धनकुटा सदरमुकाम देखि पुर्ब दक्षिणतिर रहेको रमणीय गाँउ राजारानी, परापुर्ब कालमा त्यहा दुईवटा पोखरी थिए l ती पोखरीहरुलाई लिम्बु भाषामा मावारक र पावारक (आमा पोखरी र बाबु पोखरी) भनिन्थ्यो l लिम्बु भाषामा मा = आमा अनि पा = बाबु, वारक को अर्थ पोखरी हो, कालान्तरमा राजा पोखरी र रानी पोखरी नामकरण गरियो (शाह बंशी राजाहरुले जबर्जस्ति राजा र रानी भन्न लगाएको बूढा पाकाहरु बताउछन) l

त्यहा त्यो बेला पा र मा अर्थात् राजा र रानी थिए त्यो लाजेको, उनीहरुकै अधिनमा त्यो पोखरी चलेको थियो, मतलब रानी नै मावारक अनि राजा नै पावारक बुझिन्थ्यो l उ बेला ठुलो जंगल थियो रे, मा र पा संग एक जना सुसारे र एउटा परेवा (समाचार ल्याउने, लाने) थिए l पा सिकार खेल्न सौखिन थिए, जब सिकार खेल्न जान्थे तब आफ्नो साथमा सुसारे अनि परेवालाई पिंजडामा हालेर लान्थे रे l उसको लागि परेवाबाट समाचार सेवा हुन्थ्यो भने आफ्नो रक्षा सुसारेबाट हुन्थ्यो l एक दिन राजाले निकै टाढाको जंगलमा सिकार खेल्न जान तयारी गरे, राजासंगै आफ्नो सुसारे अनि परेवा पनि लाने भए l उसले सिकारमा जानु अघि रानीलाई भने " म सिकार खेल्न जादैछु मसंग सुसारे र परेवा पनि जादैछन्, यदि म माथि आपति या केहि भएमा भने म पिंजडाबाट परेवालाई छोडी दिनेछु, परेवा सिधै तिमी कहाँ आउने छ" मनमा कुनै चिन्ता नलिनु है भन्दै भनि बाटो लागे रे l

राजा, सुसारे र परेवा निकै दिन सिकार खेल्दै जंगलमा बसे l यता रानी भने उनीहरु फर्की नआएकोले चिन्ता गर्न लागिन्, राजा सिकारमा नै व्यस्त भए रे l एक दिन अचानक सुसारेले पिंजडाको ढोका खोलि दिएछ र परेवा उम्कियो अनि उडेर मावारक रानी भएको ठाउँमा पुग्यो l रानीले परेवा आइपुगे पछि अबस्य राजा संकटमा पर्यो भन्ने सम्झी, राजाको ज्यान तल माथि भयो कि, रानीले राजाले सिकार गर्ने बेलामा राजा माथि केहि भएमा परेवा मावारक आइपुग्ने भनि सम्झाएको कुरा सम्झी रे l म एक्लै कसरी बसू! भन्दै निकै रोइ कराई गरिन् रे, राजा नै नभए पछि म किन बाच्नु र भन्दै, तिनी मावारकमा हाम फालेर मरी l

राजाले पिंजडाबाट परेवा उम्की गएको कुरा थाहा पाए पछि, सुसारेलाई संच कुशलकै समाचार पुर्याउन रानी कहाँ दौडेर जान अरायो रे l सुसारे दौडेर मावारक पुग्यो तर परेवा पहिले नै पुगी सकेको अनि रानीले मावारकमा हाम फालेर मरिसकेको पायो l राजा पनि पछि पछि दगुर्दै मावारक आइपुगे, आफु जिउदै हुदै रानीले आत्महत्या गरे पछि राजाले पनि म एक्लै के बाच्नु भन्दै पावारकमा हाम फाली प्राण त्याग गरे रे l

राजा र रानीको देहान्त पछि परेवा पनि अन्तै गयो, अब सुसारे मात्र बाकी भए, आफुले अन्जानबस पिंजडाबाट परेवा छोडी दिएकोले रानी र राजाले पोखरीमा हाम फाली प्राण त्याग गरेकोमा उसलाई ठुलो पछुताउ भयो l अनि उसले पनि ठुलो पछुतोका साथ खदम (लिम्बु भाषामा अध्यारो) खोलामा हाम फालेर मर्यो l राजा र रानी दुवैले आत्महत्या पछि ती दुई पोखरी, पा र मा फुटेर खोला भई दक्षिण तिर बगेर गए, त्यसलाई अहिले खदम खोला भनियो l

राजारानी गाँउको मावारक र पावारक पानी सुकेर सिमसारमा परिणत भयो, अहिले त्यहा धान खेति हुने गर्छ र अहिले भर्खरै मावारकलाई पर्यटन बिकाशको लागि बाध थुनेर कृत्रिम पोखरी बनाइएको छ l जसलाई "रानी ताल" नामकरण गरि पर्यटकीय क्षेत्र घोषणा गरिएको छ l यस तालमा माछा पालन गरिएको छ साथै घुम्न आउने पर्यटकलाई डुंगाबाट बोटिंग गरिन्छ l


अर्को किम्बदन्ती पनि छ,

यस मावारक पोखरी भन्दा केहि माथि दमाई पोखरी थियो रे (अझ पनि अलि गहिरो ठाउँ छ त्यहा) l कालान्तरमा मान्छेको बसोबास बढ्दै गए पछि मावारक अनि पावारक पोखरीमा फोहोर अनि दुर्घन्धित भएकोले मावारक अनि पावारक रिसाएर अनि आफ्नो बाजा बजाई दिने दमाई पोखरीलाई समेत लिएर उभो देश ताप्लेजुंग तिर बसाइ सर्यो रे भन्ने बुढा पाकाहरु भन्छन, अझ पनि मध्य रातमा कहिले कहिँ बाजा बजेको सुनिन्छ है भनेर बूढा पाकाहरु भन्छन l



साभार: राजारानी गाउका बूढा पाकाहरुका मुखबाट


साम्लो लुंगधुंग कोकमा (गीत गाउने ढुंगाको ठाउँ डाँडा) किम्बदन्ती, खम्बु वदेबाको नामकरण

-बुद्ध चेम्जोंग

लिम्बु भाषामा साम्लो= गीत र लुंग= ढुंगा, धुंग= ठाउँ अनि कोकमाको अर्थ डाँडा हो l साम्लो लुंग धुंग डांडा भनेर निकै प्रख्यात चिनिएको डांडा धनकुटा जिल्लाको राजारानी गा.बि.स.को कोर्णा क्षेत्रमा पर्छ l यहाबाट मोरंग, सुनसरीको फाटहरु मजाले हेर्न सकिन्छ र उतरमा कंचनजंघा हिमाल देखि मकालु खुम्भाकर्ण हिमाल समेत देख्न सकिन्छ l
त्यस डांडाको पश्चिम मुनि तिर खम्देबा नामको अलि अलि भिरालो पाखा छ, त्यो ठाउँमा ४,५ सय बर्ष पहिले त्यहा खम्बु राईहरु बस्थे रे l सावनमा अविरल पानी परे पछि साम्लो लुंगधुंगको पश्चिमतिरको पाखो पुरै पहिरो गई बगाएर सबै खम्बुहरु मरेछन l अनि त्यो ठाउँलाई खम्बु वदेबा भनियो रे, (वदेबा को अर्थ लिम्बु भाषामा बगाएको बुझिन्छ) कालान्तरमा त्यही खम्बु वदेबा अप्रभंस भै अहिलेको "खम्देबा" हुन गएको कुरा गाउँका बुढा पाकाहरु भन्छन l

हाम्रो घर राजारानी नागी भए पनि बाजे,बुवाले यसै साम्लो लुंगधुंग डांडाको पश्चिम मुनितिरको जंगल फाडेर खेति योग्य बनाउनु भएको थियो l त्यहा हाम्रो सहित अरु बाजे, काका पर्नेहरुको पनि पाखाबारी साथै खरबारी (घर छाउने) पाखा छ अहिले पनि l नागीबाट खम्देबा पुग्नलाई खाली जीउ मात्रै, बिना भारी पनि १ घण्टा जति लाग्छ l म सानो छदा हामी हिउदमा २ महिना जति गाइ गोरु, बाख्रा सबै लिएर त्यो खम्देबामा गोठ बनाएर बस्ने गर्थ्यौ l त्यो बेलाको गोठ बस्नुको मजा नै अर्को संसार जस्तो लाग्छ अहिले सम्झिंदा l हामी त्यो बेला खर काटेर बेच्ने गर्थ्यौ, दुइ सय भारी जति आउने त्यहा हाम्रो खरबारी छ l अहिले २०५० साल पछि हाम्रो परिवारले खेतिबारीमा ध्यान दिन नसकेपछि हामीले खम्देबा जान छोडी दियौ तापनि त्यहाको पाखोबारी अनि खरबारीमा भएका रुख घासहरु बेच्ने काम कहिले कही हुन्छ रे भन्ने सुन्छु मेरो साइला दाजुको मुखबाट l

साम्लो लुंगधुंग डांडाको शिरमा दुईवटा ढुंगा छन् त्यो ढुंगा संगै जोडिएको एउटा किम्बदन्ती छ l परापुर्ब कालमा एकै ठाउका चेली माइती पर्ने (दुइ जना उमेर पुगेका तन्नेरी, तरुनी) त्यो दुइवटा ढुंगामा बसेर गीत पालम गाउदै निकै दिन बसेछन् l यसरी पालम गाउदै बस्ने क्रममा तिनीहरु बीच अनैतिक सम्बन्ध हुन पुगेछ, पछि उनीहरुमा चेली माइती हौ भन्ने ज्ञान भएछ l अनि हामीले गल्ति गरेछौ, अब छुट्टिनु पर्छ, हाम्रो फेरी भेट नहोस भन्दै सेम्मुई बिदाई गीत गाएर छुट्टिएछन् l त्यो चेली माइतीले त्यो दुईवटा ढुंगा माथि गीत पालम गाएर छुट्टिए देखि त्यो डांडालाइ साम्लो लुंगधुंग डांडा भनियो रे भनेर बुढा पाकाहरु भन्छन l

अझ पनि जो कोहि पनि त्यो साम्लो लुंगधुंग डांडामा पुग्यो भने अलि कति भए पनि गीत गाउनै पर्छ होइन भने केहि अफाप या बिमारी भइन्छ भन्ने जन विश्वास छ l


साभार: गाउका बुढा पाकाहरु

साम्लो लुंगधुंग कोकमा (गीत गाउने ढुंगाको ठाउँ डाँडा) किम्बदन्ती, खम्बु वदेबाको नामकरण


लिम्बु भाषामा साम्लो= गीत र लुंग= ढुंगा, धुंग= ठाउँ अनि कोकमाको अर्थ डाँडा हो l साम्लो लुंग धुंग डांडा भनेर निकै प्रख्यात चिनिएको डांडा धनकुटा जिल्लाको राजारानी गा.बि.स.को कोर्णा क्षेत्रमा पर्छ l यहाबाट मोरंग, सुनसरीको फाटहरु मजाले हेर्न सकिन्छ र उतरमा कंचनजंघा हिमाल देखि मकालु खुम्भाकर्ण हिमाल समेत देख्न सकिन्छ l
त्यस डांडाको पश्चिम मुनि तिर खम्देबा नामको अलि अलि भिरालो पाखा छ, त्यो ठाउँमा ४,५ सय बर्ष पहिले त्यहा खम्बु राईहरु बस्थे रे l सावनमा अविरल पानी परे पछि साम्लो लुंगधुंगको पश्चिमतिरको पाखो पुरै पहिरो गई बगाएर सबै खम्बुहरु मरेछन l अनि त्यो ठाउँलाई खम्बु वदेबा भनियो रे, (वदेबा को अर्थ लिम्बु भाषामा बगाएको बुझिन्छ) कालान्तरमा त्यही खम्बु वदेबा अप्रभंस भै अहिलेको "खम्देबा" हुन गएको कुरा गाउँका बुढा पाकाहरु भन्छन l

हाम्रो घर राजारानी नागी भए पनि बाजे,बुवाले यसै साम्लो लुंगधुंग डांडाको पश्चिम मुनितिरको जंगल फाडेर खेति योग्य बनाउनु भएको थियो l त्यहा हाम्रो सहित अरु बाजे, काका पर्नेहरुको पनि पाखाबारी साथै खरबारी (घर छाउने) पाखा छ अहिले पनि l नागीबाट खम्देबा पुग्नलाई खाली जीउ मात्रै, बिना भारी पनि १ घण्टा जति लाग्छ l म सानो छदा हामी हिउदमा २ महिना जति गाइ गोरु, बाख्रा सबै लिएर त्यो खम्देबामा गोठ बनाएर बस्ने गर्थ्यौ l त्यो बेलाको गोठ बस्नुको मजा नै अर्को संसार जस्तो लाग्छ अहिले सम्झिंदा l हामी त्यो बेला खर काटेर बेच्ने गर्थ्यौ, दुइ सय भारी जति आउने त्यहा हाम्रो खरबारी छ l अहिले २०५० साल पछि हाम्रो परिवारले खेतिबारीमा ध्यान दिन नसकेपछि हामीले खम्देबा जान छोडी दियौ तापनि त्यहाको पाखोबारी अनि खरबारीमा भएका रुख घासहरु बेच्ने काम कहिले कही हुन्छ रे भन्ने सुन्छु मेरो साइला दाजुको मुखबाट l

साम्लो लुंगधुंग डांडाको शिरमा दुईवटा ढुंगा छन् त्यो ढुंगा संगै जोडिएको एउटा किम्बदन्ती छ l परापुर्ब कालमा एकै ठाउका चेली माइती पर्ने (दुइ जना उमेर पुगेका तन्नेरी, तरुनी) त्यो दुइवटा ढुंगामा बसेर गीत पालम गाउदै निकै दिन बसेछन् l यसरी पालम गाउदै बस्ने क्रममा तिनीहरु बीच अनैतिक सम्बन्ध हुन पुगेछ, पछि उनीहरुमा चेली माइती हौ भन्ने ज्ञान भएछ l अनि हामीले गल्ति गरेछौ, अब छुट्टिनु पर्छ, हाम्रो फेरी भेट नहोस भन्दै सेम्मुई बिदाई गीत गाएर छुट्टिएछन् l त्यो चेली माइतीले त्यो दुईवटा ढुंगा माथि गीत पालम गाएर छुट्टिए देखि त्यो डांडालाइ साम्लो लुंगधुंग डांडा भनियो रे भनेर बुढा पाकाहरु भन्छन l

अझ पनि जो कोहि पनि त्यो साम्लो लुंगधुंग डांडामा पुग्यो भने अलि कति भए पनि गीत गाउनै पर्छ होइन भने केहि अफाप या बिमारी भइन्छ भन्ने जन विश्वास छ l


साभार: गाउका बुढा पाकाहरु

Tuesday, June 29, 2010

Wednesday, June 23, 2010

कविता - उपवास

-मनु लोहोरूङ

मृग नयनी आँखाहरु,
अनुरागी भाखाहरुलाई
फूल र पराग सम्झेर,
दिन र रात म उनिएँ
जीवनको ऐना अगाडी
एकपटक उभिएर हेरें
निकम्मा, आफुलाई
फगत एउटा मान्छे देखें
तिबिम्बमा तिमी छटपटियौ l
आफुले आफैलाई सोचें,
तिम्रो मनको घाउ निको पर्न अब,
मेरो क्रुर विम्ब लुकाएर,
आजीवन उपासिन्छु l
मेरो नपुंसक मस्तिष्कले
तिम्रो लागि मायाको भाव
जन्माउन सकेन, गर्भ मै तुहियो
तिम्रो मुटुको रक्तनलीहरु
अब सबै सबै चुडाउनू !
कुनै सपनाको आभाषले
म प्रति रगत नतातियोस
सोचले स्नायूतन्तुहरुलाई
पक्षघात बनाउनू !
किन कि,
फेरि आवेगमा
मेरो यादको संवेग नहोस् l
अमुर्त प्रेमको हत्या नगर्नू !
किन कि
आजन्म पश्तापको कैद हुने छौ l
रहरहरुलाई धाप मार्दै,
इच्छाका कापमा मलाई भेट्यौ,
घामको लाली टिपेर
लगाईदिन खोज्दा
इन्कारको तगारोले म छेकिएँ l
मैले पुर्णिमाको जून ओढेर
मौसमी आकांक्षाहरुको
खास्टो ओछ्याँउदा
चैते डढेली मनले आगो लगायौ l
बेमौसमी झरी पर्दा,
बाछिटाले भिजेको
मनको खोपा सुकेन
म चाहन्थें........
तिम्रो धारिलोपनले
म पनि काटीऊँ टुक्रा-टुक्रा,
यो भूमिवालाले बटुलोस
म चाहन्थें.........
खुशीका फूल टिप्न
राज्यबासीहरु आउन्
तर बेलाको बोलीले,
म छाँटिएँ, काटिएँ, साटिएँ l
घडी पलाको लागि मात्र
म जाकटीमा फालिएँ
मगजको श्रमले.........
आफैलाई उकास्न सकिन l
तिम्रै अनुरोधमा, इच्छाहरु
धेरैचोटी आधापिल्चो भए,
कल्पित मन सेरिएर
एकान्तमा हत्या भयो l
तै पनि,मैले सहें, म रहेँ,,,
सम्झौताको कारागारमा l
स्वच्छन्दवादी दर्शनको
खुल्ला पिजडबाट
अब मलाई रिहा गर्यौ l
भावनाको हत्कडी लाएर
यो शहरबीचमा छोड्यौ l
ठिकै छ, म सम्झौता गर्छु l
तिम्रो खडेरी मनसँग,
तिम्रो सुख भावसँग,
तिम्रो तिक्त चापसँग,
केवल,मेरो नाम तैरेर
स्मृतिका छल्कोहरु
कहिल्यै नछल्किउन् l
कयौं मेरा रातहरुमा
काँडा बिछ्याई दियौ,
भोकको दिनहरुमा बरफको गाँस दियौ,
तिम्रो अनुष्ठान आज सकिएको छ l
बिच्छेदको हिउँलेकठयङ्ग्रिएको छु l
पापको खातिर
मेरो यातनाको म्याद
आज पुरा भएको छ l
विकल्पमा कुनै शेष छैन l
केवल छ त, मेरो कार्जे...
खुशीको अन्त्येष्टि भएकोमा
तिम्रो पुनर्जन्मको लागि
म आजीवन उपवास बस्छु l

Sunday, June 20, 2010

कविता- अभिषेचन

-मनु लोहरुङ

कलकलाउँदो सिर्जनाका
बैंशालु लकुनाहरुमा
बैचारिक तिक्तताको
तीखो छुरी नचलाऊ !

अभाव र पिडाहरुले
यो बाग जलेको बेला
विजातको फूल बन्नुमा
बिजनको जगेडा हुदैन।
'सत्य' सत्य नै हुन्छ,
एक दिन सामु झुक्नै पर्छ।

सदियौं देखि रहेका
फोस्रा पुंकेषरले फल्न सकेन
अनुकुलीय वृक्षफलहरु....
हजार जीवनको नश्वरता हुँदा
रमिता हेरेर बसे, अहृदयी आँखाहरु !

पृथकताबादको भेदबाट
माथि उक्लेर समष्टिगत
यो जग र लोकको सुरक्षाको
पृथुलतम अभिभारा बोकेर,
अवानीतलमा सममोहको
अभिषेचन गर्दै उकालो चढ्छु ।

उकालो यात्रा गर्नु बराबर
अभिष्ट सिद्धि भेट्नु हो।
त्यसैले अनुगृहीत भएर
बिशोधित मनका वस्तीभित्र
अमर विदुषी फूलहरु फुलाउन चाहान्छु।